
काठमाडौँ – अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशभित्र रहेका विदेशी विद्यार्थी र अस्थायी भिषामा रहेकाहरूलाई लक्ष्यित गर्दै स्वदेश फर्कन सुझाव दिएका छन्।
उनले आफुलाई गाह्रो महसुस भए स्वदेश फर्कन सक्ने बताएपनि घुमाउरो पारामा विदेशी विधार्थी र अस्थायी भिसामा रहेकालाई आफ्नो देश फर्क भन्न खोजेका हुन्।
अस्ट्रेलियाभित्र बढ्दो कोरोना भाइरसको महामारीपछि उनले देशभित्र रहेका सबैलाई हेर्न नसक्ने संकेत गरेका छन्। आफुलाई सम्हाल्न नसक्ने विदेशी अस्ट्रेलियाबाट घर फर्कनुपर्ने मोरिसनको सुझाव छ। हजारौँको संख्यामा नेपाली रहेको अस्ट्रेलियामा मोरिसनको यो अभिव्यक्तिपछि त्यहाँ रहेका नेपालीहरु अन्योलमा परेका छन्।
नेपालले ११ दिनयता नेपाल आउने सम्पुर्ण नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ। त्यसअघि नै युरोप, खाडीलगायत विश्वका धेरै देशबाट आउने नेपालीसहित ती देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको थियो।
भारतबाट मजदुरी गरेर फर्किएका हजारौँ नेपाली सिमापारी अलपत्र परिरहेको अवस्थामा अस्ट्रेलियामा रहेका नेपालीहरु मोरिसनको पछिल्लो अभिव्यक्तिपछि छटपटी सुरु हुनु स्वभाविक बनेको छ।
कोरोना भाइरसले आफ्नो देशमा दिनानुदिन जोखिम बढाइरहेका बेला विश्वका ती धेरै देशले नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लगिरहेका छन्। ती देशमा अस्ट्रेलिया पनि रहेको छ। अमेरिका, नेदरल्यान्ड्स, फ्रान्स, जर्मनीलगायत देशले विमान चार्टर्ड गरि आफ्ना नागरिक नेपालबाट स्वदेश फिर्ता लगेका छन्।
कोरोना भाइरसको महामारी र लकडाउनपछि युरोप, अमेरिका, अस्ट्रेलियामा आवर बेसिसमा काम गर्दै आएका नेपालीहरु आर्थिक संकटमा पर्दैछन्। पछिल्लो समय अस्ट्रेलियामा लगातारको लकडाउनपछि लाखौँ नेपालीहरु बेरोजगार बनेका छन्। उनिहरुको आर्थिक संकट बढ्दो छ। तर मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले पहिलो वर्षमै कठीन भयो भन्नु उचित नहुने बताएका छन्।
खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो वर्षभर पढ्न आर्थिक रूपमा सक्षम छु भनेर जिकीर गर्ने गरेको उल्लेख गर्दै उनले विद्यार्थीले सक्षमता प्रमाणित गर्नुपर्ने बेला आएको बताए। अरू भिजिटर र आप्रवासीहरूका सन्दर्भमा प्रधानमन्त्रीले उनीहरूलाई अष्ट्रेलिया बस्न बाध्यकारी नबनाएको पनि बताए।
कोरोना संक्रमण र त्रासकाबीच कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका अन्तर्रा्ष्ट्रिय विद्यार्थीका सवालमा राज्यले सहुलियत दिनुपर्ने आवाज विभिन्न संघसंस्था र दूतावासबाट आग्रह आएपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्।
उनले भनेका छन्- हामी आफ्ना नागरिकलाई हामीले गर्न सक्ने अधिकतम आर्थिक सहयोग उपलब्ध गराउन केन्द्रित हुने छौँ।
अस्ट्रेलियामा ५ लाख भन्दा बढी विदेशी विधार्थी अध्ययनरत छन्।
प्रधानमन्त्री मोरिसनको पछिल्लो अभिव्यक्तिको अस्ट्रेलियामा रहेका विदेशी विधार्थीको युनियनले निन्दा गरेको छ।
काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाले भनेको छ- धेरै देशमा लकडाउन चलिरहेका कारण यो स्थितीमा अस्ट्रेलियामा रहेका विदेशी विधार्थी आफ्नो घर फर्कन सक्ने अवस्थामा छैनन्। उनिहरु हरेक दिन संकटमा परिरहेका छन्।
काउन्सिलले अस्ट्रेलियाले आफ्नो देशमा रहेका विदेशी विधार्थीको जिवन र शैक्षिक भविस्या विर्सिएको आरोप लगाएको छ।
उसले भनेको छ- जब कोरोना भाइरसको महामारी सकिने छ अनि फेरि विदेशी विधार्थी आफ्नो नियमित काममा फर्कनेछन्। अस्ट्रेलियाले आफ्नो शैक्षिक क्षेत्रको मार्केटिङ सुरु गर्ने छ।