
सिमकोट– कोरोना संक्रमणका लागि चेकजाँच गर्ने आवश्यक उपकरणहरु नभएपछि हुम्लाको खार्पुनाथ गाउँपालिकाले आफै खरीद गर्ने भएको छ।
सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिलाई चेकजाँच गर्न सहज होस् भन्नका लागि पालिकाले आफै उपकरण खदिर गर्न लागेको हो।
संघीय सरकारबाट प्राप्त भएका कोरोना भाइरस संक्रमणको चेकजाँच गरिने उपकरण प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयका लागि मात्र उपलब्ध गराएपछि खार्पुनाथ गाउँपालिका आफै ती उपकरण खरिद गर्ने निर्णय गरको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए।
हाल पालिकाले तीन ठाँउमा थर्मोमिटरका भरमा हेल्थ डेस्क राखेर सेवा दिइरहेको छ। प्रदेशको मुख ताकेर बस्नुभन्दा आफै खरिद गर्ने निर्णय गरेको रावलले बताए।
थर्मल गन, पिपिइ, सर्जिकल मास्क, ग्लब्स, पिपिई चश्मा, एन नाइन्टिन मास्क, स्प्रिट लगायका सामग्री खरिदको प्रक्रिया सुरु गरिसकेको उनको भनाइ छ।