
सिमकोट– बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्ड पाउन छाडेको छ। नेपालगंजबाट तीन हप्तायता नयाँ रिचार्ज आउन छाडेपछि हुम्लामा रिचार्ज कार्डको अभाव भएको हो।
समकोट बजारका लोक भण्डारीले मोबाइलमा रिचार्ज सकिएको चार दिन भएपनि नयाँ रिचार्ज हाल्न नपाएको बताए। बजारमा रिचार्ज खोज्दा नपाउने भएपछि मोबाइलको काम अहिले आएको फोन रिसिभ गर्ने काम मात्र हुने गरेको उनले बताए।
सिमकोटका अधिकांस पसलहरुले रिचार्ज कार्ड बिक्री गर्ने गरेका भएपनि अहिले सबै पसलहरुमा रिचार्ज पाउनै छाडेको छ।
हुम्लामा निजी क्षेत्रको एनसेलकाे सेवा तीन महिना अघिदेखि नै अवरुद्ध छ। भएको नेपाल टेलिकमको पनि रिचार्ज बन्दाबन्दीको कारण रिचार्ज सकिएपछि हुम्लाबासी समस्यामा परेका छन्।
व्यापारी लोकेन्द्र रावतले हुम्लामा पचासदेखि एक हजारसम्मका रिचार्ज कार्डहरु पाउँदै आएकोमा अचेल कुनै रिचार्ज पनि पाउन नसकिने बताए। उनले रिचार्ज कार्डकोे व्यापार राम्रो हुने भएपनि हाल रिचार्ज सकिएपछि पसलमा रिचार्ज गर्न खोज्ने ग्राहकहरु आएर फर्कने गरेको बताए।
बन्दाबन्दीका समयमा नेपालगंजबाट हवाई यातायातबाट खाद्यान्न ढुवानी भइरहेको भएपनि रिचार्ज आउने गरेको छैन। गत चैत्र ११ गतेबाट हुम्लामा रिचार्ज कार्ड भित्रिएको छैन।