
धनगढी- धनगढीस्थित माया मेट्रो अस्पतालको आईसियूमा उपचार गराइरहेका भारतीय नागरिकको मृत्यु भएको छ।
माया मेट्रो अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको आज मृत्यु भएको हो।
माया मेट्रो अस्पतालले कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ।
अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बिहीबार आईसियुमा राखिएका उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बिहीबार राति माया मेट्रो अस्पताल पुगाएका थिए। अस्पतालका अनुसार ती युवकमा सुगरको समस्या देखिएको थियो भने निमोनियाको समेत आशंका गरिएको थियो।
आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लिनिकमा समान्य परिक्षणपछि सेती अस्पताल ल्याइएको बताए।
एक दिन सम्म सेती अस्पतालमै भर्ना गराएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आईसियुमा राख्नुपर्ने सुझाएका थिए।
सेतीमा आईसियु खालि नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल पुगाएका थिए।
यसैबिच मृतकमा थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार कोरोनाको लक्ष्यण नदेखिए पनि भारत शव लैजाँदा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएकाले परीक्षण गरिन लागिएको हो।