हरेक विध्वंश अर्को उत्तम सिर्जनाका लागि हुन्छ

हरेक विध्वंश अर्को उत्तम सिर्जनाका लागि हुन्छ
+
-

आज सारा संसार कोरोनारूपी विभीषिकाले संत्रस्त बनेको छ। अखण्ड पृथ्वीलाई खण्डखण्ड गरी आफ्नो प्रचण्ड पाखण्डको ध्वजारोहणमा रमाउने २ सयभन्दा बढी देश आसन्न मृत्यु भयका साथै भीषण महामारीपछि उत्पन्न हुने चरमदेखि परमसम्मको संकटावस्था सम्झेर नखदेखि शिखसम्म कम्पित भइरहेका छन्। यी तिनै वीर बाहुबलीको गाथा हो जुन केही दिन पहिलासम्म जल-थल- नभमा आफ्नो आधिपत्य रहेको दावी गर्दै एक अर्कालाई आफ्नो आर्थिकदेखि अणुशक्तिको धमास देखाएर पैतालामुनि राख्न तँछाड़मछाड गरिरहेका थिए। एउटा आँखाले नदेखिने क्षुद्र कणले प्रलयको ताण्डव नृत्य गरिरहँदा, मै हुँको हुंकार भर्ने सारा बाहुबली यस नृत्यको प्रत्येक थाप र भावभंगिमामा त्राहिमाम त्राहिमाम गरिरहेका छन्।

प्रलय र ताण्डवले याद आयो- शिवको त्यो स्वरुप जुन शवतुल्य भई समाधिस्थ रहन्छ।

हिन्दूहरुको मान्यताअनुसार उत्पत्ति र ध्वंशको कारण पृथकपृथक हुन्न। उत्पत्ति गर्ने पनि शिव र प्रलयको ताण्डव मच्चाउने पनि शिव! वाह, क्या सुन्दर र अनुपम अवधारणा छ हिन्दूहरुको।

ठ्याक्कै नभए पनि कताकता अंगमा त्रिशूलझैँ शूल (Spike) धारण गरेको कोरोना भाइरस! यसलाई वैज्ञानिकहरुले ‘निगेटिभ सेन्स सिंगल स्ट्रैन्डेड आरएनए भाइरस’ भनेका छन्। विज्ञान भन्छ- पृथ्वीमा सृष्टिको आरम्भ ‘आरएनए’ कणबाटै भएको हो। त्यही ‘आरएनए’ मानौँ आफूबाट सृष्टि भएको प्रकृतिको सर्वोत्तम संरचनालाई आफूमा समाहित गर्न विश्वरूप धारण गरी मानवीय सभ्यताका विरुद्ध प्रलयको उत्पात मचाइरहेको छ।

जीवन जगत र सृष्टिबारे सतहदेखि अलिकति मुनिसम्म चियाउन सक्ने मानिसका लागि सृजन र विध्वंश मूलतः एउटै शक्तिका पृथकपृथक स्वरुप हुन भन्ने बुझ्न गाह्रो हुन्न, यो बेग्लै कुरा हो बुझेर पनि स्वीकार गर्न सजिलो हुन्न। यसको कारण पनि मानव सिर्जित नभएर प्रकृति सृजित नै हो। प्रकृतिले कोशिका कोशिकासम्म यस्तो प्रेरणा र कार्यप्रणाली लिपिबद्ध गरेको छ जसको मूल आशय हो- आफ्नो सुरक्षा र वंश वृद्धि गर।

जीवनको सबैभन्दा ‘बेसिक बिल्डिङ ब्लक ‘ कोशिका आफ्नो वृद्धि आफैँ गर्छ। सुरक्षाको सम्बन्ध नै भयसँग गाँसिएको हुन्छ र भयको मूलमा मृत्यु नै विराजमान हुन्छ। कोही पनि मानिस मरण चाहदैँन, त्यसैले कसैले पनि आफ्नो सृजन र विध्वंशको आदि कारण एउटै शक्ति हो भनी स्वीकार गर्दैन।

सृजन र ध्वंश प्रकृतिको लीला नृत्य हो, शायद यो बुझेर नै ‘सर्न ल्यबोरेटरी’मा नटराज शिवको प्रतिमा राखिएको हो। विज्ञान अध्येताहरुलाई थाहा छ पृथ्वी बनेदेखि कैयनपटक यहाँ प्रलयका घटनाक्रम दोहोरिएका छन्। सबैभन्दा पछिल्लो प्रलय झन्डै साढ़े ६ करोड वर्ष पहिला घटित भएको थियो। अन्तरिक्षबाट खसेको एउटा खगोलीय पिण्डले पृथ्वीलाइ कसिङ्गरझैँ हल्लाउनुका साथै यहाँ रहेको अधिकांश जीवनलाई सखाप बनाइदिएको थियो। पृथ्वीमा राज गर्ने भीमकाय डायनासोर यस प्रलयकारी घटनाले सदाका लागि लोप भएका थिए।

वैज्ञानिक धारणा छ- यस प्रलयपछि मात्रै पृथ्वीमा मानिसका आदि पुर्खाहरुको सृजन हुने सम्भावना फलित भएको थियो। एक क्षणका लागि सबै वाद, सबै मत, सबै स्वार्थ थाती राखेर विचार गरौँ यो प्रलयंकारी घटना विध्वंश थियो कि सृजन! अन्तरिक्षबाट त्यो खगोलीय पिण्ड खसेर तत्कालीन श्रेष्ठ र शक्तिशाली प्राणी डायनासोरको अन्त नभएको भए मानिसको उत्पत्ति हुने सम्भावनाका बिउ नै प्रस्फुटित हुने मलिलो वातावरण उपलब्ध हुने थिएन। डायनासोरको विध्वंशकै घटनाक्रम मानिस सृजनको आधारभूमि बनेको होइन र? अब यसलाइ विध्वंश भन्ने कि सृजन! समयको मापले हेर्दा विध्वंश र सृजन पृथकपृथक देखिन्छन्, भनौ दुबै घटनाक्रममा ४-५ करोड़ वर्षको अन्तराल  । मानिसको चेतनाका लागि यो अन्तराल लामो हुनसक्छ तर झन्डै १३ दशमलब ८ अर्ब वर्ष उमेर भएको सृष्टिका लागि यो अन्तराल त आफ्नो उमेरको १ प्रतिशत समय पनि होइन। Cretaceous–Paleogene extinction event नामक यो घटनाबाहेक पनि पृथ्वी बनेदेखि अन्य चारपटक पृथ्वीले प्रलय र सृजनको साक्षी हुने नियति भोगेको छ। कोरोनाजस्ता आपदा त कति आए कति! यी गनीसाध्य छैन।

कुनै पनि प्रलयले पृथ्वीको जीवन श्रृंखला समाप्त पार्दैन, जीवनको झन उत्तरोत्तर विकासका लागि प्रलयरूपी सृजनको अभ्यास गर्छ प्रकृतिले र प्रत्येक प्रलयपछि पूर्वमा रहेका भन्दा उन्नत किसिमका जीवन प्रारूप संगठित गर्छ प्रकृतिले।

मानवीय बुद्धिका लागि सामान्य खतिदेखि प्रलयसम्मका सबै घटना र परिदृश्य हृदय विदारक हुन्छन्। लेखी हालेँ मानवीय बुद्धि! अब यसलाई ‘डिलिट’ गर्न मन लागेन। मूल कारण त माथि कतै भनिएझैँ ‘कोशिका कोशिकामा लिपिबद्ध ‘आफ्नो रक्षा गर र वंश वृद्धि गर’ भन्ने सूचना नै दुःख, चिन्ता र विषादको जनक हो। तर मलाई सबैभन्दा घातक र हृदय विदारक प्रलयंकारी घटना (extinction event ) पृथ्वीमा अक्सिजनको उतपत्ति हुँदा ताकाको प्रतीत हुन्छ।

ठीक पढ्नु भयो तपाईँले, पृथ्वीमा अक्सिजनको उत्पत्ति जीवन भनिने श्रृंखला प्रारम्भ भएको धेरैपछि भएको हो। अक्सिजन उत्पत्ति हुँदा त्योभन्दा पहिला रहेको जीवनका लागि अक्सिजन प्राणघातक साबित भयो। जीवाणु जगतमा एउटा नयाँ जीवाणु साइनोको उत्पत्ति भयो विकासक्रममा। यस जीवाणुले ‘अक्सिजेनिक फोटोसिंथेसिस’ प्रक्रियाबाट प्रकृतिमा रहेको कार्बन ग्रहण गरी अक्सिजन बनाउन थाल्यो। अक्सिजनको यो निर्माण साइनो ब्याक्टेरियाबाहेक अन्य अधिकांश जीवनका (ऐरोबिक आर्गनिज्म) लागि विषतुल्य साबित भयो। वनस्पतिदेखि सबै जीवजन्तु उत्पत्तिको आदि कारण साइनो ब्याक्टेरिया पनि हो। यसले प्रचुर मात्रामा पृथ्वीको वातावरणमा अक्सिजन भण्डार गरिदिएपछि मात्रै हामीले मोटो बुद्धिले जसलाई जीवन भन्छौँ त्यसको शुरुवात भएको थियो। तपाईँ हाम्रो लागि प्राणदायी अक्सिजन कुनै बेला पृथ्वीमा सामूहिक मृत्युको कारण बनेको थियो। विज्ञान जगतमा यस घटनालाई ‘रस्टिंग अफ द अर्थ’ पनि भनिन्छ। भनौँ, पृथ्वीमा खिया लाग्ने क्रम यसै घटना ‘ द ग्रेट अक्सिडेसन इभेन्ट’ पश्चात् प्रारम्भ भएको थियो। पृथ्वीमा खिया लाग्ने! यस वाक्यको अर्थ र आशय तपाईहरु आ- आफ्नो सुविधा अनुसार बुझ्न सक्नुहुन्छ। २ दशमलब ४ अर्ब  वर्ष पहिला भएको यस घटनालाइ प्रलय भन्ने कि सृजन?

जीवाश्म वैज्ञानिक (Palaeontologists) २० करोड़ वर्ष पहिला र त्यस अघि २५ दशमलब १ करोड़ वर्ष पहिला पनि पृथ्वीमा प्रलयका घटना भएको भन्छन्। प्रत्येक प्रलयको घटनापछि जीवन भन्ने प्रक्रियामा क्रमिक विकासका साथै सुधारसहितको परिवर्तन आएको दाबी गर्छ आधुनिक विज्ञानले। २५१ मिलियन वर्ष पहिला भएको ‘द ग्रेट डाइंग’ (the Great Dying ) नामक प्रलयमा पृथ्वी झण्डैझण्डै जीवनरहित बन्न पुगेको थियो। वैज्ञानिकले दावी गर्छन्- यस घटनाले पृथ्वीको समयलाई ३० करोड़ वर्ष पहिलाको कालखण्डमा पुर्‍याइदिएको थियो।

प्रलयका यस्ता घटना ३७ दशमलब ५ करोड़ वर्ष पहिला र ४४ दशमलब ४ करोड़ वर्ष पहिला पनि घटित भएका थिए। पृथ्वीमा जीवनको सृजन भएउपरान्त अहिलेसम्म ५ पटक प्रलयका विभीषिका घटित भइसकेका छन्। वैज्ञानिक भन्छन्- हामी छैँटौँ प्रलयको पर्खाइमा छौँ।

यो छैटौँ प्रलय कसरी हुन्छ? मानवीय कारणले हुन्छ कि प्रकृतिले नै यसको ‘मेलोडी’ तयार पार्छ? धेरै प्रज्ञावान पुरुषहरुले यस प्रश्नको जबाब दिने चेष्टा नगरेका होइनन् तर ती सबै प्रयास बाल कौतुहलभन्दा एक इन्च फरक छैनन्। कारण तिनलाई प्रकृतिको रचनाधर्मिताबारे किञ्चित पनि संज्ञान छैन।

यस पक्तिका अग्रणी नाम स्टीफन हकिन्स हुन् अथवा अहिलेका अति लोकप्रिय लेखक नोभेल हरारी, सबै सतहका पौड़ीबाज़ मात्रै हुन्। मेरो सामान्य जिज्ञासा अथवा तपाईँ विश्वास भन्न सक्नुहुन्छ यति मात्रै हो- जीवन प्रारम्भ भएदेखि प्रकृतिले ५ पटक mass extinction खपेर पुनः जीवन लहलहाउने सामर्थ्य राख्छ भने छैटौँ पटकमा उसको सामर्थ्य कुन ‘ब्लैक होल’को गुरुत्वाकर्षणले हरिदिन्छ? जीवन सतत प्रक्रिया हो, विकासक्रम सतत प्रक्रिया हो, प्रकृति अरु केही होइन, अनवरतको विकास प्रक्रिया हो। मनुष्यमा आएर नै यो विकासक्रम पूर्ण भएको भन्ने अज्ञान नै सारा दुश्चिंताको कारण हो। प्रलयका प्रत्येक घटनापछि प्रकृतिले त्योभन्दा श्रेष्ठ जीवनको उत्पत्ति गरेको छ। बुद्धिमा लागेको बिर्को उघारेर हेर्ने हो भने प्रलय विध्वंशको नभएर अझ उत्तम जीवनको सृजन हो। कुनै प्रलयपछि अक्सिजन उत्पत्ति भयो, कुनैले कैल्शियम बनायो, कुनैले दांत नङ्ग्रा बनाए। प्रकृति पछाडि कहिले फर्किएको छ र?

साढ़े छ करोड़ वर्ष पहिला Cretaceous–Paleogene extinction event नामक प्रलय जसले सृष्टिका सबैभन्दा शक्तिशाली प्राणी डायनासोरको अंत गर्‍यो, यसबाहेक अन्य कुनै पनि प्रलयको कारण पृथ्वी बाहिरबाट घटित भएको होइन। यो प्रलय मात्र खगोलीय पिण्ड खस्नाले भएको थियो। अन्य सबै प्रलय पृथ्वीकै आन्तरिक कारणले अस्तित्वमा आएका थिए। २५१ मिलियन वर्ष पहिला भएको ‘द ग्रेट डाइङ’ प्रलयमा पृथ्वीको झण्डै ९६ प्रतिशत जीवन सखाप भएको थियो।

यस प्रलयको कारण पृथ्वीमा मिथेन ग्यासको विस्फोट हुनु मानिन्छ। के कसैलाइ थाहा छ- त्योबेला पृथ्वीको जल थल नभ सबैलाई विषाक्त गर्ने त्यत्रो मिथेन कहाँबाट आयो? पर्यावरण प्रदूषण, ‘ग्लोबल वार्मिंग’ आदि मनुष्यजनित कारणले पृथ्वीमा प्रलय हुने जस्ता बकम्फुसे कुरा गर्नेहरुले जबाब दिनु पर्ने हो, २५ करोड़ वर्ष पहिला त वातावरण बिगार्ने मानिस थिएनन्, अनि पृथ्वीमा प्रलय हुने गरी मिथेन कहाँबाट आयो?

होइन मित्रहरु, कुनै पनि प्रलयले पृथ्वीको जीवन श्रृंखला समाप्त पार्दैन, जीवनको झन उत्तरोत्तर विकासका लागि प्रलयरूपी सृजनको अभ्यास गर्छ प्रकृतिले र प्रत्येक प्रलयपछि पूर्वमा रहेका भन्दा उन्नत किसिमका जीवन प्रारूप संगठित गर्छ प्रकृतिले।

हो, पृथ्वीमा पहिलो प्रलयको घटना सूक्ष्मजीव ब्याक्टेरियाबाट भएको थियो। यसलाई तपाईँ कोरोना भाइरससँग दाँज्न सक्नुहुन्न। किनकि प्रकृतिले गर्ने mass extinction कुनै सीमित र विशेष प्रजातिको जीवन अन्तका लागि मात्रै हुँदैनन्, पृथ्वीमा रहेका सबै प्रजातिका लागि हुन्छन्। त्यसैले कोरोना भाइरसको माहामारी mass extinction होइन। मानिस जातिले ज्ञान विज्ञानको क्षेत्रमा फड्को मार्नका निमित्त यो आपदा आएको हो। अब यसका फलस्वरूप विज्ञान झनै द्रुत गतिले अगाडि बढ्छ। ‘आर्टिफिसियल इन्टेलिजेंस’को क्षेत्रमा ५० वर्षमा हुने प्रगति अब एक दशकभित्र नै सपन्न हुन्छ। तपाईँहरुलाई थाहै छ होला कोरोना संक्रमणको उपचारमा संलग्न हज़ारो डाक्टर-नर्स-सुरक्षाकर्मीले संक्रमित भई ज्यान गुमाएका छन्। कल्पना गरिहेर्नुस् त- यी सबै कर्मीको ठाउँमा ‘आर्टिफिसियल इंटेलिजेंस’युक्त रोबोट भएका भए के रोबोटले संक्रमित हुनु पर्थ्यो र मिस्टर हरारी?

तथाकथित आदर्शवादी र नैतिकतावादीले गर्दा ‘जेनेटिक इंजीनियरिंग’को विकासमा बाधा पुगिरहेको छ। यस क्षेत्रले पनि अब व्यापक फड्को मार्छ। कल्पना गर्नुस्- यस प्राविधिले भ्रूण अवस्थामै कोशिकामा शल्यक्रिया गरेर आजीवन कुनै बाह्य संक्रमण नहुने सुरक्षा चक्र पो बनाउँछ कि?

प्रकृति निष्ठुर अथवा दयालु हुँदैन। यसका सामु मूल्य, ‘भैल्यू’, बलिदान जस्ता शब्दले कुनै अर्थ राख्दैनन्। प्रकृति-प्रलय- सृजनमा भेद गर्नु मानवीय दृष्टिदोष र लघुतभाष हो। केही लाख व्यक्ति मरेर प्रकृतिले विकासक्रमको नयाँ सोपान छुनु (कोरोना संक्रमणलाई पराजित गरी स्वस्थ हुने लाखौँ मानिसले यस भाइरसका विरुद्ध आफ्नो शरीरमा ‘एन्टीबड़ी’ बनाउनु पनि त उपलब्धि हो) प्रकृतिका लागि नौलो घटना होइन। विगतमा पनि धेरै पटक यस्ता प्रकृतिलीला घटित भएका छन्- आखिर प्रकृतिको कार्य प्रणाली ‘सर्भाइभल अफ द फिटेस्ट’ न हो! मानवीय बुद्धि मृतक संख्या गन्दै छ भने प्रकृति मृत्युको पाशमा पुगिफर्केका आफ्ना वरद पुत्रहरुको संख्या गन्दै छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’