
फेसबुकमा नाचेको भिडियो पोष्टिएँ। नाँच्न, हाँस्न र रुन पनि डराएर बाँच्ने जीन्दगी कस्को लागि बाँच्ने। आफ्नै लागि बाँचेको जिन्दगी हो भने त यी कुराहरु अति आवश्यक हुन्। मानिसहरुका रमाइलो भिडियोले मलाई ऊर्जा दिन्छ। मेरोले पनि संयोगवश कसैलाई ऊर्जा दियो भने त चिठ्ठा नै भयो नि मलाई। सधैं अरुको नजरबाट आफू अनुमोदित भएर बाँच्न खोज्नु त एउटा अन्तहीन पिरलो हो। आफूलाई मन परेको कुरा गर्न नसक्नु आफैँलाई मान नगर्नु पनि हो। आफैँले आफैँलाई मान गरिँदैन भने कहाँ के खोज्दै हिँड्नु? केही महिनाअघि पहिलोपटकको भेटमा नै ज्याज म्युजिकमा झुम्दै थियौं म र कलाकार उषा रजक। नाच्दानाच्दै उनले भनेकी थिइन्, ‘आफूलाई अनावश्यक जज गर्ने मानिसलाई त म ‘ह्या’ भन्छु। यी सबै ’ह्या’ हुन्।’ मैले ‘सही हो’ भन्दै थम्स अप हानेँ।
बन्दाबन्दीमा घर बसेको सत्र दिनमा म एकदिन बोर भइन। दुखी पनि भइन। अरु बेला पनि एक्लै बस्ने भएकाले होला बन्दाबन्दीले खासै ठूलो फरक पारेन दैनिकीमा। यतिकैमा मेरो भाइ (बैनीज्वाइँ) को म्यासेज आयो। ‘मानिसले आफूलाई सिंगो ब्रम्हाण्डसँग जोडेर बाँच्यो भने यति मस्त हुन सक्ने रहेछ। सधैँ खुशी हुनू।’ अनि उनले एउटा गीत पनि लेखे- ‘आफैँ मनमगन म त आफैँ मनमगन। जय होस्।’ मेरो खुशीमा चमक थपियो।
मेरा परेवाहरुको मुकुरमुकुरले हरदिन संगीतमय बनाइदिन्छन्। कौसी-बगैँचामा चिरचिर गर्दै मलाई उठाउन आउने भंगेराहरुले झंकार थपिदिन्छन्। उठ्नको लागि अलार्म नै चाहिदैँन। दिन कटाउन गाह्रो भन्छन्। नियमित नाच, ध्यान र आफ्ना घरेलु कामले दिन बितेको पत्तो पनि पाँउदिन। हरप्रहरले आफ्नै एउटा आभा बोकेर आउँछ। मनको तरंग खुलेका बेला भने ब्रम्हाण्डै आफैँसँग नाचेजस्तो लाग्ने रहेछ।
मैले सोचिहेरेँ- सधैँ प्रफुल्ल त कोही हुन सक्दैन। म पनि सक्दिन। अक्सर भने मस्त नै रहन्छु। जीवनमा यी, यी कुरा हुनैपर्छ भन्ने खासै ठूला मागहरु छैनन्। अझ कहिलेकहिले त लाग्छ, जिन्दगीले जे, जे दिएको छ- यसलाई प्रेमपूर्वक स्वीकार गरेकै छैनौँ। कहिले आँखा चिम्लेर ‘ए जिन्दगी तँलाई धन्यवाद’ सम्म भनिएको हुँदैन। माग्नै फुर्सद छैन, भोग्ने कहिले। कपडाको खातहरुजस्ता चाहनाहरु छन्। बजारबाट एउटा टिपेर ल्यायो, एकदुईपटक लायो अनि काम सकियो। अनि तिनै कपडाको भारले कोठा थिचिन्छ। चाहना त्यस्तै हुन् एक सकिएको हुँदैन, अर्कोले शीर उठाइहाल्छ। चाहनाको चाङ लाग्छ। मनमा तृप्ति हुँदैन। ‘तृष्णाको घैलाको प्वाल हुन्छ’ भन्छन् विपश्यनाका आचार्य सत्यनारायण गोयन्का। जति भरे पनि यो कहिले भरिँदैन। अनि चाहना र तृप्तिको सन्तुलन कहिले मिल्दैन।
सम्बन्ध र सम्पति जोड्दैजोड्दै हिँडिरहेको मानिस किन पूर्ण तृप्तिको हाँसो हाँस्न सक्दैन त? उसको खुशी आश्रित छ। केही वा कोही उसको वरिपरि नभई खुशी हुन सकिन्छ, यो त उसका लागि कल्पना परकै कुरा हो। यसैले अक्सर अविवाहित मानिसहरुलाई सोधिन्छ- ‘के तिमी खुशी छौ?’ यस्ता प्रश्न सोध्ने मानिसहरुलाई उल्टै भनिदिन मन लाग्छ, ऐनामा उभिएर आफूलाई निकै बेर नियाल्नुस्। अझै भित्रभित्र जानुस्। मनभित्रै जानुस्। के तपाईँ खुशी हुनुहुन्छ?
कहिले पनि कथित वैकल्पिक जीवन बाँचेकाहरुले तथाकथित मूलधारको जीवन बाँचेका भन्नेहरुलाई प्रश्न गरेको पाइँदैन। ‘तिमी खुशी छौँ’ भनेर सोध्दैनन्। मानौँ एउटा परिवारको इकाइ हुनु भनेको सुखको अन्तिम पर्याय हो। यो यसै स्वयंसिद्ध मानिएको छ। तर अनगिन्ती मनहरु परिवारभित्रै रोएका छन्। एक्लो हुनु वा परिवारमा हुनु दुख र सुखको मानक होइन। मानिसको स्वभाव उसको सुखदुखको कारण हो।
परिवार खुशहाल छ भने खुशीमा चमक हुन्छ। होइन भने त्यो भन्दा नर्क अन्त खोज्नै पर्दैन। बन्दाबन्दीमा घरेलु हिंसाका केसहरुले शीर उठाइरहेछन्। संसारमा मानिसहरु कठोर पारिवारिक बन्धनबाट मुक्ति खोज्दै गरेका घटना हरदिन बढिरहेछन्। मानिसको भिड हुनु मात्र सुख होइन। कहिलेकाहिँ हामीले नियालौं भने पाउँछौं- एक्लै बसेको बेला पनि जगत नै आफ्नोजस्तो लागिरहेको हुन्छ। मानिसको बिचमा बसेर पनि हामीले एक्लो महसुस गरिरहेका हुन्छौं। हाम्रो जे जति पूर्वमान्यताहरु छन्, सुख र दुखका ती व्यक्तिअनुसार फरक छन्। आफ्नो जीवनमा एकल, दुकल, बहुल जुनसुकै परिस्थिति हुन सक्छ। ठूलो कुरा त्यो होइन। त्यो परिस्थितिको कसरी पूरै लाभ उठाउने, महत्वपूर्ण कुरा त्यो हो।
बच्चासँग टिकटक बनाएर रमाइरहेकी आमा र बेफिक्र कतै पहाडमा हावा खाइरहेकी केटीको खुशी फरक छन्। फरक भएरै सुन्दर छन्। आफ्नोआफ्नो परिवेशमा उनीहरु पूरै रमाइरहेका छन् भने त्यही बखत उनीहरु एक पूर्ण जिन्दगी बाँचिरहेछन्। कसैसँगको तुलनाबिना जब मानिस सानासाना खुशीका फूलहरु टिपेर माला बुन्न थाल्छ, जिन्दगी पत्तो नपाईकन खुशीको माला भइदिन्छ। हो, जीवनमा स्वभाविक आउनेजाने दुखसुख भने भइरहन्छन्। दुख हुँदा दुखी भैदिने, दुखै बाँचिदिने। रुनु पनि जिन्दगी हुनु हो नि। झरीले खुलाएको आकाशजस्तो पुरै खुलेर आउँछन् आँखाहरु।
मेरी अति प्रिय बालसखी अर्चना भन्छे- तँलाई बिथोल्न नआएमात्र पुग्छ। तँ निस्फिक्री बाँच्न सक्छेस्। अरुलाई कहिले बिथोल्न जान्नस्। उसको र मेरो जीवनको सत्य अलग छ। अलग भूगोलमा फरक सत्यहरु बाँचेर हामी आफ्नै किसिमले खुशी छौं। ऊ अमेरिकामा परिवारसहित दैनिक अफिसियल जिन्दगीमा छ। मेरो फिरन्ते लगाएर काम गर्ने जीवनलाई ऊ भन्छे, ‘मैले बाँच्न चाहेको आधा जीवन तैँले बाँचिस्।’ एक अर्काको जीवन हामीलाई पूरक जस्तो लाग्छ। यसैले खुशी चौगुना पारिदिन्छ। म भुक्का पाराले अनकन्टारमा डुल्छु। आँखा चिम्लेर ध्यान गर्दा उस्को व्यवसायिक जीवनको तरक्कीको कामना गर्छु। लागिपरेर नै गर्छु। जब उसको तलब भारी रकमले बढ्छ, राम्रो कम्पनीमा जागिर मिल्छ, म ‘मेरो प्रार्थनाको फी दे’ भन्दै ठग्छु। ऊ मस्ती भरिएको अन्दाजमा ठगिन्छे। अझ भन्छे, ‘साह्रै दुख गरेर काम गरिस्, अब घुम मज्जाले। उसले बाली घुम् भनेर पठाएको पैसा म नेपालकै तराईपहाड घुमेर सिद्धाइदिन्छु। अनि उसले मलाई अमेरिकामा उस्को ड्रिम कारमा घुमाउने सपना देख्छे। ऊ ठूलो भएको उसको पेटको फोटो पठाएर भन्छे छोरीको नाम खोजिराख् है। म यता नाम खोजेर बस्छु। बच्चा पाएपछि ‘ज्वानोको झोल खाएर बस है चल्लीकी माउ’ भनेर लेख्छु। अनि म आफ्नै धुनमा बत्तिन्छु। हामीले एकअर्काको जीवन तुलना गरेको भए २५ वर्षभन्दा लामो प्रेममयी सखीसम्बन्ध कसरी बाँच्थ्यौँ होला। सम्भावना नै छैन। जस्तै कठिन दिनमा पनि परिवार भन्दा पहिला उसैलाई सम्झन्छु।
अरुको जीवनमा अनावश्यक चिहाउन मात्र खोज्यो भने पनि दुखले समातिहाल्छ। तुलना जीवनको बिष हो। आफूलाई तनाव भइरहन्छ भन्ने मानिसहरुको कुरा बुझ्दा मलाई लाग्छ- उनीहरु कोही न कोहीसँग आफूलाई तुलना गर्छन्। अनि दुखको तलाउमा डुब्छन्। आँखा खोलिहेर्यो भने आफ्नो जीवनमा सबथोक हुन्छ तर कहिले खुशी भएको देखिदैँन। छक्क पर्छु म।
दुई वर्षमात्र भयो कालिकोट म तेस्रोपटक पुगेको। आठ वर्षको अन्तरालमा म तीनपल्ट पुगेँ। मलाई त ह्याट्रिक मारेको महसुस भयो। पुग्नासाथै प्रतिमा चोकमा उभिएर सेल्फी ठोकेँ। ‘ह्याट्रिक कालिकोट’ लेखेर फेसबुकमा पोष्टिएँ पनि। सामान पन्छाएर बिछ्यौना लगाई सुतेको रेडियोको कोठा। माइक र स्टुडियो पनि मानिसजस्ता लागे। न्यास्रो मेटिएको जस्तो भयो। भोलिपल्ट डुलिहिँडेँ। दशैंमा घर गएजस्तो यता फर्के नि चिनेको मान्छे, उता फर्के नि चिनेको मान्छे। आफैँले तालिम दिएका भाइहरु कोही स्टेशन हाँक्ने, कोही मुख्यमन्त्रीको प्रेस सल्लाहकार। बाटैमा भेटेर सपना सुन्दै हिँडेकी थिएँ कतिका। ती मानिसले सपना बाँचिरहेका थिए। उही कफीदुकान, उही कफी पिलाउने नगेन्द्रभाइ। प्रयत्नले आर्जेका एकएक पलहरु बाँचिरहेँ।
कालिकोट छोडेर मुगु पुगेँ। रारातालमा घोडा हायर गरेर सेरोफेरो मारेँ। त्यो निलो ताल वरिपरि नजर डुलाएँ। घोडावालको कहानी सुन्दै हिँडेको सम्झेरै हुरुक्क हुन्छु। कठोर यात्रा, गर्मी, काम र थकान एकातिर पन्छाएँ। पुरै रमाएँ। त्यो क्षणमा यस्तो लाग्यो- विधाताले मेरो ललाट फुर्सदमा लेख्यो। लेख्न पनि क्याक्या लेख्यो। आफैँले कल्पना नगरेका पलहरु र सुख लेखिदियो। मुगुमा पनि दशैँमा घर गएजस्तो भयो।
दश वर्षपहिला कोही मानिस नपुग्ने बेला पुगेको भएर होला। पहिला भेटेका मानिसले बाटैमा देखेर चिन्थे। रारावारिका बिर्खमान दाइले चिन्ने नै भए। पैखुंपानीमा ८० वर्ष हुँदा भेटेकी नन्दु बुढा आमाले पनि चिनिन्। यसपटक उनी ८८ की हुँदा पनि उस्तै मस्त थिइन्। उनकै हातले पकाएको खाएँ। घरमै जस्तो भुस निदाएँ। भोलिपल्ट बाजुरा हानिएँ।
मुगु सकिनैलाग्दा झोलुंगे पुल छ। आफू पहिला बास बसेको घरतिर गएँ। ठ्याक्क उनै गोमा आमा भेटिइन्। भनिन्, ‘मैले नानीलाई परैबाट चिनेको, देखेरै चिया ख्वाउन आएको।’ आमाले आफ्नै खोरका अन्डा र चिया ख्वाइन्, ‘छोरी माइत आएजस्तो भयो बा। यो जीवनमा दोस्रोपल्ट तिमीलाई देख्न पाएँ। राम्रोसँग जाऊ।’ दुई किशोरको जिम्मा लाएर राँगेभीर कटाउन पठाइन्। पैताला नअट्ने भीर त दुईवटा मोटर हिँड्ने बाटो बनेछ। कसरी पत्याउनु। यसरी बाजुराको कोल्टी हुँदै मार्तडी पुगेँ।
पहिला आफू बसेको घरकी भाउजू भेट्न आतुर थिएँ। पुगें। सात महिना बसेको कोठा हेरेँ। राना दाइभाउजुले परिकार पकाए। उनीहरुले पनि भने, ‘माइतीमा चेली फर्केर आयो।’ आफ्नो फैलिएको संसार देखेर मनमनै खुशी भएँ। धन्य भनेँ जीवनलाई। चाडबाडको बेला घर पुगेजस्तो फुर्कँदै मार्तडी चहारेँ। टाउको ठोकिने झुप्रोमा अडिएको रेडियो बाजुराले महल ठडाएको थियो। दिलखुश भयो। पहिला बसेकै घरमा चार दिन बिताएँ। समग्रमा मैले एउटा सपना बाँचे।
फर्कने बेला संयोगले काठमाडौँमा चिनेका साथीभाइ भेटिए। रेडियोमा काम गर्नेताकाका। उनीहरुको मोटरमा आउने मौका पाएँ। एक जना अपरिचित, दुईजना परिचित साथी थिए। अपरिचितसँग परिचय भयो। हामी अछामका रेडियोहरुमा पस्दै हिँड्यौँ।
मानिसको साथ नै सुखको कारण होइन। सुखी आत्माहरुको एक अर्काको साथ भने एउटा चम्किलो उज्यालो हो। उज्यालो आफैँभित्र बोकी हिँडेका मानिस एक्लै वा साथमा दुवै अवस्थामा सुखी नै रहन्छ। अँध्यारो छ मनमा भने त भन्नै परेन।
नदीको किनारमा खाना खायौँ। अनि फेरि यात्रा सुरु भयो। भर्खरै परिचय भएका मानिसले म अविवाहित भन्ने चाल पाए। अनि सिधै सोधे, ‘किन बिहा नगरेको? यस्तो फुर्तीफार्तीको काम, पेशा भएको मान्छे। सरसंगत उस्तै छ होला। एकसे एक मान्छे चिनेको पनि होला। किन बिहा नगरेको।’ मैले सुरुमा मिजास गुमाइन। मेरो बाइस दिनको त्यो कठोर र रोमाञ्चक यात्रा अनि मेरो काम दुबैलाई गरेको बेवास्ता सहेँ। ‘अब मूल कुरामा पसम न’ भन्दै उनी जंगिन थाले। अझै एकछिन धैर्य गरेँ मैले। पूर्वपरिचितले थपे, ‘त्यही त मूलकुरा गरौं न।’ मैले बाँचेको सपना जस्ता पलहरु उनीहरुको मतलबको कुरा हुने कुरै भएन। उनीहरु मलाई घिसारेर नै दुखी बनाउन चाहन्थे। यो भन्न चाहन्थे कि तिमी मूलधारको खुशी बाँचिरहेको छैनौँ। या त, सररर मोटरमा ‘दुर्गम’ पुगेर मात्र पनि खुशी भएका उनीहरु जानेरै मैले गरेको पटकपटकको पैदल यात्रा र कामलाई ओझेलमा पार्न चाहन्थे। मैले आफ्नो कामको कुरासम्म निकालेकी थिइन। पहिला चिनेका साथीले पनि मेरो काम र यात्राबारे फिटिक्क चासो नराखी निजी मामिलामा पस्न अपरिचितलाई हौसला दिए।
उनको पेलाइ कम हुने छाँट देखिएन। अब भने मेरो दिमागमा आगो बल्न थाल्यो। यी मान्छेलाई के थाहा, मेरो रिसको पारा जब छुट्छ तब महादेवको पनि पसिना आउँछ भनेर। मैले सिधै भनेँ- ‘एक तपाईँलाई मेरो जिन्दगीको चिन्ता लागेर सोधेको प्रश्न होइन यो। दुई, तपाईँले ख्यारख्यार पार्दैमा म सुर्खेत गएर बिहा गर्दिन पक्कै। तीन, तपाईँलाई मेरो जिन्दगीको पीर होइन। एउटा अविवाहित केटी भेटेपछिको कुतकुती हो। बिहासँग यौन जोडिएको हुन्छ। बिहाको प्रश्न तपाईँले आफ्नो कुण्ठा मेट्न सोधेको हो।’ मैले अझै योभन्दा लामो डायलग सिधै दिएँ। अनि सन्नाटा भयो। डायलग यसरी क्लोज गरेँ- ‘आइन्दा कसैको व्यक्तिगत जीवनमा निदिखुदी बन्द गर्नुहोला।’ त्यसपछिको यात्रा मधुर हुने कुरै भएन। काठमाडौँ आइपुगियो। ती मानिस कता पुगे, थाहा पनि छैन।
उनलाई डायलग दिने बेला मैले मेरो भाइसँगको संवाद सम्झिरहेकी थिएँ। भाइलाई मैले भनेकी थिएँ- ‘म कसैलाई केही प्रश्न गर्दिन। कसैको निजी जीवन मतलबै गर्दिन। मलाई किन हैरान गर्छन्?’
भाइले भन्यो, ‘दिदी, यी मानिसहरुले तपाईँको जिन्दगीको दुखसुख विचार गरेका होइनन्। एउटा जवान केटी एक्लै छे। यसको जिन्दगीमा के चल्दै होला? यसको प्रेमी को होला? कोसँग यसको अन्तरंग सम्बन्ध होला भन्ने थाहा पाएर आफ्नो तलतल मेटाउन हो।’
भाइले अझै थप्यो, ‘केटीको प्रेम र यौन जीवनप्रति संकिर्ण मानसिकताको उपज नै उनीहरुको प्रश्न हो।’ आफूभन्दा सानो भाइको त्यो बुद्धिमतापूर्ण विश्लेषणले आजसम्म पनि खुशी पार्छ। काठमाडौँमा टेम्पोमा हुइँकिदै हामीले गफ गरेका थियौं। दश वर्षअघि। बाजुरामा भेटेको नवधनाढ्य व्यक्तिको जंगली पाराले भाइसँगको कुराकानीको महत्व अझै बुझायो। अब त मैले पूरै बुझिसकेँ, यसरी अर्काको जीवनमा चियो गर्ने मानिसभन्दा दुखी कोही हुँदैन। दुखी मानिसहरु नै अरुलाई ‘के तिमी खुशी छौ’ भन्दै हिँड्दा रहेछन्।
मानिसले पहिला जस्तो साझा आम सत्य बाँचिरहेका छैनन्। सत्यका रुपहरु टुक्रिएका छन्। कुनै दिन परिवार भित्र हुनु आम सत्य थियो। परिवार नबनाई बस्नु वैकल्पिक सत्य थियो। अहिले वैकल्पिक सत्यको पनि रुपहरु अनेक छन्। मेरो जीवनको सत्य म जस्तै अविवाहित अर्का मानिसको सत्यसँग मिल्दैन। २० वर्ष अघिभन्दा अहिले संसारले फरक आर्थिक संरचना बाँचिरहेछ। एक खालको उत्पादन प्रणालीभित्र एकै नासको जीवन अब सम्भव छैन। यसैले हरेक मानिसको जीवनको अलग सत्य छ। आफ्नो जीवन कसैलाई वैकल्पिक जीवन लाग्दैन। उसको लागि मूल प्रवाह त्यही हो। यही खालको जीवन मूल प्रवाहको जीवन हो भन्ने मान्यता भत्कने क्रममा छ। त्यसैले कुनै पनि रुपको जीवन बाँचेको मानिसले एक सम्पूर्ण जीवन बाँचिरहको हुन्छ। जीवनप्रतिका पूर्व मान्यताहरुको कुनै अर्थ नै छैन।
दुई खुशी मानिस एक साथ छन् भने मात्र जीवनको चमक अकै तहमा पुग्ने हो। आफैँ आधा अधुरा तृप्ति बाँचिरहेका मानिस भेट हुनु भनेको त एक अर्कासँग झोली फिँजाई खुशी माग्नु हो। जो मागिरहेछ स्वयं, उसले दिन्छ के? आफ्नो जीवनको दिक्दारीको कारण एक अर्कालाई ठान्छन्, बस्छन्। मानिसको साथ नै सुखको कारण होइन। सुखी आत्माहरुको एक अर्काको साथ भने एउटा चम्किलो उज्यालो हो। उज्यालो आफैँभित्र बोकी हिँडेका मानिस एक्लै वा साथमा दुवै अवस्थामा सुखी नै रहन्छ। अँध्यारो छ मनमा भने त भन्नै परेन।
मानिसको जीवनमा जे पनि परिवेश हुन सक्छ। कोही परिवारको ठूलो घेरामा बस्छन्। कोही सानो परिवारमा। कोही कामको सिलसिलामा लामो समय एक्लै बस्छन्। कसैले लामो विवाहको जिन्दगीबाट बिदा लिन्छन्। कसैको प्रेमिल वैवाहिक सम्बन्ध हुन्छ। परिस्थिति के छ जीवनमा, त्यो आफ्नो हातमा हुँदैन। मानिसले त्यसलाई कसरी आफ्नो लागि भरपुर प्रयोग गर्छ, सारा फरक त्यसैले पारिदिन्छ। यही कारण कोही मानिसहरुकै बिचमा दुखी अनुहारमा डुल्छन्। कोही एक्लैएक्लै पनि मस्त हुन्छन्। कोही केही दिनकै एक्लोपनले आत्तिएर बहुलाउँछन्। हृदयमा मानिस कस्तो जीवन बाँच्छ, त्यो मूल कुरा रहेछ। देखिएको जीवन केवल एक आवरण मात्र हो।
कृष्णमुर्ति भन्छन्, ‘अलोननेस र लोन्लिनेसमा फरक छ। अलोननेसले सुखमयी बनाइदिन्छ। खुशी हुन हरदम कोही न कोही, केही न केहीको भरोसा खोजिहिँड्ने मानिस, मानिसकै बिचमा पनि ‘लोन्ली’ हुन सक्छ। किनकी हरदम उस्ले चाहेजस्तो अर्का मानिसले नगरिदिन सक्छ।’ सन्त विवेकानन्दको अर्काे भनाइ छ, ‘तिमी सम्पूर्ण रुपमा आत्मनिर्भर छौ भने मात्र पूरै सुखी हुन्छौ। शरीर, मन, आर्थिक अवस्था अझै भावनात्मक रुपमा पनि पूरै आत्मनिर्भर भयौ भने मात्र। यही तहमा नै मानिसले पूरै सुखको अनुभूति गर्छ।’
साँझमा यो लेख तयार गर्दै गर्दा म जर्मनीमा रहेकी कान्छी बहिनीसँग च्याटमा थिएँ। उस्ले अमेरिकामा रहेकी नेपाली मोडल बर्षा थापाको गीत पठाई। ‘मन मेरो धुकधुकिन्छ तिम्रो पहिलो झलक देख्दा।’ न्युयोर्क जस्तो शहरमा संर्घर्षले चम्किएकी बर्षाको अनुहारमा चन्द्र उदाएको भान हुन्छ गीत हेर्दा। बहिनी र मेरो संवादको निष्कर्ष यही रह्यो, आफ्नो संघर्षमा खुशी भएर भित्रैदेखि हाँसिरहेको मानिसनै साँच्चिको सुखी मानिस हो।
असाध्यै हिंस्रक परिवारमा हिंसा सहँदै बसेका मानिस हुन्छन्। गरिवीले बाँच्नै नसकेका मानिस हुन्छन्। कति युद्धको चपेटामा हुन्छन्। यी मानिसहरुको दुख एक कठोर सत्य हो। यी र यस्ता परिस्थिति बाँचेकाबाहेक अरु मानिसको हकमा दुखसुख भौतिक अवस्थाको उपज होइन। मानसिक अवस्थाको उपज हो। हामीले कथा सुन्छौं नि एउटा खटिरोले पनि ज्यान लिएको, भयानक क्यान्सर पनि जितेको। कुरा यही हो। जीवनको परिवेश निर्णायक हुन दिने कि आफ्नो चिन्तन, स्वभाव र दिनचर्याको फुर्तीलाई निर्णायक हुन दिने, मानिसकै रोजाइको कुरा हो।
‘जिन्दगी जिउन जाने गीत हो, होइन भने गुनासो।’