
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट पछिल्लाे १३ दिनमा संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। । नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको झण्डै पाँच महिनामा संक्रमितको संख्या २० लाख ८० हजार भन्दा बढी पुगेको छ ।
तर पछिल्लो १३ दिन मात्र १० लाख संक्रमित बढेका छन्। युरोप र अमेरिकामा तीव्र गतिममा फैलिरहेका महामारीका कारण पछिल्लो १३ दिनमै संक्रमित १० लाखले बढेका हुन्। विश्वभर मार्च २६ तारिखसम्म पाँच लाख, अप्रिल २ तारिखसम्म १० लाख र अप्रिल ८ तारिखसम्म १५ लाख संक्रमित पुगेका थिए
भाइरसका कारण हालसम्म विश्वभर १ लाख ३४ हजार ६ सय १५ जनाको ज्यान गएको छ।
भाइरसबाट संक्रमितमध्ये ७८ प्रतिशत र मृत्यु हुनेमध्ये ८६ प्रतिशत युरोपियन र अमेरिकी रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६ लाख ४४ हजार भन्दा बढी पुगेका छन् ।
कोभिड–१९ बाट मृत्यु हुने पनि अमेरिकामै सबैभन्दा धेरै छन् । त्यहाँ हालसम्म २८ हजार ५२९ पुगेको छ ।
अमेरिकाको इपिसेन्टर न्यूयोर्कमा बुधबार थप ७५२ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् ।