
जीवनको ४० वसन्त पार गर्दा सबैभन्दा ठूलो त्रासको सामना गरेको यो नै पहिलो पटक हो।
कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिनबाट रोक्नका लागि नेपालमा पनि विश्वका अरु विभिन्न देशमा जस्तै लकडाउन लागू भएको छ। लकडाउनको २९ औँ दिनसम्म आइपुग्दा दिनचर्या लगभग उस्तै तर निष्क्रिय रहेको छ।
सञ्चार जगत यो समयमा सक्रिय नै छ। सोही क्षेत्रसँग जोडिएको भए पनि मेरो संलग्नता सीधै पत्रकारितामा नभई व्यवस्थापनमा रहेकाले हाल अति निष्क्रिय जीवन व्यतीत भइरहेको छ।
पत्रकार साथीहरुले सक्रिय रुपमा काम गरिरहेको देख्दा मलाई पनि यसरी निष्क्रिय भएर बस्न त मन थिएन। तर अहिलेको परिवेश नै यस्तै छ, जति सक्यो घरमा बसेर सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने भएकाले बाध्यता पनि छ।
बाध्यताकै बीच कामको प्रकृति धेरै मानिससँग भेट गर्नु पर्ने र हिँडिरहनु पर्ने रहेको विगत २० वर्षदेखि त्यसमै बानी परेकाले अहिलेको यो लगभग एक महिनाको उस्तै दैनिकी अति पट्यारलाग्दो भएको छ। बिहान उठ्यो, बाहिर निस्केर दूध किनेर ल्यायो, खाना खायो, फेरि खाजा खायो, बेलुका खाना खायो अनि सुत्यो। जहिले यस्तै दैनिकी छ।
तर यो लकडाउनका कारण एउटा कुरा चाहिँ मेरो व्यक्तिगत जीवनमा सकारात्मक कुरा पनि भएको छ। छोरीसँग समय बिताउन पाइएको छ। उनीसँग खेल्ने, उनको स्याहार गर्दा बुवा–छोरीको सम्बन्ध भने थप राम्रो भएको छ। यस्तै श्रीमतीलाई पनि समय दिन पाइएको छ।
ओल्लोपल्लो घरको अवस्था पनि उस्तै छ। घर जाने कुरा भएन। कौशीबाटै कुरा गर्ने, दिन बिताउने भएको छ। उहाँहरुले पनि आफ्नो कुरा बताउनु हुन्छ, मैले आफ्नो भन्यो गरेर सुरुका दिनहरु बितेको थियो। तर दिनहरु थपिँदै जाँदा गर्ने कुराहरु पनि सकिँदै गएका हुन् कि जस्तो भएको छ।
र पनि जीवन चलेकै छ। यो मात्रै कामना छ कि अब चाँडै नेपालबाट मात्रै होइन विश्वबाटै कोरोना भाइरसको महामारी अन्त्य होस् र सामाजिक जीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना गर्न चाहन्छु।