
सिमकोट- लकडाउनका कारण मृत्यु संस्कारमा तेह्रौ दिनका दिन मलामीलाई बोलाएर कार्यक्रम गर्न मिलेको छैन।
कोरोना संक्रमणको त्रासले गर्दा बढी मानिस जम्मा हुन नपाउने प्रशासनको उर्दीले गर्दा हुम्लाको मृत्यु संस्कार अनुसार तेह्रौँ दिनका दिन मलामीलाई अन्नप्रसाद गर्नु पर्ने भए पनि त्यो गर्न नसकिएको हो।
खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएकी तर हाल सदरमुकाम सिमकोटमा रहँदै आएकी रिठू रोकायाले श्रीमान् सुत्त बहादुर रावलको निधन भएको तेह्रौँ तिथिमा लकडाउन जारी रहेको कारण मलामीलाई अन्न प्रसाद ग्रहण गराउन नसकेकी हुन्।
उनलाई स्थानीय प्रशासनद्धारा यस्तो बेला सामान्य विधि पुर्याएर तेह्रौँ तिथि उम्काउन पनि अनुरोध गरिएको थियो। परिस्थिति ठिक नभएकोले उनले पनि प्रशासनको आग्रह स्वीकार गरिन्। श्रीमान्को मृत्युका दिन घाटसम्म पुगेका मलामी कसैलाई पनि अन्न प्रसाद ग्रहण नगराउने निधो गरिन्।
हुम्लाको स्थानीय चलन अनुसार मृत्यु भएको तेह्रौँ तिथिका दिनमा सबै मलामीहरुलाई एक छाक दाल, भात र तरकारी खुवाउनु पर्ने हुन्छ। त्यसका लागि मृत्यु कोटाको खाद्यान्न दिन पनि प्रशासनले मानेन। रोकायाले आफ्ना दिबंगत श्रीमानको मृत्युका बेला घाटसम्म सहभागी करिब डेढ सय मलामी गएको भए पनि उनीहरुलाई अन्न प्रसाद गराउन पाइनन्।
तर पनि उनमा पश्चाताप भने छैन। उनले अबस्थाले साथ दिए र कोरोना संक्रमणको त्रास सामान्य भए पतिको मृत्युमा घाटसम्म समावेश भएका मलामीहरुलाई पैतालिसौँ तिथिमा उक्त खुवाइ गराउने सोच रहेको बताइन्। ‘तर, परिस्थितिले के गर्ने हो? त्यो पनि अहिले भन्न सकिने अवस्था छैन,’ उनले भनिन्। मलामीलाई तेह्रौँ तिथिमा खुवाउनु पर्ने चलनमा कोरोना संक्रमणले पूर्ण विराम लगाएको छ।
त्यसैगरी कोरोना संक्रमणकै कारण सिमकोट गाउँपालिका वडा नम्बर ५ का राना रावतको बुबाको पैतालिसौँ दिनमा गरिने संस्कार पनि सामान्य रुपमा सकियो। उक्त दिनमा पनि छोरीचेलीदेखि मृतकका साथीसंगीलाई अन्नप्रसाद ग्रहण गराउनु पर्ने चलन छ तर कोरोना कहरले गर्दा त्यो पनि गर्न नसकिएको रावतले बताए।