चुलबुले मनलाई लकडाउनमा चिठी

चुलबुले मनलाई लकडाउनमा चिठी
+
-

प्रिय मन,
मिठो सम्झना!

मलाई थाहा छ, तँ निकै चुलबुले छस्। सायद त्यसैको कारणले होला, तँ आज ‘लक’ भएको छस्। लकडाउनपछि घरबन्दी हुँदा तँलाई धेरै कुराको तलतलले कति सताइरहेको होला? लकडाउनअघि जस्तो माहोल थियो, जस्तो जीवन थियो, अहिले त्यस्तो महसुस गरिराखेको छैनस होला्। कोरोना भाइरसको संक्रमणको सन्त्रासले विश्वलाई सताइरहेको बेला तँ पनि बेचैन छस्।

अब केही समय तैँले धैर्य गर्नैपर्छ। यदि तैले धैर्य गर्दैनस् भने, मेरो कारणले कसैलाई संक्रमण फैलिन सक्छ, म संक्रमणको माध्यम बन्न सक्छु वा म आफैँ पनि संक्रमित हुनसक्छु। त्यसमा तँ पक्कै पनि खुशी हुँदैनस् होला। त्यसकारण अहिले तँ ‘लक’ भएर बस्नु बाहेकको अरु विकल्प केही छैन। माहोल सहज भएपछि फेरि उस्तै होलास्।

जसरी जसरी समय बित्दै जान्छ, त्यसरी त्यसरी मनको चाहना र धैर्यता प्रस्फुटन हुँदै जाँदो रहेछ। भनिन्छ नि- जीवनमा पढेको भन्दा परेकोमा थुप्रै कुरा सिकिन्छ। हो मैले पनि थुप्रै कुरा सिकेँ, यो १८ औँ दिनसम्मको लकडाउनमा। प्रिय मन, मलाई थाहा छ- तेरो चुलबुलपनले कुनै दिन नमिठ्ठो घटना घटाउन सक्छ। त्यसैले पनि तँलाई अहिले नै सतर्क बनाउन यो चिठ्ठी लेखेको हुँ। थुप्रै खालका भावनाहरूले तेरो मन र मस्तिष्कमा डेरा बसाएको हुन सक्छन्।

अहिले यसरी बन्दी भएर बस्दा यस्तो हुनु स्वाभाविक पनि हो तर विडम्बना अहिले जलमा, थलमा, नभमा सबैतिर कोरोना मात्रै छ। कोरोनाको आगमनले अहिले समुन्द्रमा जहाज चल्दैनन्, आकाशमा विमान उड्दैनन्, धर्तीमा गाडी गुड्दैनन्, घुमन्ते प्राणी भनेर चिनिएको मानिस घरभित्रै थन्किएको छ। कोरोनाको आगमनले हिजोका सब कुरा थोत्रा भइसकेका छन्। जीवन, जगतको परिभाषा नै बदलिएको छ, बानी व्यवहार बदलिएका छन्, चलन र संस्कारहरु उल्टिएका छन् ।

हिजोआज एक्लाएक्लै रहनु सामूहिक शक्ति प्रदर्शन हो। एकान्तमा बस्नु ऐक्यवद्धता हो। कसैलाई नभेट्नु नै गाढा मित्रता हो। तिरस्कृत भएर बुढेसकालमा बिताउन बाध्य पारिने एक्लो जीवन नै अहिले जीवन जीउनुको सौभाग्य हो। यहाँ अहिले माया भन्ने कुरा फेसबुकको प्रोफाइल पिक्चरमा भेटिन्छ। म्यासेन्जरको गफमा समेटिन्छ। टिकटकको भिडियोमा अड्किन्छ। त्यसैले मायाको त्यो जालझेलमा पनि नपर्नु तँ, यसले जति तँलाई तताउँछ, त्यति नै यसको सामिप्यमा जोडिएका क्षणहरुले सताउँछ।

म थाहा पाउँदै छु– शक्ति पाखुरामा होइन, तँ भित्र हुँदो रहेछ। इच्छा मनको शक्ति रहेछ। अब मेरो वशमा केही छैन, सबै कुरा तैँले कब्जा गरिसकेको छस्। बाँच्ने इच्छा र आकाक्षांले मलाई चलाइरहेछन्। त्यसैले म अहिले यस्तो चालढाल देखाउन बाध्य छु जसले लकडाउनसँग साँच्चै प्रेम बसेको देखाओस्। यस्तो माया देखाओस्, जुन आजसम्म मैले कसैलाई गरेकै थिइन। तँ जे भन– म त लकडाउनलाई औधी माया गर्न थालेको छु।

मानिसले भन्थे- ‘प्रेममा कुनै शर्त हुँदैन’ तर आज म आशा गरेर लकडाउनलाई प्रेम गर्दैछु, किनभने इच्छा टुटेपछि नै त बुद्धि पलाउँदो रहेछ। कोरोनाको आगमनले मेरा जीवनका रुपरेखा नै सरल बनेका छन्। जसले जे भन्छ लुरुक्क मान्ने, जे भेटियो त्यही खाने, चुपचाप घरमा बस्ने। मेरा यी मलिन अनुहार र हाउभाउहरु मृत्युसँग डराएका चिनो हुन्। आजकल मौनता नै मलाई स्वादिलो लाग्न थालेको छ। यो समयमा तँ पनि लकडाउनलाई प्रेम गरेर मलाई साथ दे है।

विकास भनेको आधुनिक उत्तेजना होइन रहेछ। आफ्नै कर्मबाट प्राप्त अनिश्चय र असुरक्षा नै आज मानिसको दिनचर्या भएको छ। त्यसैले अबका दिनमा म भविष्यको निर्माण गर्ने होइन, चरित्रको निर्माण गर्नपट्टि लाग्नेछु। मृत्यूलाई छलेर जीवन निर्वाह गर्नपट्टि नलागी मृत्यूको सामना गर्न सिक्नेछु। त्यसैले तँ जति चुलबुले भए पनि अबका दिनहरुमा मलाई यी कुराहरुमा साथ दे।

मलाई विश्वास छ आज लेखिएको यो शब्दहरुमा त्यत्ति धेरै तागत त छैन। बस सन्देह गर यसको भावप्रति, सन्देह गर प्रेममा, मायामा, अन्ततः इच्छा, चाहना, विश्वास कायमै राख्नु मर्न नदिनु।

म तँलाई कति धेरै माया गर्छु, कति धेरै प्रेम गर्छु, त्यो त तँलाई थाहा नै छ नि। तँ नि मलाई त्यत्ति नै धेरै माया प्रेम गर्दे न है मन। तँलाई फकाउन यो माया, प्रेमको परिभाषा पनि लेखेको छु पढ है।

प्रेम र माया शब्द आफैँमा एक सिक्काका दुई पाटा हुन्। प्रेम मानव जीवनको भावनात्मक शब्द हो। तर, यसलाई परिभाषित गर्न असम्भव छ। प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन। त्यसको जमर्को म गर्दिन पनि। जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं। त्यस्तै प्रेम पनि एक भावना हो। प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ।

तर यो भनिरहँदा माया के हो त त्यसो भए? माया पनि प्रेम सरह अदृश्य शक्ति हो। माया देखिने कुरा होइन। यो त मनले महसुस गर्ने कुरा हो। आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ। मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन।

हृदयमा आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन। राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन। शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ। पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ। माया अपवाद हो। माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो। प्रश्न चिन्ह हो, माया। अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया।

जे जे भए पनि अहिले मेरो एक मात्र प्रेमी तँ नै होस्। यो लकडाउनमा जति ‘लक’ भए पनि मलाई साथ दे। तँ नै होस अहिलेको मेरो एक मात्र साथी। तँ नै होस्, अहिलेको मेरो सबै कुरा। तेरो नियन्त्रणमा छु म, तसर्थ मलाई संयमित र धैर्य बनाउने काम तेरो नै हो। जति चुलबुले भए पनि “जीवन रहे न जगत देख्न पाइन्छ” भनेर मलाई सिकाउने तैं त होस नि। ल फेरिफेरि पनि पत्र लेख्दै गरौँला । सँगै संयमित र धैर्य बनेर यो परीस्थिती लाई सामना गरौँ।

उहि तँ (मन) लाई बोक्ने साथी,

दिवस खनिया

(खनिया सामाजिक अभियन्ता साथै टेलिभिजन कार्यक्रम निर्माता हुन्।)

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’