मेरो हराएको साथी ड्यारन

मेरो हराएको साथी ड्यारन
+
-

सुरेन्द्र नेपाल श्रेष्ठ

(संसार कोरोनाले हल्लिएको छ । मृत्युको भय भयकंरसँग मडारिरहेको छ। सबैजना लकडाउनमा छौं। परिवारमाझ आनन्द साटासाट गर्ने अचुक उपाय बनेको छ धेरैजनालाई। कला सृजनामा समय लाउनेहरु पनि धेरै नै छन्। म भने बिगतका आत्मन्‌हरुसँग बिताएका सम्झनाका बारेमा मनन गरिरहेको छु। वामपन्थी राजनीतिमा लागेर देश हाँक्नुपर्छ भनेर खुल्ला भूमिगत तहमा रहेर धेरै कार्यक्रमहरुमा सरिक भइयो तर जब देशमा वामपन्थीहरुको बलियो सरकार बन्यो म बिदेशलाई देश मानेर बसिरहेको छु। ती दर्शन, सिद्धान्तका बिटा समातेर हिँडेका पारीला दिनहरुको सम्झना, साथीहरुका मिठामसिना कुरा, घुमेका स्थानहरुको सौन्दर्य, खाएको खानाको स्वाद, नाचेका गीत संगितको रस आदि जस्ता बिषयले घोत्लिन बाध्य पारेका छन्। बेलायत बसाइ पनि रामको बनबास कालभन्दा माथि गइसक्यो। यहाँ पनि धेरै साथी बने, सम्झना बनाइयो र केही सम्पर्कमा छन्, केही ओझेलमा छन्। प्रिय साथी ड्यारनको सम्झनामा केही लेख्ने जमर्को गरेकोछु।)

एक नेपाली चेलीको बेलायती ठिटोसँग बिबाह भएपछि पनि बाबुआमाकै घरमा बस्ने गर्दथे। वेल्स राज्यको सुन्दर गाउँमा एक बर्ष तिनै परिवारसंग क्रिसमस मनाउने साइत जुर्‍यो। अति रमाइलो पारिवारिक जमघटमा प्रशस्त मध्यपान र खाना सहित बेलायती दशैँ मनाउदा माहौल साँच्चिकै विदेश आएको जस्तो भएको थियो। यहाँको नियम कानुन अनुसार बिवाह गरी पुनः नेपाली परम्परा अनुसार बिवाह गर्दाताका नेपाल नै पुगेका यी सासु ससुराको नेपालसँग साच्चिकै भावनात्मक सम्बन्ध जोडिएको अनुभव सुनाउँदै थिए र फेरिफेरि नेपाल घुम्न जाने इच्छा व्यक्त गरेका थिए। दुई दिनको बसाइपछि नजिकैको स्कन्दभेल भन्ने धार्मिकस्थलमा पनि पुग्ने कार्यक्रम बन्यो। हिन्दु धर्ममा आधारित स्कन्दभेलमा हामी पटक पटक पुगेका छौँ र पनि फेरि फेरि जाने मन पलाउँदछ।

बक्सिङ्ग डे को दिन मेरो मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो, हतार हतार उठाएँ। उताबाट क्रिसमसको शुभकामना, तिमी अनि परिवारको के छ खबर ? भनेर प्रश्न आउँछ। कता कता परिचित स्वर जस्तो लाग्यो, तैपनि निश्चित हुनलाई को कहाँबाट बोलेको हो? सोध्न नपाउँदै म थाइल्याण्डबाट तिम्रो पुरानो साथी हुँ, बिर्स्यौ कि के हो? भन्दै थियो। कहाँ तिमीलाई बिर्सनु, म त सधैँ सम्झना गर्छु तर सम्पर्कको कुनै आधार नै पाउन सकिएन, फोन गरेकोमा धन्यवाद। सम्झँदै गर्नु है भनेँ। अलि नेटवर्क कमजोर भएको ठाउँ हुनाले त्यति स्पष्ट भएन हाम्रो बातचित। उनको फोन आएसँगै उनीसँग बितेका पुराना दिनहरु सम्झिन पुगेँ।

साधारण परिवारमा जन्मिएका ड्यारनले विद्यालयको पढाइ सक्ने बित्तिक्कै स्थानीय सुपर मार्केट टेस्कोमा मासु बेच्न थालेका थिए। खासै उच्च शिक्षा हासिल न गरेपनि घर किनबेच गर्न सहयोग गर्ने मोर्गेज सल्लाहकार बन्न पुगेका थिए। उनले धेरैलाई आफ्नो सेवा प्रदान गरेका थिए। आफू पनि ब्यवस्थित भइसकेका थिए। हामीले कुमारी रेस्टुरेन्ट खोलेको केही समयपछि यिनै ठिटो कहिले मोटरसाइकलमा, कहिले पहेँलो रंगको पोर्स गाडी चढेर आउन थाले। बिस्तारै हामी साथी बनेको चाल नै पाइएन। हप्ताको कम्तिमा तीन दिन कहिले त छ दिन नै हाम्रो खाना खान पल्केका थिए।

कामबाट आउँदा घर जाने बाटो पर्ने हुँदा हाम्रो रेस्टुरेन्ट छेउ आइपुग्दा गाडीले पनि ब्रेक लगाउँछ भन्थे। प्रायः जसो खान घरमा लगेर खान्थे। खाना पाकुञ्जेल बारमा बसेर कोब्रा बियर पिउँथे। धेरै पिउँदा प्रहरीले समात्यो भने के गर्छौ? भन्दा तिमीले गाडीको लाइसेन्स निकाली हाल्यौ, मलाई के चिन्ता भयो र भनेर जिस्कन्थे। एक दिन खाना रेस्टुरेन्टमै खाने भनेर हाम्रो मेनुमा भएको सबैभन्दा महँगो सेतो वाइन CHABLIS माग्यो। जति खोज्दा पनि न भेटिएपछि च्याब्लिस त सकिएछ, अरु के दिउँ भनेको त फेरि भन त के रे भनेर हाँस्न थाल्यो। म अकमक परेँ फेरि च्याब्लिस भनेको हैन, यो फ्रेन्च वाइन हो यसलाई साब्ली भन्छ भनेर सिकायो। धेरै पछिसम्म पनि उसले यो घटना बिर्सन सकेन, पछिसम्म पनि जिस्काउन छाडेन।

बेलायतमा बस्नका लागि मेरो स्थायी रुपमा कागजपत्र तयार भइसकेको थिएन। मिनु र छोरी पनि नेपालबाट आइसकेका थिए। तल रेस्टुरेन्ट व्यवसाय, माथि हाम्रो परिवारको बसोबास थियो। ड्यारनले नै कुराको उठान गरेका थिए, आफ्नै व्यवसाय, सबै परिवार त भयो अब घर पनि किन्यो भने यहीँकै स्थायी बसोबासको अनुमति पाउन सजिलो हुनसक्छ भन्ने सल्लाह दिए। खै पैसा पनि छैन कागज पनि छैन, नकिन्ने होला भनेर मैले त्यसतर्फ खासै ध्यान दिइन। उनले थपे, धेरै पैसा पर्दैन म मोर्गेज मिलाई हाल्छु। त्यस बिषयमा घरमा सल्लाह गर्दा मिनुको पनि सहमति भयो। नभन्दै घर पनि राम्रो खालको भेटियो। एक लाख उनान्तीस हजारमा कुरा छिन्यो। बैंकमा सापटी अनि क्रेडिट कार्ड घोटेर १५ हजार जति जम्मा गरेर पहिलो घर सन् २००१ मा किनियो। खै किन हो पहिला सल्लाह भएअनुसार हामी त्यो घरमा बसेनौँ। करिब छ महिनापछि त्यो घर बेचेर नजिकै अर्को घरमा बस्न गयौँ। त्यो घरलाई पनि बहालमा दिएर रेस्टुरेन्ट नजिकै फिण्डन भ्यालीको घरमा भने लामो समय बस्यौं। त्यस पछि बहालमा दिन अर्को एउटा घर उनीसहित उनका अरु चारजना साथीहरुसंँग मिलेर पनि किन्यौँ। हाम्रै मात्र पनि अर्को एउटा घर थप्यौँ। उनले पनि घर किनबेचमा राम्रो गरिरहेका थिए।

एक जना केटी साथी बनाएको छु त भनेका थिए तर मसँग भेट भने भएको थिएन। अब समय मिलाएर बिवाह पनि गर्ने हो भन्दै थिए। एकदिन हामी चारजना आउँदै छौ टेबल छ? भनेर फोन गरे। आफ्नो केटी साथी अनि आमा बाबुलाई खाना खान बोलाएका रहेछन्। उनीहरु केही समय साथै बसेर धुमधामले विवाह गरेछन्। छोरी पनि भइछन्।

अमेरिकाको ट्वीन टावर आक्रमण भएको दिन बेलुकी छ बजे तिर थकित भएर खाना लिन रेस्टुरेन्टमा आएका थिए ड्यारन। कहाँ गएर आएको? भनेको त एउटा पुरानो घर ठुलो जग्गासहित किनेका रहेछन्, त्यहाँको जंगल झाडी सफा गरेर आएको, आफैँले घर बनाउने हो लोकल काउन्सिलमा अनुमतिको लागि निबेदन दिएको छु भने। उनले दिउँसोको अमेरिकाको घटनाबारे सुनेकै रहेनछन्। हो र भरे टि.भी. हेर्नुपर्ला भन्दै दुई ठुलो बोतल कोब्रा बियर रित्याएर घरतर्फ हिँडे। पछि त्यो घर बनाउँदा केहि दिन सघाउन गएका थियौँ। उनले साह्रै राम्रो घर बनाएका थिए। खै के सुर चलेर हो, केही समयपछि त्यो घर बेचेर आएको पैसाले वेल्समा सस्तोमा घर पाइने हुँदा उतै जाने घर सल्लाह गरेछन्। सुरुमा श्रीमतीले मानेको त थिएन तर धेरै सम्पत्तिको मालिक हुने सपना देखाएकाले हुन्न भनिरहन सकिनन् कि। नभन्दै छोटो समयमा नै उनले धेरै घरहरु किनेर बहालमा दिने काम गर्न थाले।

मलाई यहाँ जम्नु पर्छ भनेर आफैँ अर्काको देशमा गएर जम्दाको अनुभव, मैले यहाँ देखेको तर उनले नपाएको भविष्य के रहेछ त्यहाँ? सबै अनुभव साटासाट गर्ने ठूलो इच्छा छ मेरो हराएको साथी ड्यारनसँग।

बेलाबेला फोन गरेर मलाई पनि यतै आऊ सँगै काम गरौं भनिरहन्थे। मैले खासै निर्णय लिन सकिरहेको थिइन। एकपटक त हामी उनी बस्ने गरेको ठाउँमा गयौँ पनि। तर त्यतिञ्जेलसम्म धेरै कुराहरु उथलपुथल भइसकेका थिए। आफू पैसा कमाउने धुनमा देश विदेश घुम्ने, कहिलेकाहिँ त लामो समय बाहिरै हुने। पारिवारिक समस्या होला भन्ने हेक्का नै रहेन। घर नजिक बस्ने लोरी ड्राइभरसँग श्रीमतीको हिमखिम बढेको चाल नै नपाई एक्कासी श्रीमतीले म पुरानै ठाउँ, बाबु आमा बस्ने ठाउँ नजिकै जान्छु, तिम्रो सम्पत्ति तिमी नै हेरचाह गर्नू भनेर खबर पठाउँदा बखत ड्यारन भने एउटा ठुलै व्यापारिक डिलमा हात मिलाउन स्पेन पुगेका रहेछन्। अति माया गरेर हुर्काएको छोरीको भविष्यबारे चिन्तित देखिन्थे उनी। धेरै कोशिश गर्दा पनि उनले श्रीमतीलाई फर्काउन सकेनन्। अब के गर्छौ त? भनेर सोध्दा हेरौं प्रारब्धले कता पुर्‍याउँछ भन्दै थिए।

वर्थिङ।

उनको पुरानो स्कुल पढ्दाको केटी साथीसँग केही समय प्रेम चलेको रहेछ, तर त्यो सम्बन्ध त्यति लामो हुन सकेको थिएन। उनले अलि अगाडि नै विवाह गरेर दुई छोरीको आमा बनि सकेकी थिइन । उनीहरुको पारिवारिक सम्बन्धमा पनि केही समयदेखि फाटो आयो। ड्यारनसँग बेलाबखत फोनमा सम्पर्क हुँदा यस बारेपनि जानकारी गराएका रहेछन्। कुरै कुरामा हामी दुई सिंगल हुँदै छौँ किन डबल नहुने त? पहिला पनि हुन चाहेकै हो भन्दाभन्दै सँगै बस्ने भएछन्।

लामो अन्तरालपछि मलाई भेट्न ड्यारनले आफ्नो छोरी, पुरानो साथी (हुने वाला जीवनसाथी) र उनका दुई छोरी र उनको अर्को साथीको दुई छोरी सहितको परिवार साथै लिएर आएका थिए। पछि छोरी लिन पुरानो श्रीमती पनि आइन् । त्यस बेलाको अचम्मको परिदृश्यले म आफूलाई अलि कठोर ठान्ने मान्छेको पनि मुटु पग्लिएर आँखाबाट लामो झरीसरी भएको थियो। त्यस पछि हाम्रो धेरै लामो समयसम्म प्रत्यक्ष भेट र फोनमा पनि कुराकानी भएन। वेल्सबाट बसाइँ सरेर वेस्टर्न सुपर्मेरमा बसोबास गर्दैछन् रे भन्ने चाहिँ थाहा थियो।

एकदिन उनले अचानक फोन गरे, तिमीलाई चिन्ने मान्छे भेट भयो बोल्ने हो भन्दै फोन दिए। साथी त लण्डनको एउटा ठूलो क्यासिनोमा पुगेका रहेछन्। ग्राहकहरुसँग परिचय गर्दै कुरा गर्दा केहीले नेपाली हौँ भनेपछि सुरेन्द्रलाई चिनेको छ? मेरो मिल्ने साथी हो किन नचिन्ने हामी पनि राम्रै मिल्छौँ भनेपछि फोन गराएका रहेछन्। धेरै भयो न भेटेको, एकपटक भेटौँ भने पछि मैले शो एशिया स्लावमा नै आउनु समय मिलाएर भनेको थिए। मैले वर्दिङ्ग छोडेर स्लाव आएपछि हाम्रो भेट भएको थिएन। पहिला वर्दिङ्गमा नै ठूलो रेस्टुरेन्ट खोल्ने भनेर आफू बस्ने घर धितो राखेर अलि धेरै पैसा आउने गरी उनैले ऋण मिलाई दिएका थिए। त्यसबेलाका ती दिनहरुमा तिमीले ऋण नमिलाई दिएको भए मैले जीवनमा ठुलो सपना देख्न पर्ने थिएन भन्थेँ। ऋण तिर्नलाई नै यति धेरै काम गर्नु पर्दैन थियो भन्ने गर्दथेँ। जब उनले हाम्रो नयाँ रेस्टुरेन्ट देखे, अब त पुग्ने पैसा बनायौ होला नि? भयकंर चल्दोरहेछ, राम्रो भयो। मलाई कुनै भाग दिन पर्दैन भनेर जिस्केका पनि थिए उनी। कुराकै क्रममा तिमी त ठूलो मान्छे पो रहेछौ तिम्रो देशको, यहाँको त्यत्रो ठूलो पदमा रहेको मान्छेले पनि चिन्दोरहेछ भन्दै थिए। मलाई मात्र हैन उहाँले धेरै जनालाई चिन्नु हुन्छ भनेर कुरा अन्तै मोडेको थिए। परिचयमा रहेका साथीभाइसँग कहाँ कसरी जोडिन्छ थाहै हुँदैन।

एक्कासी थाईल्याण्डबाट फोन तिनै साथीले गरेका रहेछन्। लामो कुरा त गर्न पाइएन तर स्थायी रुपमै त्यहाँ बस्न लागेको भनेपछि उनले दुई छोरी सहितको पुरानो साथीसँग पनि लामो नाता जोड्न नसकेको स्पष्ट भयो। उतैको कुनै महिलासँग आरामको जिन्दगी बिताईरहेको हुनुपर्छ भन्ने लख मैले काटेँ। उनले मलाई पनि यता घुम्न आऊ, जीवन के हो? कसरी बाँच्नु पर्छ देखाइदिन्छु भनेबाट छनक पाएको थिएँ। उनले फोन गरेको नम्बर फोनमा सेभ गरेर राखेको त थिएँ तर सम्पर्क भने गरेको थिइन। पटक पटक मोबाइल साट्ने क्रममा त्यो नम्बर अहिलेसम्म भेट्न सकेको छैन। सामाजिक सञ्जालतिर पनि कतै देखिदैनन् ती साथी। पुरानो इमेल खोज्दैछु, त्यहाँ पनि भेटेको छैन। त्यतिकै थाइल्याण्ड गएर खोज्दै हिँड्ने कुरा पनि भएन।

एकपटक भेटेर मज्जाले दुःख सुखका कुरा गर्न मन छ। उनले जम्मा गरेको वेल्सको १०० वटा घरका कुरा, सबैलाई मिलाई दिएको मोर्गेजको कमिशनका कुरा, त्यति माया गरेर हुर्काएको छोरीको अवस्थाबारे बसेरै धित मर्ने गरी कुरा गर्ने मन छ। मलाई यहाँ जम्नु पर्छ भनेर आफैँ अर्काको देशमा गएर जम्दाको अनुभव, मैले यहाँ देखेको तर उनले नपाएको भविष्य के रहेछ त्यहाँ? सबै अनुभव साटासाट गर्ने ठूलो इच्छा छ मेरो हराएको साथी ड्यारनसँग। तिमी जहाँ छौ जे गर्दै छौ, राम्रै होस्। आज तिम्रो फोन आएन तर हाम्रा पुराना सम्झनाहरु धेरै आए। त्यहाँ हामी निस्फिक्रीपना लिएर रमाइलो कल्पनामा हिँडिरहेका थियौ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’