
सिमकोट-कोरोना संक्रमणको त्रासले हुम्लाको एक गाउँमा स्वास्थ्यकर्मीलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको छ।
गाउँबासीले संभाबित कोरोना संक्रमणबाट जोगिनका लागि पालिकामा रहेका स्वास्थ्यकर्मीहरुलाई गाउँ प्रवेशमा रोक लगाएका हुन्।
खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ का गाउँबासीले पालिकाको स्वास्थ्य शाखामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा आउन प्रवेश निषेध गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए।
यो जनताका अहिलको बाध्यता भएको बताउँदै उनले जे गरे कोरोराबिरुद्ध गरे राम्रै हुन्छ।
गाउँपालिकाको स्वास्थ्य शाखाका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा प्रवेश नगर्न भनेपछि पालिकामै बस्ने व्यवस्था गरिएको स्वास्थ्य शाखाका संयोजक बलीराज शाहीले बताए।
यसरी पालिकामा काम गरेर घर जाने तीन जना स्वास्थ्यकर्मीहरु भएको अब तीन जना पालिकामै बस्ने उनले बताए।
वडामा रहेका स्वास्थ्यकर्मीहरु भने गाउँमा बसेका छन्। उक्त पालिकाका पाँच वटै वडाहरुले गाउँ प्रवेशमा निक्कै कडिकडाउ गरेका हुन्।