
काठमाडौँ– कोरोना भाइरसको संक्रमणका कारण देश नै लकडाउन भएपछि पशुपति आर्यघाटमा शवको संख्या पनि उल्लेख्य मात्रामा घटेको छ।
सामान्य अवस्थामा दैनिक २० देखि २५ वटासम्म शव जल्ने आर्यघाटमा अहिले दशभन्दा कम हुन थालेको घाट व्यवस्थापन समितिले जनाएको छ।
आइतबार जम्मा आठवटा शव जलाइएको छ।
लक डाउनको कारण अधिकांश मानिस घरमै थुनिएकाले अस्पताल गएका छैनन्। यसका कारण पनि घाटमा शव कम भएको हो।
त्यस्तै अन्तर्राष्टिय उडानमा पूर्ण प्रतिबन्ध लगाउँदा वैदेशिक रोजगारीमका क्रममा ज्यान गुमाएकाहरुकाे शव पनि आउन छाडेको छ।
घाट व्यवस्थापनका कर्मचारी श्रीकृष्ण डंगोलका अनुसार यो सिजनका हिसाबले पनि कम मानिसको मृत्यु हुने समय हो।
शव मात्र होइन, पशुपति आर्यघाटमा आउने मलामीको संख्यामा पनि उल्लेख्य मात्रामा कमि भएको छ।
सरकारले नै २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ भने अर्कोतर्फ कोरोना संक्रमणको त्रासका कारण आफन्तहरु नै मलामी आउन छाडेका हुन्।
शव जलाउन चार–पाँच जना मात्र आउँदा केही दिन यता आर्यघाट सुनसान बनेको छ। लकडाउनका कारण शव जलाउन चाहिने दाउरा, पराल, बाँसलगायतका सामाग्री ल्याउनसमेत मुस्किल हुन थालेको डंगोलले बताए।