
धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी र अछाममा गरी ५ सय ५६ जनाको कोरोना भाइरसको परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको छ।
दुबै जिल्लामा नेपाली सेनाको हेलिकोप्टरमाआएको स्वास्थ्यकर्मीको टोलीले मंगलबार र बुधबार स्वाब संकलन गरेको हाे।
डोटी जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनबाट ३ सय ३० जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। जिल्लामा स्थापना गरिएका १६ वटा क्वारेन्टाइनबाट ३ सय ५ र अन्य २५ जनाकाे गरी ३ सय ३० जनाको बुधबार नै नमुना संकलन गरिएको हो।
भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वाव संकलन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।
संकलन गरिएको नमूना आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिए। डोटीका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना संकलन गर्न प्राविधिकहरुको टोली बुधबार बिहान मात्रै डोटी पुगेको थियो।
यसैगरी अछाम जिल्लामा दुई दिन लगाएर २ सय २६ जनाको स्वाव संकलन गरिएको छ। कोरोनो संक्रमण परीक्षण गर्नका लागिआएको नेपाली सेनाको हेलिकप्टरसहित स्वास्थ्यकर्मीको टोलीले जिल्ला सदरमुकाम मंगलसेन, बयालपाटा अस्पताल र कमलबजारमा गरी १ सय ९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरेको हो।
स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ४५ जना पुरुष र ६ जना महिला गरी ५१ जना, सदरमुकाम मंगलसेनको क्वारेन्टाइन तथा जिल्ला अस्पतालमा ९० जना पुरुष र १७ जना महिला गरी १ सय ७ जना र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा ६२ जना पुरुष र ६ जना महिला गरी ६८ जनाको नमूना संकलन गरिएको अछामका प्रमुख जिल्लाअधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
अछाममा मंगलबार र बुधबार दुई दिन लगाएर संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको प्रजिअ पौडेलले बताए।
समग्रमा सुदूरपश्चिम प्रदेशबाट कोरोनाको परीक्षणका लागि एक हजार एक जनाको नमूना संकलन गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले दिएको जानकारी अनुसार अहिलेसम्म एक हजार एक जनाको नमूना संकलन गरिएको छ।
प्रदेशका विभिन्न अस्पताल, र्यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले अहिलेसम्म एक हजार एक जनाको नमूना संकलन गरेको हो। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म एक सय ८४ जनाको मात्रै परीक्षण गरिएको छ।
एक सय ८४ वटा थ्रोट स्वावको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ।