
सिमकोट – हिमाली जिल्ला हुम्लामा बन्दाबन्दीकाबीच एक हप्तामा हवाई मार्गबाट खाद्यान्न ढुवानी कार्य तीव्र हुँदा गोदाममा खाद्यान्न मौज्दात वृद्धि भएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न बन्दाबन्दीकाबीच सरकारले हवाई मार्गबाट ढुवानी गरेको हो।
लिमिटेडको सिमकोट शाखाका निमित्त प्रमुख शिवराज घिमिरेले बुधबारसम्म नेपालगञ्ज र सुर्खेतबाट झण्डै ११ सय क्विन्टल खाद्यान्न ढुवानी भएको बताए ।
अझै ढुवानी हुने क्रम जारी रहेको छ । हुम्लाबासीको मागलाई ध्यान दिँदै सरकारले गत बुधवारदेखि हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको थियो ।
बन्दाबन्दीसँगै हवाई मार्गबाट ढुवानी हुँदा दैनिक दुई सय देखि तीन सय क्विन्टल खाद्यान्न जिल्लामा भित्रिने गरेको छ ।
निमित्त प्रमुख घिमिरेले पछिल्लो खाद्यान्न ढुवानी भएपछि खाद्यान्न मौज्दात पनि बृद्धि भएको बताए ।
दुई दिन अघि गोदामबाट क्वारेन्टाइन र भैपरि आउनेका लागि केही मात्रामा खाद्यान्न वितरण गरिएको थियो । अब गोदाममा मौज्दात खाद्यान्नले तीन महिनासम्म बिक्री वितरणका लागि पुग्ने लिमिटेटले जनाएको छ ।