वैशाख १२ गते, पाँच वर्षअघि भूकम्पले तहसनहस बनाएको दिन । विनाशकारी भूकम्पको कम्पनसँग पिताको विलय भएको दिन । २०७२ साल वैशाख १२ गतेले आड भरोसा गर्ने अभिभावक गुमाउने परेको थियो । भूकम्पसँगै ढलेको घर नयाँ बन्यो, तर त्यसले लगेका पिताको सम्झना मात्रै बाँकी छ । मन अझै हल्लिरहन्छ ।
आजभन्दा ५ वर्षअगाडि वैशाख १२ गते ललितपुरको पाटन क्षेत्र जस्तै काभ्रेको नमोवुद्ध २ सालथुम्कीमा रहेको घर हल्लियो । भूकम्पले घर मात्रै हल्लाएन घरको अभिभावकको ज्यान हरण गरेर लग्यो । त्यो खबर दिउँसो १ बजे पाउँदा पत्याउन सकिएन । कान्छो भाइ अर्जुनले फेसबुक म्यासेन्जर घर ढलेको र छिटो घर आउनु भन्ने सन्देश छाडेपछि कापेको शरीर भत्किएको घर आइपुग्दासम्म थामिएन ।
भारी मन पारेर छोराछोरीका टिलपिलिएका आँखा र साथीभाइको आँट भरोसामा बाटोमा आउँदै गर्दा प्राप्त समाचारले घरलाई मात्रै सम्झाएन । कता कता के के भयो ? भनेर जानकारी लिने उत्कट चाहना पलाइरन्थ्यो ।
भूकम्पले दिएको यो पीडा म एक्लैलाई भने परेको होइन । अभिभावक गुमाएका, सन्तान गुमाएका र बस्ने घर भत्किएका सबैको पीडा एकै थियो । सबैलाई सहयोगको आवश्यक पक्कै थियो । भूकम्प गएको ५ वर्ष भइसकेको छ । भूकम्प गएको झण्डै एक वर्षमा बस्ने बास त ठडियो, तर ढलेको मन उठ्न सकेको छैन ।
विपि राजमार्गबाट चार किलोमिटर भित्र रहेको गाउँमा सन्नाटा छाएको थियो । घरदेखि ५ सय मिटर पर बुवनको मृत शरीरलाई कपडाले छोपेर राखिएको थियो । सबै आफ्नो ज्यानको सुरक्षामा लागिरहेका थिए । घर लडेर बस्न हुने थिएन । एक किसिमको राक्षस नै आएर बुवाको प्राण हरण गरेर लाँदा परिवारका सदस्य सबै शोकमा थिए ।
प्राय सानै कुरामा पनि आँशु झर्ने आखा रसाएपनि थोपा झार्न सकिएन । बुवा पछिको जिम्मेवारी आफ्नो काँधमा आइपर्यो । बुवाको मृत शरीर र ढलेको घरको दृष्यले संसार नै सकिए जस्तो लागि रह्यो । बुवाको प्राण छिनेको भूकम्प छिनछिनमा आइरहेको थियो । दैवको लिला बुवालाई लगेपछि अब जीवित परिवारमा केही नहोस भन्ने कामना गर्ने बाहेक कुनै विकल्प पनि थिए ।
परिवारका सबै सदस्यको बोली बन्द थियो । काठमाडौँबाट पुर्याउन आएका साथी र गाउँका दाजुभाइ सम्साँझैमा बुवाको शव लिएर आर्यघाट जानु पर्यो । सधैँ अरुको पीडा बोल्दै आएको आफै बुवाको मृत्यु भएको समाचार संचारकर्मी साथीहरुलाई दिइरहेको थिएँ ।
म त्यस समय नेपाल पत्रकार महासंघको केन्द्रिय कार्य समितिमा थिए । आफ्नो बुबा गुमाएको समाचार दिने मात्रै नभएर कहाँ कहाँ कसकसको अबस्था कस्तो थियो भन्ने जानकारी पनि लिइरहेको थिएँ । कतै मृत्यु, कतै घाइते भएका समाचार संचारकर्मी साथीहरुबाट आइरहँदा धन्न बाँचियो भन्ने लागिरहेको थियो ।
बसिरहेको घर भत्किएकाले आर्यघाटबाट आएपछि गाइगोरु बाँधेको छाप्रोमा सबैजना ओत लागेर बस्यौँ । समाचार सुनेर हतारिँदै पाल बोकेर आएका आफन्त, साथीभाइ पटक पटक गइरहेको पराकम्पका कारण त्रासमा देखिन्थे । भूकम्पको त्यो रात जसो तसो त्यही छाप्रोमा काट्यो ।
भूकम्पले दिएको यो पीडा म एक्लैलाई भने परेको होइन । अभिभावक गुमाएका, सन्तान गुमाएका र बस्ने घर भत्किएका सबैको पीडा एकै थियो । सबैलाई सहयोगको आवश्यक पक्कै थियो । भूकम्प गएको ५ वर्ष भइसकेको छ । भूकम्प गएको झण्डै एक वर्षमा बस्ने बास त ठडियो, तर ढलेको मन उठ्न सकेको छैन ।
नेपाल सरकार, नेपाल पत्रकार महासंघ, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संस्था नील हिरा समाज लगायतबाट प्राप्त सहयोग र सान्त्वताको सधैँ ऋणी छु । भूकम्प होस् यो कोरोना भाइरसको महामारी, यी दुवै विपत्ती हुन् ।
विपत्तीमा आत्तिनु हुँदैन भन्ने ज्ञान वैशाख १२ ले दिएर गएको छ । त्यसैले अबको यो कोराना विपत्तीमा पनि संयम भएर घर बाहिर ननिस्कौँ । सावुन पानीले मिचिमिचि हात धुने बानी गराैँ । बाँचिरहे संसार देखिन्छ ।

भर्खरै
लोकप्रिय






































































































































































































