आइतबार साँझ अफिसबाट घर फर्किँदै गर्दा हल्का छाती दुखेजस्तो भइरहेको थियो। सोचेँ- केही अपठ्यारो भएर हुन सक्छ। घर पुग्दा दुखाइ मात्र नभई स्वास फेर्नसमेत गाह्रो भइरहेको थियो। यो भन्दा पहिला पनि एक दुई पटक यस्तो भएपनि ‘रेस्ट’ गर्यो भने केही छिनमा निको हुने गरेको थियो। त्यसैले खासै वास्ता गरिनँ।
निको होला भन्दै बसिरहँदा झन्झन् गाह्रो भइरहेको थियो। स्वास नै बन्द होलाझैँ भइरहेको थियो। उठेर बस्दा अलि कम भएको जस्तो भएपनि सुत्दा अलि बढी नै गाह्रो भएका कारण रातभरी सुत्न सकिनँ। बिहान पख भने केही राहत मिल्यो। कामकै शिलशिलामा सोमबार एक जनालाई भेटन जानु पर्ने थियो। तर सक्छु जस्तो लागेन। फोन गरेर उनलाई भेटन नसक्ने जानकारी गराएँ।
म के गर्ने के नगर्ने दोधारमै थिएँ। दादाले अस्पताल जान आग्रह गर्यो। मलाई अस्पताल गइहाल्न भने मन थिएन। आफूलाई गाह्रो पनि भइरहेको थियो तसर्थ दादाको कुरालाई नकार्न मन लागेन। अफिसमा आफ्नो समस्या र अस्पताल जान लागेको कुरा जानकारी गराएँ। घर नजिकै दुई वटा (सिभिल अस्पताल र काठमाडौँ मेडिकल कलेज–केएमसी) अस्पताल छन्। मेरो रोजाइमा केएमसी पर्यो र आफ्नो चेकजाँचका लागि म उतै लागेँ।
अस्पतालको गेटैमा उभिएका गार्डले ज्वारो नापे। देब्रे हातले इसारा गर्दै भित्र बोलाए। गेटको छेउमै थियो फिवर क्लिनिक जहाँ पीपीई लगाएकी एक चिकित्सक बसिरहेकी थिइन्। यो भन्दा अन्य कुरामा मेरो ध्यान गएन। म सिधै काउन्टरमा पुगेँ। अन्य दिनमा ठेलमठेल हुने ठाउँ सुनसान थियो जसले गर्दा मैले पालो कुर्नु पर्ने थिएन। काउन्टरमा बसेका फुर्सदिला थिए। एकअर्का सँग कुरा गरिरहेका थिए। कुरा उही ‘कोरोना’को। उनीहरुलाई बीचमै रोक्दै मैले विस्तारै सोधेँ, ‘टिकट काट्नु पर्ने’।
काउन्टरमा बसिरहेका एक जनाले सोधे,‘के भएर आउनु भएको?’
‘स्वास फेर्न गाह्रो भएर’, मैले उत्तर दिएँ।
मेरो उत्तर सुनेर उनले हतारिँदै सोधे,‘ज्वरो आएको छ?’
‘नाईं’, मैले भनेँ।
उनी यतिमै रोकिएनन्। मानौँ उनले नै मलाई चेकजाँच गर्न लागिरहेका हुन् जसरी फेरि सोधे, ‘खोकी लागेको छ?’
‘छैन।’
‘टाउको दुख्छ’, फेरि उनले थपे, ‘शरीर दुखेको छ?’
उनका सबै प्रश्नको उत्तर मैले ‘नाईं र छैन’ मात्रै दिएँ।
प्रश्नले मलाई वाक्क लागिसकेको थियो। उनले ‘रेकर्ड बुक’ झ्यालबाट छिराए। मैले पनि उनलाई पैसा दिएँ।
उनले रुपैयाँ टिप्दै भने १ नम्बर कोठामा जानुस्।
दाेस्रो तलामा थियो १ नम्बर कोठा। ‘रेकर्ड बुक’ देखाएँ। ढोकाको छेउमै बसेको एक व्यक्तिले भित्र जान आग्रह गरे। डाक्टर मोबाइल चलाउँदै बसिरहेका थिए।
मोबाइल चलाइरहेका उनी तर्फ ‘रेकर्ड बुक’ लम्काएँ। एक हातले ‘रेकर्ड बुक’ तान्दै गरेका उनले सोधे,‘के भयो?’
‘स्वास फेर्न गाह्रो भइरहेको छ’, मैले उनको प्रश्नको उत्तर दिएँ।
उत्तर सुन्ने वित्तिकै उनले ‘रियाक्ट’ गर्दै, ‘त्यहाँ पर गएर बस्नुस्’, भन्दै कुर्सी देखाए।
म डाक्टरभन्दा करिब ५/६ फिट पर कुर्सीमा बसेँ।
मलाई जाँच्न लागेका डाक्टरले पीपीई लगाएका थिए। तर पनि उनी मेरो स्वास फेर्न गाह्रो भन्ने उत्तरले आत्तिए।
डाक्टरले उही काउन्टरका व्यक्तिले सोधेझैँ सोधे, ‘ज्वारो आएको छ?’
‘नाईं’, छैन।
‘अनि खोकी नि?’
‘छैन।’
‘टाउको दुख्ने शरीर दुख्ने केही भएको छ?’
‘अँह, छैन’, मैले भने, ‘तर छाती दुखेको छ।’
मैले दिएका उत्तर उनले ‘रेकर्ड बुक’मा लेख्दै गए। उनले फेरि सोधे, ‘खकार आउँछ?’
‘खकार त आउँदैन तर घाँटीमा केही जम्मा भए जस्तो हुन्छ’, मैले उत्तर दिदैँ थपे, ‘दुई दिन अगाडि घाँटीमा केही अड्किएको जस्ताे भएको थियो। थुक निल्दा केही ढिक्का निस्के जस्तो भयो। त्यसपछि अलिकति त्यही थुकसँग रगत आएको थियो। त्यो भन्दा अरु केही भएको छैन।’
डाक्टरले सोधे, ‘ढिक्का रगत आएको थियो हो?’
‘नाईं…थुक्दा थुकमा देखिएको थियो।’
उनले ‘रेकर्ड बुक’मा केही लेखे।
‘रेकर्ड बुक’मा लेखिएको दुई वटा औषधिको नाम देखाउँदै उनले भने, ‘यो एन्टिबायोटिक औषधि खानुस्, धेरै खोकेर तपाईको घाँटी फाटेको हुन सक्छ’, उनले फेरि थपे, ‘हुन त टिवी भएको पनि हुन सक्छ। तपाईंको रिपोर्ट आएपछि थाहा हुन्छ।’
यसै त उनको पहिलो रियाक्टले मलाई रिस उठिरहेको थियो। अब झनै रिसले पारा तात्तियो। उसै त चाडो रिस उठ्ने मेरो बानी। म उनीमाथि पोखिएँ।
‘तपाई कसरी खोकेर घाँटी फाट्यो भन्न सक्नु हुन्छ? मलाई खोकी लागेको मलाई थाहा छैन भने तपाई कसरी खोकी लागेर घाँटी फाँटेको भनेर जाँच नै नगरी एन्टिबायोटिक दिनुहुन्छ’, मेरो रिस अझै मेरेको थिएन।
उनलाई फेरि सोधे, ‘कुनै लक्षण नै नदेखी कसरी टिबी हुन्छ। स्वास फेर्न गाह्रो भएर मात्र हुन्छ।’
म रिसाएको देखेर हुन सक्छ। उनले सम्झाउने कोसिस गरे। तर मलाई उनको त्यो शैली मन परेन। बेक्कारमा अस्पताल पुगेछु जस्तो महशुस भयो।
यो भन्दा पहिला अस्पताल नगएको होइन। तर उनी जस्ता डाक्टर भने भेटेकी थिइनँ। सामान्यतया अन्य बेला अस्पताल पुग्दा डाक्टरको पहिलो प्रश्न हुन्थ्यो, ‘महिनावारी समयमै हुन्छ?’
दोस्रो भने प्रश्न भन्दा पनि कार्य गर्थे, स्टेथेस्कोप छाती, कोखामा राख्दै, ‘लामो स्वास तान्नुस् त।’
जुनसुकै विरामी भएर अस्पताल पुग्दा यी दुई वटा कुरा भएकै हुन्थे तर यो पटक डाक्टरले स्टेथेस्कोपले छाती छुनुको त परको कुरा हो उनको छेउमा बस्नसम्म दिएनन्।
‘रेकर्ड बुक’ समातेँ र फेरि काउन्टर तिर लागेँ।
सोचे, सायद कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि उनीहरुले सुरक्षा अपनाएका होलान्। तर मनमा कुरा खड्किरहेको थियो। के एउटा डाक्टरले विरामीलाई नछोएरै जाँच्न सक्छ?
सुरुको भन्दा केही भिड थियो काउन्टरमा। पालो आयो। एक्सरे र इसिजीका लागि टिकट काटेँ र एक्सरे वार्डतिर लागेँ।
टिकट देखाउने वित्तिकै वार्डमा बसेका व्यक्तिले भने, ‘भित्र आउनुस्, सबै लुगा फुकालेर गाउन् लगाउनुस्।’
सायद मैले लगाउन लागेको गाउन मभन्दा पहिला कसैले लगाएको थियो। झल्यास्सँ मनमा आयो, ‘त्यो मान्छे कोरोना भाइरस संक्रमित भएको भए।’
एक्सरे गर्ने व्यक्तिलाई सोधेँ, ‘लुगा नफुकाली गर्न मिल्दैन।’ उनले उताबाट उत्तर दिए, ‘मिल्दैन।’
के डाक्टर वा स्वास्थ्यकर्मीले विरामीलाई नछोएर उपचार गर्न कति सम्भव छ? विरामीको उपचार गर्दा चिकित्सक वा स्वास्थ्यकर्मीले सुरक्षा सामाग्री प्रयोग गर्दा पनि डराउनु पर्ने हुन्छ? चिकित्सक पेशा अँगालिसकेपछि विरामी नछोइ जाँच्छु भन्न मिल्छ?
गाउन लगाएँ। एक्सरे गरियो।
अब पालाे इसिजीको थियो। इसिजी वार्डमा पुग्दा सबै रित्तो थियो। केही केर कुरेपछि एक जना महिला पुगिन् र सोधिन्, ‘मैयाँ इसिजी गर्ने हो? भित्र आउनुस्।’
उनको पछाडि लागेर कोठा भित्र पसेँ। इसिजी गर्न केही समय लाग्दो रहेछ।
त्यही समयमा एकजना पुरुष आइपुगे। दुवै जना कुरा गर्दै थिए। यस्तो डरको बेला किन हामीलाई अस्पताल बोलाएको होला? को मान्छे कस्तो आउँछ पत्तै हुँदैन। उनीहरु एक अर्कासँग कोरोना भाइरस संक्रमणको डर पोखिरहेको थिए।
इसिजी गरेर सकिएपछि मलाई उनीहरुको गनथन मनथन सुन्न मन लागेन र बाहिर बसेँ।
केहीबेरमा रिपोर्ट आयो।
त्यहाँबाट सिधै एक्सरे रिपोर्ट दिन गए।
तर रिपोर्ट भने देखाउन पाइनँ, किनभने ओपिडी २ बजे बन्द भइसकेको थियो। तसर्थ रिपोर्ट देखाउनका लागि भोलिपल्ट नै कुर्नु पर्ने थियो।
भोलिपल्ट दिउँसोतिर रिपोर्ट देखाउन अस्पतालको १ नम्बर कोठामा पुगेँ। सोमबारको तुलनामा मंगलबार भीड थियो। करिब २५ मिनेटपछि मेरो पालो आयो। एक जना मोटो ज्यान भएका डाक्टरले सँगै भित्र लगेर गएँ। मैले सोचेँ पहिलो पटक चेक गर्ने डाक्टर कहाँ लग्दैछन्? तर होइन रहेछ।
उनी आफैले सोधे, ‘के समस्या भयो भन्नुस् त?’
उनलाई मैले बेलिबिस्तार लगाएँ। पहिलो पटक जाँच्ने डाक्टर टाढा बस्न भनेको यो पटक भने म आफै अलि टाढा बसेँ। तर डाक्टरले मलाई आफ्नो नजिक बोलाएर उसैगरी प्रश्न सोधे, ‘महिनावारी समयमै हुन्छ? पछिल्लो पटक कहिले भएको थियो?’
उनलाई उत्तर दिएँ।
‘मास्क खोल्नुस्’ स्थेस्कोप छातीमा, कोखामा राख्दै उनले भने, ‘लामो लामो स्वास लिनुस्।’
अब भने मलाई बल्ल डाक्टरले जाँचे जस्तो भयो। बल्ल मनमा एक प्रकारको सन्तुष्टि मिल्यो।
त्यसपछि उनले रिपोर्ट हेर्दै सामान्य भएकाले नआत्तिन भने। ‘रेकर्ड बुक’ हेरे र उनले सोधे, ‘कुन डाक्टरले हेर्नु भएको थियो?’
मलाई डाक्टरको नाम थाहा थिएन। उनको नाम पनि कतै हेरिनँ। उनलाई नाम सोधिनँ भनेर उत्तर दिएँ। उनले बाहिर अन्य विरामीका ‘रेकर्ड बुक’ जम्मा गर्दै गरेका व्यक्ति भित्र बोलाएर नाम सोधे।
उनले पुलुक्क मलाई हेरे र फेरि सोधे, ‘यो औषधि किन्नु भयो।’ मैले नाईं भन्ने भावमा टाउको हल्लाए। उनले थपे, ‘यो हिजो (आइतबार) डाक्टरले लेख्दिएको औषधि खानु पर्दैन’, भन्दै आफूले केही औषधि लेखिदिए।
उनको बोली र व्यवहारले आधा दुखाई उसै कम भए जस्तो महशुस भयो। बल्ल डाक्टर भेटे जस्तो भयो।
के डाक्टर वा स्वास्थ्यकर्मीले विरामीलाई नछोएर उपचार गर्न कति सम्भव छ? विरामीको उपचार गर्दा चिकित्सक वा स्वास्थ्यकर्मीले सुरक्षा सामाग्री प्रयोग गर्दा पनि डराउनु पर्ने हुन्छ? चिकित्सक पेशा अँगालिसकेपछि विरामी नछोइ जाँच्छु भन्न मिल्छ?
हुन त स्वयं एक स्वास्थ्यकर्मीकी छोरी हुँ। दिनहुँ घरमा आमासँग कुरा हुन्छ। म धेरै पटक आमालाई सम्झाउँछु, ‘मुवाँ, मास्क पञ्जा राम्रोसँग प्रयोग गर्नु है, शंकास्पद विरामी आउँदा अझ सजग हुनु।’
तर म मेरी ‘आमा’लाई कहिल्यै यो सिकाउने गरेको छैन –स्वास्थ्य संस्थामा आउने बिरामीलाई छुँदै नछोएर टाढै बस्नु है।
यसो भन्न मेरो नैतिकताले दिँदैन र त्यसो गर्न मेरी आमालाई पेशाले दिँदैन।

भर्खरै
लोकप्रिय






































































































































































































