
सिमकोट– लकडाउनका कारण नेपालगंज र सुर्खेतमा अलपत्र परेका सर्वसाधारणहरुलाई शनिबारदेखि हवाई मार्गबाट उद्धार गर्न सुरु गरिएको छ।
उद्धार गरिएका नागरिकलाई कर्णाली प्रदेश सरकारले हवाई टिकटमा ५० प्रतिशत अनुदान दिने भएको छ।
सडक सञ्जाल नजोडिएका कर्णाली प्रदेशका हिमाली जिल्लाका अलपत्र विद्यार्थी र ६० वर्ष माथिका नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत अनुदान दिने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताए। शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
जसका लागि जिल्ला प्रहरी कार्यालयमा ६० वर्ष माथिका नागरिकले नागरिकताको फोटोकपी र विद्यार्थी परिचयपत्र पेश गर्नु पर्नेछ।
नेपालगंजबाट हुम्ला सिमकोटका लागि प्रतियात्रु १० हजार पाँच सय रुपैयाँ टिकट दर रहेको छ। जेष्ठ नागरिक र विद्यार्थी कति छन् भन्ने एकिन भएको छैन। हुम्लामा हवाई मार्गबाट उद्धार गरिने नागरिक ८ सय ९५ जना रहेका छन्।
सडक सञ्जाल नजोडिएका कर्णालीका हुम्ला र डोल्पा जिल्लाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालगंज र सुर्खेतमा बन्दाबन्दीमा अलपत्र नागरिकको हवाई मार्गबाट उद्धार गर्ने निर्णय यसअघि नै गरेको थियो।