एकजना अग्रज पत्रकार म जस्तै चुरोटप्रेमी हुनु हुन्थ्यो, अहिले पनि हुनुहुन्छ। मलाई पनि सुधारिएको ठान्ने गल्ती नगर्नु होला। उहाँ चुरोटप्रेमी हुनुहुन्थ्यो लेख्नुको कारण पुरानो घटनासँग सम्बन्धित छ।
एउटा संस्थामा म उहाँको ‘जुनियर’ भई काम गर्थेँ। हुन त ‘बासिज्म’ उहाँको स्वभावमा परपरसम्म थिएन। उहाँका लागि ‘जुनियर’ र ‘सिनियर’ सबैजना संस्थाको ‘पिलर’झैँ थिए।
अहिले पनि उहाँ कार्यरत संस्थामा कहिलेकाहिँ पुग्दा उहाँमा त्यही चरित्र यथावत रहेको पाउँदा ५–६ कक्षामा पढेको भक्तिकालीन कवि रहीम दासजीका यी पंक्ति स्मरण हुन आउँछन्–
जो रहीम उत्तम प्रकृति का करि सकत कुसँग,
चन्दन विष व्याप्त नहीं लपटे रहत भुजंग ।
हामी दुवै चुरौटे भएकोले हाम्रो बडो आलोचना हुन्थ्यो। अमृता प्रीतमले आफ्नो कुनै पुस्तकमा भनेको ‘स्याडिसटिक कल्चर अफ अवर गार्जियन’ मानसिकताबाट ग्रसित रहेका व्यक्तिहरुले हामीलाइ बडो अर्ती उपदेश दिने गर्थे। आजित भएर उहाँले एक दिन यस्तै अर्ती उपदेश दिनेसँग भन्नु भयो – तपाईँले गाउँघरका बाँस (काठ)ले बनेका संरचना हेर्नु भएको छ ? जुन कोठाको बाँस (काठ)लाइ धुवाँले कालो बनाएको हुन्छ तिनको आयु अरुभन्दा बढी हुन्छ। थाहा छ किन?
किनकी धुवाँ लागेका काठमा धुलिया लाग्दैन, धमिरा लाग्दैन। यस्तै यस चुरोटको धुवाँले पनि हाम्रो शरीर भित्रका विभिन्न अंगहरुमा कार्बनका विभिन्न घटकको उपस्थितिले गर्दा थरी थरीका धमीराबाट जोगाउँछ । यो त विभिन्न अंग र हाडको सुरक्षा पो हो।
मेरा सम्माननीय अग्रजले डेढ दशक अघि मजाकमा भनेको यो कुरा वर्तमानको कोरोना आक्रमणमा साँचो देखिने सम्भावना बढेको छ।
फ्रान्सका प्रसिद्ध ‘न्यूरोबायलजिस्ट’ जीन पियरे चांजेक्स ( Jean Pierre Changeux) ले गरेको नवीनतम शोध अनुसार चुरोटमा रहेको निकोटिन मानिसको फोक्सोका उनै ‘रिसेप्टर्स’सँग टासिन्छ जुन ‘रिसेप्टर्स’मा कोरोना भाइरस आफ्ना सींग (स्पाइक) मार्फत टासिन्छ।
फोक्सोमा टाँसिएको निकोटिनको तहले (लेयर) भाइरसका सींगलाइ त्यहा टास्सिने सुगमता दिन्न । जस्तोकि यस संक्रमणका विषयमा ज्ञात भएअनुसार फोक्सोका कोशिकासँग टासिएपछि मात्रै कोरोना भाइरसको ‘स्ट्रेन’ ले आफ्ना कपी बनाउँन सक्छ ।
फोक्सोका कोशिकासँग समन्वय नभएसम्म भाइरसले कपी बनाउने मौका अर्थात आफ्नो जनसंख्या वृद्धि गर्न सक्दैन । यस शोधमा अन्य धेरै कुरा थाहा हुन बाँकी छन् । जीन पियरेको शोधको प्रारम्भिक अध्ययनलाइ सहज रूपमा स्वीकार अथवा अस्वीकार गर्न मिल्दैन । यसबारे थप शोध हुन बाँकी नै छ । तर भाइरस र निकोटिन दुवैको सम्बन्ध फोक्सोका ‘एपीथीलियल’ कोशिका, (Epithelial cells) एसीइ–२ रिसेप्टर्स (ऐस–२० र एक्यूट रेस्पिरेटरी डिस्ट्रेस सिंड्रोम(ARDS ) सँग रहेको प्रमाणित भइसकेको छ ।
आयुर्वेदको एउटा मूल मन्त्र अथवा सिद्धान्त छ – ‘विषस्य विषमौषधम’, अर्थात विष नै विषको औषधि हो । आयुर्वेदका जानकार भन्छन् – विष र अमृत दुवै सापेक्ष कुरा हुन् । जुन विष कुनै अवस्थामा प्राणघातक हुन्छ त्यै विष नै अर्को परिस्थितिमा ‘ऐन्टीडोट’ (अमृत लेखे भने धेरै पाठकलाइ बुझ्न अथवा पत्याउन गाह्रो होला) हुन्छ । आक्सफोर्डले बनाएको कोरोना भाइरसको भ्याक्सिनबारे पढ्नु भएका पाठकलाइ विदित नै होला यो भ्याक्सिन चिम्पैंजीमा पाइने ‘ऐडिनोभाइरस’ र कोरोना भाइरसको परस्पर मिलनले तैयार पारिएको नयाँ भाइरस हो । कोरोना भाइरस विरुद्धको औषधि के ? एउटा नयाँ भाइरस…
यस आलेखलाइ धूमपानका लागि प्रोत्साहन दिने रूपमा ग्रहण नगरी दिन अनुरोध गर्दै कोरोना, निकोटिन र चुरोटबारे थप चर्चा गर्न गइरहेको छु । हालै ‘द न्यू इंग्लैंड जर्नल अफ मेडिसिन’मा चीनमा गरिएको एउटा शोध प्रकाशित भएको थियो । चीनका ५ सय ५२ अस्पतालमा हजारौँ कोरोना संक्रमित व्यक्ति बीच गरिएको सर्भेक्षण अनुसार ती मध्ये जम्मा १२ दशमलब ६ प्रतिशत संक्रमित धूमपानका कुलती रहेका थिए।
बाँकीका ८७ दशमलब ४ प्रतिशत व्यक्ति ‘ननस्मोकर’ रहेका थिए । संक्रमित भएका मध्ये ‘स्मोकर’ र ‘ननस्मोक’ बीच ठूलो प्रतिशतको अंतर देखियो । तपाईँलाइ अझ ठूलो आश्चर्य त चीनमा धूमपान लतीको संख्याले हुन्छ । विभिन्न एजेन्सीहरुले गरेको अध्ययनको रिपोर्ट अनुसार चीनको विशाल जनसंख्यामा पुरुष धूमपान कुलतीको प्रतिशत ५० भन्दा माथि एवं महिला वर्गमा यो प्रतिशत २५ भन्दा माथि रहेको छ ।
तपाईँ ‘स्मोकर’ हुनुहुन्छ भने यो पढेर मक्ख नपर्नु होला। संसारभरि भएका यस विषयक शोध अनुसन्धानको अर्को पाटो पनि छ। कोरोना संक्रमित मध्ये झण्डै ५ प्रतिशत व्यक्तिमा संक्रमणको अवस्था गम्भीर एवं खतराको बिन्दुसम्म पुग्छ। यिनलाई नै श्वास फेर्ने लगायत अन्य शारीरिक अंगको व्यथा च्याप्छ र यिनले नै थुप्रै अन्य रोगजन्य जटिलताको सामना गर्नुपर्छ। ‘भेन्टिलेटर’को आवश्यकता यिनै ५ प्रतिशतलाई हुन्छ।
यति बढी प्रतिशत जनसंख्या ‘स्मोकर’ हुनु र संक्रमित मध्ये जम्मा १२ दशमलब ६ प्रतिशत मात्रै कोरोना पीडित हुनुले जीन पियरेको शोधलाइ कता कता पुष्टि गर्छ ।

जीन पियरे चांजेक्स।
यसपछि फ्रान्सबाट यस्तै शोध परिणाम प्राप्त भए । फ्रान्सको पसतेर इंस्टिट्यूट (Pasteur Institute ) ले गरेको अनुसन्धानमा सम्मिलित कुल संक्रमित मध्ये धूमपान गर्नेको संख्या एक चौथाई मात्रै थियो । बाँकीका सबै संक्रमित धूमपान नगर्ने वर्गको प्रतिनिधित्व गर्थे । फ्रान्समा कुल जनसंख्याको झन्डै ३३ प्रतिशत मानिसले चुरोट तान्ने गर्छन् ।
फ्रान्समै भएको अर्को एउटा शोध जुन त्यहाँको सम्मानित चिकित्सा संस्थान ‘पीति सलपेटरी’ ( Pitie Salpetriere ) ले गरेको थियो । यस शोधको परिणाम पनि धूमपान गर्ने कै पक्षमा आयो । संक्रमित मध्ये ‘स्मोकर’को संख्या ५ प्रतिशत मात्रै थियो, बाँकीका ९५ प्रतिशत ‘ननस्मोकर’ हरुलाई नै कोरोनाले आक्रमण गरेको थियो । यी दुवै शोधले पनि जीन पियरेको अनुसन्धानलाइ पुष्टि गर्छन् । हो न हो ,धूमपान गर्नेहरुको फोक्सोमा कार्बन– निकोटिन लगायत विभिन्न खाले कार्बनका अन्य घटकले गरेको फोहोर, मैला, प्रदुषण र दुष्प्रभावको तहले (लेयर ) कोरोनालाइ टास्सिन बाधित तुल्याउँछ ।
तर तपाईँ ‘स्मोकर’ हुनुहुन्छ भने यो पढेर मक्ख नपर्नु होला । संसार भरी भएका यस विषयक शोध अनुसन्धानको अर्को पाटो पनि छ । कोरोना संक्रमित मध्ये झण्डै ५ प्रतिशत व्यक्तिमा संक्रमणको अवस्था गम्भीर एवं खतराको बिन्दुसम्म पुग्छ। यिनलाई नै स्वास फेर्ने लगायत अन्य शारीरिक अंगको व्यथा च्याप्छ र यिनले नै थुप्रै अन्य रोगजन्य जटिलताको सामना गर्नुपर्छ । ‘भेन्टीलेटर’को आवश्यकता यिनै ५ प्रतिशतलाइ हुन्छ । हो तपाईँले लाएको अनुमान ठीक हो, यी ५ प्रतिशत व्यक्तिको फोक्सो धूमपानका कारणले क्षीण, दुर्बल अथवा पूर्णरूपमा कार्य गर्न अशक्त भएको हुन्छ । संक्रमण लागेपछि गम्भीर अवस्थासम्म पुग्नेमा स्मोकरहरुको संख्या ननस्मोकरभन्दा धेरै बढी रहेको पाइयो ।
प्रकृतिको लीला विचित्रकै छ । हुन त लीला भनेपछि विचित्र भन्नु आवश्यक छैन । लीलाले विचित्रताको आशय बोकेकै हुन्छ । स्मोकरहरुलाई कोरोना संक्रमण हुने जोखिम कम छ भने लागेको खण्डमा अवस्था गम्भीर हुनुका साथै प्राणान्त हुने संभावना बढी छ । अर्कोतिर ‘ननस्मोकर’हरुलाई कोरोना संक्रमण हुने जोखिम ‘स्मोकर’ को तुलनामा बढी छ भने यिनीहरुमा संक्रमण सामान्य अवस्थामै सीमित रहने ‘ऐडभान्टेज’ छ ।
जीन पियरेको शोध प्रकाशित भएपछि फ्रान्समा निकोटिनयुक्त च्युंगम र निकोटिन प्याचको बिक्री वितरणमा अंकुश लगाइएको छ । फ्रेन्च सरकारले कुनै पनि व्यक्तिलाई निकोटिनयुक्त उत्पादनको एक महिनामा खपत हुने सीमित परिमाण मात्रै किन्न पाउने निर्देश जारी गरेको छ। अहिले फ्रान्समा यी उत्पादनको बिक्री मेडिकल स्टोरबाट मात्रै हुने र प्रत्येक खरीदकर्ताको नाम रजिस्टर गर्ने व्यवस्था लागू भएको छ ।
संसार कै पहिलो भ्याक्सिन बनाउने वैज्ञानिक जेनर र उनका पूर्ववर्ती वैज्ञानिकहरुलाई सूर्तिको पात बडो सहायक बनेको इतिहासमा पढ्न पाइन्छ । सूर्तिको पातमा लाग्ने एउटा रोगबाटै विषाणु (भाइरस ) बारे समुचित संज्ञान भएको थियो । अब सूर्तिको पात (निकोटीन) विषाणु विरुद्ध प्रयोग हुने चरणमा विज्ञान पुग्न लागेको छ ।
भोलि हुने यस विषयक बृहद अध्ययनले यदि निकोटिन विषाणु विरुद्ध कारगर देखियो भने संसार भरीका फार्मास्युटिकल्स कम्पनीहरुले जैविक– रासायनिक निकोटिनयुक्त उत्पादन प्रारम्भ गर्ने लर्को लाग्ने छ। शायद संसार भरीका सूर्ति उत्पादक कृषकहरुका स्वर्णिम दिन आउँन सक्छन् । अहिलेसम्म हामीलाइ निकोटिनका दुर्गुण र दुर्गुण मात्रै थाहा छन्, के थाहा भोलि आउने दिनहरुमा निकोटिनका सकारात्मक पक्षबारे पनि संसारलाइ ज्ञान हुनेछ र भविष्यमा हुने नयाँ खाले भाइरल इन्फ़ेक्सनका विरुद्ध निकोटिन नै रक्षाकवच बन्ने छ।
(जीन पियरे चांजेक्स (Jean Pierre Changeux) को शोध यहाँ पढ्न सकिन्छ।)

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































