विश्व प्रेस स्वतन्त्रता दिवस

प्रेस स्वतन्त्रता, संकटमा पत्रकारिता र मेराे भोगाइ

प्रेस स्वतन्त्रता, संकटमा पत्रकारिता र मेराे भोगाइ
+
-

काठमाडौँ- प्रजातन्त्रको मेरुदण्ड मानिने प्रेस स्वतन्त्रताले वास्तवमा समग्र नागरिक समाजको स्वतन्त्रतासँग सरोकार राख्छ। प्रेस स्वतन्त्रता बिनाको पत्रकारिता कल्पना गर्न सकिन्न। प्रजातान्त्रिक व्यवस्था वैयक्तिक र प्रेस स्वतन्त्रताको हिमायति मानिन्छ। तर त्यो स्वतन्त्रता व्यवधानरहित हुँदैन अक्सर। हाल नेपालसँगै विश्वले नै कोरोना भाइरसको अदृश्य सकंटको सामना गरिरहँदा सक्रिय पत्रकारिताको माग बढेको छ जुन स्वाभाविक हो।

पत्रकारिता आफैमा चुनौतिपूर्ण पेशा मानिन्छ। हरेक दिन जस्तो आउने चुनौति सामना गर्ने अठोटका साथ हामीले यो पेशा अंगालेका हुन्छौँ। सत्य सूचना सकेसम्म चाँडो पाठक, स्रोता या दर्शकसामू पुर्‍याउने हाम्रो पेशागत धर्मबाट हामी कुनै पनि अवस्थामा विचलित हुनुहुन्न। यो आम मान्यता हो पत्रकारका लागि। त्यसअर्थमा  म आवद्ध देशसञ्चारको मान्यता र मेरो व्यवहार फरक हुन सक्दैन। पत्रकारिता र जोखिम सँगसँगै हिँडिरेहका हुन्छन्। विपदका बेला पत्रकारसँग अपेक्षा कम हुनुको साटो झन बढ्छ।

कोरोना भाइरस र यसबाट पीडित तथा प्रभावितका समस्या, त्यसबारे सरकारी निर्णय र त्यसको कार्यान्वयनको अध्ययन र प्रस्तुति अहिले हाम्रा प्राथमिक चासो बनेका छन्। तर यो भाइरसको महामारी अन्य संकट र विपदभन्दा फरक छ। यसबाट बच्न सामाजिक र शारीरिक दूरीसँगै  स्रोतसँग सूचना लिन त्यतिकै जरुरी छ। वास्तवमा यो लकडाउनको शर्त हो।

संकटमा पत्रकारको जिम्मेवारी


कोरोना भाइरसलाई ध्यानमा राख्दै कतिपय सञ्चारमाध्यमले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरे। त्यो घोषणा आफ्नो शारीरिक सुरक्षाका लागि भएपनि विवादरहित थिएन। जुनसुकै परिस्थिति आएपनि सही सूचना समयमै दिने हाम्रो दायित्वलाई के हामी स्वेच्छिक बनाउन सक्छौँ? यो प्रश्न अहिले जीवन्त बनेको छ।

पहिलोपल्ट ठूलो र भिन्न खालको संकट आउँदा कसरी सामना गर्ने? त्यसको खोजी आफैमा गर्नुपर्ने हुन्छ। किनकी त्यसका लागि पूर्वदृष्टान्त हुँदैनन्। ‘लकडाउन’ को चौघेराभित्र रहेर उपाय खोज्नु पर्ने भयो। हामीले आफ्नो सुविधा अनुसार कोही घर, कोही कार्यालय त, कोही ‘फिल्ड’बाट काम थाल्यौँ, सहमतिमा। यस्तो बेला ठूला सञ्चारमाध्यमबाट सूचना प्रवाह बन्द भयो भने परिस्थिति कस्तो होला?

हल्ला (र्‍युमर)को असर के होला आम मनोविज्ञानमा? अनि त्यसको प्रतिक्रिया के होला? त्यस्तो परिस्थिति र समग्र सम्भावनाहरुबीच हाम्रो दायित्व के होला? यी सबै प्रश्नको उत्तर तत्काल सामुन्ने देखा नपरे पनि एउटा सहमतिमा हामी तत्काल पुग्यौँ–हल्ला र भ्रम फैलिन नदिन हामीले आफ्नो कामलाई निरन्तरता दिनैपर्छ।

विश्वभरी कोरोना भाइरस फैलिदै जाँदा नेपाल त्यसबाट अछुतो नरहने आँकलन हामीले सुरुमै गरिसकेका थियौँ। सामूहिक रुपमा कार्ययोजना बनायौँ, लकडाउन घोषणा हुनुपूर्व नै। लकडाउन शुरु भएसँगै हाम्रो टीमले त्यसबाट प्रभावित र त्यसको आशंकामा अन्य स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेकाबारे फिल्डमै पुगेर सम्बन्धित पक्षलाई भेट्ने प्रयासलाई निरन्तरता दियौँ। अक्सर हाम्रो रिपोर्टिङको थलो सडक, स्वास्थ सेवा विभाग र त्यसका विभिन्न महाशाखा, अस्पताल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार, बालुवाटार बन्यो। केहीदिनपछि हामी दैनिक मजदुरी गरेर खानेहरु बसोबास गर्ने क्षेत्रभित्र छिर्‍यौँ।

लकडाउनबाट प्रभावितसँग कुरा गर्दा हामीले सकेसम्म सामाजिक दूरी अपनायौँ। मास्क र स्यानिटाइजरको प्रयोग निरन्तर गरिरह्याैँ। लकडाउनबाट प्रभावित किसानको रिपोर्टिङका लागि उपत्यकाका विभिन्न भेग पुग्यौँ। तर कोरोना भाइरसको महामारीलाई मुख्य विषय बनाएर रिपोर्टिङ गरिरहेका बेला पनि मेरा लागि मेरो मुख्य ‘बिट’ राजनीति र वैदेशिक मामिला चासोको विषय बनिरह्यो।  कोरोना भाइरससँगै सत्तारुढ पार्टीको राजनीतिमा आएको उतारचढावबारे पनि कभर गर्नु पर्ने दायित्व थपियो। २४ सै घण्टा जस्तो सचेत भएर काम गर्नु पर्ने अवस्था सिर्जना भयो।

धम्की आए तर सत्य र तथ्यको खोजीबाट अविचलित 


राजनीतिमा पनि अदृश्य पात्रहरु हुन्छन्, कोरोना भाइरस जस्तै। यता कोरोना भाइरस सम्बन्धी उपकरण खरिदमा सरकार भ्रष्टाचार र अनियमितताको प्रकरणमा मुछियो। यो बीचमा केही धम्की पनि आए। समाचार सच्याउन पटकपटक चेतावनी आए। तर सत्य र तथ्यको खोजीबाट विचलित हुन पत्रकारिताको धर्मले दिँदैन।

हल्ला (र्‍युमर)को असर के होला आम मनोविज्ञानमा? अनि त्यसको प्रतिक्रिया के होला? त्यस्तो परिस्थिति र समग्र सम्भावनाहरुबीच हाम्रो दायित्व के होला? यी सबै प्रश्नको उत्तर तत्काल सामुन्ने देखा नपरे पनि एउटा सहमतिमा हामी तत्काल पुग्यौँ–हल्ला र भ्रम फैलिन नदिन हामीले आफ्नो कामलाई निरन्तरता दिनैपर्छ।

लकडाउन घोषणा गरेकै दिन कोरोना भाइरसको आशंकामा निजी अस्पतालले उपचारमा उपेक्षा गरेपछि सरकारी अस्पतालसँग याचना गर्न पुगेका बिरामीबारे रिपाेर्टिङ गर्‍याैँ। निजी अस्पतालका सञ्चालक आफ्नो बचाउमा उत्रिए। कतिपयले आफू सच्चिनुको साटो समाचारहरु गल्ती भएको अडान लिए। तर सकंटका बेला पनि जनसरोकारसँग सम्बन्धित समाचारले प्रभाव निम्ताउँछ नै। बिरामी र उनका परिवारले समाचारका कारण स्वास्थ्य सेवाको पहुँचमा पुगेको अनुभूति गर्न पाए।

योसँगै कोरोना भाइरसको परीक्षणको दायरा बढाउन आवश्यक थियो। चिकित्सकहरुमा मतभेद थियो। कुन परीक्षणको नतिजालाई सही मान्ने? त्यो वहसलाई अगाडि बढाउन अवसर र जिम्मा हाम्रो पनि थियो। सरकार कोरोना भाइरसको सम्भावित फैलावटप्रति पक्कै पनि चिन्तित भयो। विज्ञहरुको अभिव्यक्ति र आमसञ्चार माध्यममार्फत तिनको प्रसारण र प्रकाशनले मुलुकका सबै प्रदेशमा परीक्षण केन्द्र स्थापना ‘स्वाब कलेक्सन’ तथा ‘स्याम्पल साइज’ बढाउन सरकारलाई सहज भयो।

अहिलेसम्म विश्वका विभिन्न मुलुकहरुको स्थितिसँग तुलना गर्दा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या सानो छ। र, कसैको मृत्यु नहुनु ठूलो उपलब्धि हो मुलुककै लागि। पीपीईलगायत पर्याप्त अत्यावश्यक सुरक्षात्मक व्यवस्था बिनाको यो उपलब्धिका अनेक कारण छन्। सम्भावित संक्रमणबारे पत्रकार र सञ्चारमाध्यमको चेतावनी, बढी संक्रमित मुलुकको अवस्था र त्यसका कारणबारे सरकारलाई उनीहरुले जानकारी दिनसक्दा त्यसले सकारात्मक भूमिका खेलेको बुझिन्छ।

खासगरी सरकारी अस्पतालको कोरोना भाइरसको उपचार सम्बन्धी तयारीमा देखिएका कमिकमजोरीबारे हामीले निरन्तर समाचार प्रकाशन गरिरह्यौँ। बाध्य भएर सरकार मुलुकभरका अस्पतालमा क्वारेन्टाइनसँगै आइसोलेसन वार्डको विस्तार गर्न लाग्यो। मुलुकका हरेक ठूला सरकारी अस्पतालमा २० शय्याको आईसीयु निर्माण सुरु गर्‍याे।

सरकारका यी सकारात्मक कदम उपलब्धिमूलक भएपनि सरकारी संयन्त्रसँग तत्कालै कोरोना भाइरसका संक्रमितबारे सूचना लिनेक्रममा हामीले धेरैनै कठिनाई झेल्नु पर्‍यो। धेरैजसो सरकारी अधिकारीको असहयोग कायमै छ। सूचना माग्दा उनीहरु अहिले पनि भन्छन्, ‘हामीले तपाईँहरुलाई सूचना दिनैपर्छ भन्ने छैन। त्यसैले कर नगर्नुहोस्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आदेश मान्नुपर्ने भन्दै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य कार्यालयले दोस्रो संक्रमितको सूचना १४ घण्टासम्म लुकाउने प्रयास गर्‍यो। संक्रमितको उपचार गरिरहेको अस्पतालका निर्देशकले आफूसमेत सूचनाबाट वञ्चित भएको गुनासो हामीसँग गरे। तेस्रो र चौथो संक्रमितको सूचना पनि ‘होल्ड’ गर्ने प्रयास भयो, सरकारी संयन्त्रबाट। पत्रकारको निरन्तर विरोध र आक्रोश अस्वाभाविक थिएन। त्यसले सकारात्मक नतिजा ल्यायो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा दिउँसो ४ बजे हुने पत्रकार सम्मेलन अगावै संक्रमित थपिएकोबारे आफ्नो वेबसाइटमा राख्न थाल्यो।

केही परीक्षणमा कोरोना भाइरस देखिएपछि स्वतः अर्को समस्या शुरु भयाे उपचार र नियन्त्रणका सशक्त विधिबारे चर्चा हुन थाले। कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री समयमै जोहो गर्न नसकेकोबारे निरन्तर समाचार आइरहे।

पत्रकारका लागि यो अर्को कठिन परिस्थिति


यहीबीचमा ओम्नी इन्टरनेशनलसँग कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरिदका बेला सरकार भ्रष्टाचार र अनियमिततामा मुछिएको प्रमाणजन्य समाचार सञ्चारमाध्यमबाटै सार्वजनिक भयो। सम्बन्धित कम्पनीसँग ठेक्का रद्द गर्न र उसलाई ‘कालो सूची’ मा राख्न सरकार बाध्य भयो। जनस्वास्थ्यसँग खेलवाड गर्नेहरुविरुद्ध कारबाहीमा उत्रिनै पर्ने वाध्यतामा सरकार पर्‍यो, सञ्चारमाध्यमका कारण। अन्यथा जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावको आकार र आयतन कत्रो हुन्थ्यो? कल्पना गर्न सहज छैन।

संकटका बेला जनताको पीडा कम गर्नुको सट्टा सरोकारवालाहरु आफै भ्रष्टाचार र अनियमितामा मुछिनु दुःखद भएको भन्दै त्यसले जनस्तरलाई पनि उद्धेलित गर्‍यो। एकातिर हामीले ‍सर्वत्र स्यावासी पायाैँ भने अर्कोतिर  हामी  भ्रष्टाचार र अनियमितामा नाम मुछिएकाहरुबाट तारो बन्याैँ। सरकार ओम्नी इन्टरनेशनलसँगको मेडिकल सामग्री खरिद सम्झौता रद्द गर्न बाध्य भएपछि स्वास्थ्य क्षेत्रका केही विशिष्ट व्यक्तिले मसँग पनि कुरा गर्न छोडे।

यो प्रकरणपछि मेडिकल सामग्रीको खरिदका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिने निर्णय गर्‍यो। यी लापरवाही र निर्णयहरु सरकारका लाागि महँगो परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २७ गते बसेको आफ्नो पार्टी सचिवालय बैठकमा गोप्य सूचना मिडियामा जान लागेकोमा चिन्ता गर्दै त्यसले सरकारको कामकारबाहीमा समस्या थपिएको भन्दै जथाभावी रुपमा सूचना नदिन नेताहरुलाई निर्देशन मात्रै दिएनन्, आफूखूसी सूचना दिनेहरुको जासुसी निगरानी हुने चेतावनीसमेत दिए।

हाम्रा लागि यो अर्को कठिन परिस्थिति बन्न पुग्यो,सूचनाको स्रोत सुक्न थाल्याे। कोरोना भाइरसको सम्भावित फैलावट, त्यसलाई ध्यानमा राख्दै आवश्यक सामग्री र जनस्रोतबारे कुनै ठोस निर्णयमा पुग्न नसकेको सरकारको ओम्नी प्रकरणपछि सेनालाई मेडिकल सामग्री खरिदको जिम्मा दिनु हतारको निर्णय थियो या बुद्धिमानी? बहस जारी छ अझै पनि। तर राजनीतिक तहमा त्यसको तिब्र विरोध भयो। त्यसैको पृष्ठभूमिमा नेकपा सचिवालय बैठक बसेको थियो।

असामान्य परिस्थितिमा गरिएकाे रिपोर्टिङ


सरकार १५ प्रतिशत रकम स्वास्थ्य सेवा विभागलाई मेडिकल सामग्री खरिदका लागि दिने र बाँकी रकम सेनालाई दिने निर्णय गर्न बाध्य बन्यो, चैत्र २० गते। यो बीचमा लकडाउनले गर्दा दीर्घ रोगका बिरामी नियमित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएकाकाबारे पनि स्टोरी बनायौँ।

रानीबारी एक्लै डेरामा बस्ने र मकै बिक्री गर्ने ज्ञानु भट्टराई, कुपण्डोलमा माछा बिक्री गर्दै आएका सिरहाका दम्पत्ती मोहम्मद आशिक र मदिना खातुन लगायतका मेरा स्टोरीका प्रतिनिधि उदाहरण हुन्, जसलाई आफैले केही सहयोग गर्ने अवसर पनि पाएँ। लकडाउनका बेला यस्ता पात्रलाई भेटेर उनीहरुबारे स्टोरी बनाउँदा चुनौति त थियो नै । तर व्यक्तिगत सुरक्षाका न्यूनतम उपायकाका साथ पीडितको डेरा पुगेर रिर्पोटिङ गर्दा त्यो बढी अर्थपूर्ण बन्थ्यो। सायद बढी सन्तोषजनक पनि। किनकि यी असामान्य परिस्थितिमा गरिएका रिपोर्टिङ थिए।

संकटका बेला सूचना संकलन मात्रै महत्वपूर्ण नहुने रहेछ। स्टोरीका लागि भेटेका पात्रहरुको उद्दार आफ्नो मानवीय धर्मको अंश बन्दो रहेछ। अस्पतालमा अन्यौलमा परेका बिरामी हुन् या सडकमा भोकै रोगले लडेका बिरामी उनीहरुलाई सेवाको पहुँचमा पुर्‍याउन समन्वयकारी भूमिका निर्वाह गर्न सके यसपल्ट पनि।

कसैलाई अस्पतालसम्म ‘लिफ्ट’ दिएर, कसैलाई साथीहरुको सहयोगमा एम्बुलेन्स बोलाएर अस्पताल पठाएर, कसैलाई महिला सेल पुर्‍याएर, कसैलाई आफूसँग भएको रकम दिएर। पीडितको व्यथालाई रिपोर्टिङमार्फत सम्बन्धित चिकित्सकको जानकारीमा ल्याउनु अर्को दायीत्व थियो।

पत्रकारिता र रिर्पोटिङ तत्कालै कुनै नतिजालाई ध्यानमा राखेर गरिन्न। तर सकरात्मक नतिजा आउँदा खुसी लाग्दो रहेछ। भक्तपुर, ललितपुरका खेतबारीमा आफ्नै पसिनाका उत्पादन लकडाउनका कारण सड्दा आँसु झारिरहेका किसानलाई भेटेर उनीहरुको अवस्थाबारे बनाएको स्टोरीको प्रभावस्वरुप भोलिपल्टै कृषिमन्त्री त्यहाँ अनुगमनका लागि पुगे। उनले ती किसानहरुलाई केही न केही राहतको व्यवस्था गर्ने बचन दिएको सूचना फोनमार्फत किसानहरुबाट पाउँदा त्यसले मलाई थप उर्जा दियो।  पत्रकारिताको महत्व र प्रभावबारेमा सोच्न र मनन् गर्न पनि बाध्य पार्‍यो फेरि एक पटक त्यो घटनाले। विगतका कयौँ घटना कोरोना भाइरसकै वरिपरि घुमिरहेका छन्, त्योसँग जोडिएका छन्।

संकटका बेला सूचना संकलन मात्रै महत्वपूर्ण नहुने रहेछ। स्टोरीका लागि भेटेका पात्रहरुको उद्दार आफ्नो मानवीय धर्मको अंश बन्दो रहेछ। अस्पतालमा अन्यौलमा परेका बिरामी हुन् या सडकमा भोकै रोगले लडेका बिरामी उनीहरुलाई सेवाको पहुँचमा पुर्‍याउन समन्वयकारी भूमिका निर्वाह गर्न सके यसपल्ट पनि।

यता लकडाउनलाई निरन्तरता दिने तर सहरका मजदूरका लागि उचित राहतको व्यवस्था नगर्ने सरकारको प्रवृतिका कारण उनीहरुको विवशता चुलिएको थियो। मजदूरहरु सयौँ किलोमिटरको यात्रा पैदलै तय गर्न थाले। एकजना व्यक्तिको धादिङमा पुलबाट खसेर मृत्यु भयो।

यी कारुणिक घटनापछि सरकार आफ्नो नीति परिवर्तन गर्न बाध्य भयो। उसले आफ्नो गन्तव्य पैदलै तय गरेकाहरुलाई जहाँ पुगेका छन् त्यही स्थानीय तहले गासबासको व्यवस्था मिलाउनु पर्ने या सुरक्षित उद्दार गरेर आआफ्नो क्षेत्र पुर्‍याउन निर्देशन दियो।

समाचारकै कारण सरकारले एक घण्टामै आफ्नो निर्णय परिवर्तन गर्न बाध्य भएको अर्को घटना पनि भयो यो बीचमा। चैत २७ गते सरकारले २८ र २९ गते उपत्यकाबाट यात्रुलाई बाहिर जान दिने भन्दै गरेको निर्णय डेढ घण्टामै उल्टायो।  जनस्तरबाट प्रतिकूल प्रतिक्रिया आउन थालेपछि त्यसको दोष पत्रकारलाई दिएर सरकार पन्छिने प्रयासमा लाग्यो। तथ्यको आधारमा सरकार गलत सावित भयो। प्रमाण जुटाउन उपत्यका बाहिरका सडकमा हिँडिरहेका मजदूर, सहरबाट गाउँ फर्किएका युवाको अवस्थाबारे रिपोर्टिङ गर्न हामी विभिन्न ठाउँ पुग्यौँ।

राजनीतिमा अचानक सुरु भएको शक्ति युद्ध


सत्ताप्रधान राजनीतिमा व्यक्तिको जीवन र स्वतन्त्रताभन्दा सत्ताको राजनीतिले प्रधानता पाउँछ नै। त्यही भयो, देखियो मुलुकमा। वैशाख ८ गते सत्तारुढ पार्टीमा विकास भएको राजनीतिले कोरोना भाइरसबाट उत्पन्न संकट ओझेलमा पर्‍यो। प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरे। चर्कोविरोधपछि उनले आफ्नो निर्णय फिर्ता लिए तर उनीप्रतिको अविश्वास कायमै छ।

नेकपाको राजनीतिले यति धेरै उताराचढाव लियो कि ओलीले पार्टी या प्रधानमन्त्री एक पदबाट राजीनामा दिनुपर्ने माग आन्तरिक र सार्वजनिकरुमा उठ्न थाल्यो। महामारीबारे कम चर्चा र चासो देखा परे। सत्ताधारी नेकपा ‘फूट’ को संघारमा उभियो। अन्तत नेता वामदेव गौतमलाई उपयुक्त समयमा उपचुनाव गराई प्रतिनिधिसभामा लैजाने र स्थायी कमिटी बैठक बोलाउनेमा सहमति गरेर नेकपा सचिवालयका असन्तुष्ट नेताहरु थान्किएका छन् शनिबार मात्रै।

यी गम्भीर राष्ट्रिय हलचलका बीच इमान्दारिताका साथ सडकमा उभिँदा मेरो सन्तुष्टि, पेशाप्रतिको निष्ठा र प्रेम अनि जवाफदेहितामा निरन्तर वृद्धि भइरहेको अनुभूति गरेँ। सोच्दैछु, म अर्को पेशामा गएको भए केही रमाउँथेँ? यति सन्तुष्टि हासिल गर्थे आजको यो संकटमा? लकडाउनको यो बीचमा ४ दिन मात्रै घरमा बसेर मैले काम गरेको गरेँ। ‘पत्रकारको दायित्व संकटमा बढ्छ’ भन्ने मान्यताले उर्जा थपिनै रह्यो। संकटपूर्ण अवस्थामा बिदामा बस्ने भन्ने हुँदैन। अधिकांश समय चनाखो रहनुपर्छ।

सकेसम्म फिल्डमै गएर सरोकारवाला या पीडितसँग भेटेपछि मात्रै समाचार या स्टोरी बनाउँदा त्यसले घटनाका सबै पक्षलाई बाहिर ल्याउँछ। निश्चय नै यो काम अहिले जोखिमपूर्ण छ। जोखिमबाट बच्न खासगरी परिवार, शुभचिन्तक र कार्यालयबाटै पनि सुझाव आइरहन्छ, त्यो स्वाभाविक हो। त्यसैले मेरो पत्रकारिता र रिपोर्टङिलाई निरुत्साहित गरेन। बरु पूर्ण सावधानीका साथ आफ्नो कर्म जारी राख्न प्रेरित र प्रोत्साहित गर्‍यो।

कोरोना भाइरस र त्यसले उत्पन्न गरेको संकटको स्वरुप राष्ट्रव्यापी छ। त्यस्तै पत्रकारले पनि त्यही व्यापक आयतनमा काम गर्छ। संकटका बेला प्रेस स्वतन्त्रताको महत्व र दायित्व बढ्छ। हामी पत्रकारहरु त्यो चुनौतिपूर्ण दायित्व निर्वाह गर्ने कलमका विवेकशील सिपाही हौँ।   एउटा ऐतिहासिक अवसर र चुनौतिमा होमिनु पत्रकारका रुपमा मेरो जीवनको एउटा ठूलो अवसर हो।

कोरोना भाइरसले महामारीको रुप लेला या अन्यत्र जस्तो ठूलो क्षति नपुर्‍याई विदा होला नेपालबाट, अहिले भन्न कठिन छ। तर संकटले जिम्मेवारी थप्छ र संकट बचाउन र उपयोग गर्न सकेको स्वतन्त्रता सदा सुरक्षित रहन्छ भन्ने शिक्षा यसले दिइसकेको छ, मैले ग्रहण गरिसकेको छु।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष