
न्युयोर्क – कोरोना भाइरसको संक्रमण र मृत्यु दुवै हिसाबले सबैभन्दा बढी प्रभावित देशमा अमेरिका अगाडि आएको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा पाँच लाख पाँच हजार २ सय ३७ संक्रमित छन् भने १८ हजार ८ सय ५० जनाको मृत्यु भएको छ।
यसअघि बढी मृत्यु हुनेमा इटाली अगाडि थियो। इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ। इटालीमा एक लाख ४७ हजार पाँच सय ७७ जना संक्रमित छन्।
अमेरिकामा संक्रमितमध्ये २८ हजारमात्र निको भएका छन्। हालसम्म स्पेनमा १६ हजार ३ सय ५३ र फ्रान्समा १३ हजार एक सय ९७ जनाको ज्यान गएको छ। बेलायतमा पनि ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ।
विश्वभर हालसम्म १७ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख पाँच हजारको मृत्यु भएको छ।
अमेरिकाको एउटै शहर विश्वका अरु देशभन्दा बढी प्रभावित
अमेरिकामा न्युयोर्क सबैभन्दा बढी प्रभावित छ। न्युयोर्कमा एक लाख ७२ हजार ३ सय ५८ जना संक्रमित छन् भने ७ हजार ८ सय ४४ जनाको ज्यान गएको छ। न्युयोर्कमा जति संक्रमण विश्वका अरु कुनैपनि देशमा भएको छैन। स्पेनमा एक लाख ६१ हजार ८ सय ५२ जना संक्रमित छन् भने फ्रान्समा एक लाख २४ हजार ८ सय ६९ र जर्मनीमा एक लाख २२ हजार ८ सय ५५ जना संक्रमित छन्।