
मानवीय गतिविधि विनासकारी हुँदै जाँदा तथा जलवायु परिवर्तनको प्रभाव सघन हुँदा पुतली, माहुरी, कमिलासहितका साना प्रजाती अर्थात किरा फट्यांग्रहरुको विनास हुने चिन्ता थपिएको वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
अनुसन्धानहरुले पनि किरा फट्यांग्राहरुको संख्या विश्वमा चिन्ताजनक रुपमा कम हुँदै गएको देखाउने गरेका छन् । तर पछिल्लो एक अनुसन्धानले किरा फट्यांग्राको विनास यसअघि सोचिए भन्दा भिन्न र जटिल रहेको देखिएको वैज्ञानिकले बताएका छन् ।
यसअघिका अनुसन्धानमा विश्वका सबै क्षेत्रमा किरा फट्यांग्राको संख्या चिन्ताजनक रुपमा कम भएको देखिएको थियो । रहेक दशमा उनीहरुको संख्या २५ प्रतिशतले कम हुँदै गएको तथ्य भेटिएका थिए ।
पछिल्लो पटक भएको अनुसन्धानमा भने तथ्यांक अधिक जटिल र विभिन्न पाइएको छ । यो अहिलेसम्म भएको सबैभन्दा विस्तृत अध्ययन हो ।
जमिनमा आधारित किरा फट्यांग्रा वा किटहरु निश्चित रुपमा चिन्ता गर्नु पर्ने तहमा घट्दै गएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।
तर स्वच्छ पानीमा बस्ने साना आकारका बग वा किराहरु भने बढी रहेको देखिएको छ । तर विश्वव्यापी रुपमा किरा फट्यांग्राहरुको संख्यामा बिस्तारित रुपमा कमी आइरहेको र यो अति चिन्ताजनक रहेको वैज्ञानिकको भनाई छ ।
पारिस्थितिक प्रणाली सक्रिय बनाइरहन तथा प्रकृतिलाई स्वच्छ बनाउने प्रक्रियाका लागि साना किटाणुहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
पश्चिम जर्मनीमा पछिल्लो २७ वर्षमा किटाणुको संख्या झण्डै ७५ प्रतिशतले कम भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो अध्ययनले भने किरा फट्यांग्रको दुनियामा के भइरहेको छ भन्ने कुराको जटिल नतिजा देखाएको छ । विश्वका १६ सय ७६ क्षेत्रमा लामो अवधी लगाएर गरिएका १६६ सर्वेलाई विश्लेषण गर्दा किटाणुहरुको अवस्था जटिल रहेको देखिएको हो ।
अध्ययन अनुसार पुतली, कमिला, माहुरी, तथा फट्यांग्रासहितका किराहरुको संख्या प्रतिवर्ष ०.९२ प्रतिशत अर्थात एक दशकमा ९ प्रतिशतले कमी आएको देखिएको छ ।
यो यसअघिका अध्ययनमा देखिएको भन्दा कम हो । तर पनि जोखिमको स्तर भने रहेको प्रमुख अनुसन्धानकर्ता डा. रोएल भान क्लिन्कले बताएका छन् ।
जमिनमा बस्ने अधिकांश किराहरुको संख्या कम हुँदै गएका बेला स्वच्छ पानीमा आधारित किराको संख्या भने १.०८ प्रतिशत प्रतिवर्षका दरले बढी रहेको देखिएको उनले बताए । यो संख्या प्रति दशकमा झण्डै ११ प्रतिशत हुन्छ ।
विशेष गरी उत्तरी युरोप, पश्चिम अमेरिका र रुसमा यस्तो देखिएको हो । यसको प्रमुख कारण फोहोर नदी तथा तालहरु सफा गरिनु रहेको अनुसन्धानकर्ताको विश्वास छ ।
तर पानीमा आधारित किराहरुको वृद्धिले जमिनमा आधारिक किराको नोक्सानीको क्षतिपूर्ति भने गर्दैन।
विशेष गरी शहरी करणका कारण बासस्थानको कमी हुँदा किराहरुको संख्या कम भएको देखिएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धान प्रतिवेदन अप्रिल २४ मा साइन्स जर्नलमा प्रकाशित भएको छ ।