
काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले लकडाउन गरेको ४४ दिन पुग्दा मदिरा उत्पादन तथा विक्री पनि ठप्प भएको छ।
लकडाउन अवधिमा सरकारले खाद्यन्न, तरकारी, ग्यास, इन्धन लगायतका अत्यावश्यक वस्तुमा रोक नलगाए पनि कलकारखाना, व्यापार व्यवसाय, उद्योगधन्दा लगायतका सबै क्षेत्र ठप्प छन्।
लकडाउनका समयमा मदिराको उत्पादन तथा खपत शून्य भएको नेपाल मदिरा संघका अध्यक्ष रवि केसीले बताए। उनले सहज दिनमा वर्षको २५ अर्ब अर्थात महिनाको दुई अर्ब रुपैयाँ बराबरको विक्री वितरण हुने गरेको बताए।
उनले भने, ‘लकडाउनभन्दा अगाडि वर्षको २५ अर्ब र महिनाको दुई अर्बभन्दा बढीको विक्री वितरण हुन्थ्यो। तर अहिले उत्पादन र विक्री ठप्प भएपछि करिब एक लाख मजदूर तथा उनीहरुमा आश्रितहरु विचल्लीको अवस्थामा रहेका छन्।’
खैनी, चुरोट र मदिरा लगायतबाट नेपालको राजस्वमा ३५ प्रतिशत र त्यसको आधा मदिराबाट राजस्व जाने उनले बताए। ‘एक सय रुपैयाँको उत्पादनबाट ६० रुपैयाँ सरकारलाई जान्छ’, उनले भने, ‘मुलुकमा ८० मदिरा उत्पादन कम्पनी छन्।’
अहिले यस संकटमा दर्जनौँ मदिरा उद्योग, हजारौँ संख्यामा रहेका विक्री गर्ने डिलरहरु समेत बन्द रहेका छन्।
उनले लकडाउनले गर्दा लाखौँले रोजगारी गुमाउने तथा खर्बौको लगानी डुब्ने खतरा रहेको बताए। उनले भने, ‘कामदारले रोजगारी गुमाए उनीहरुको बिचल्ली हुन्छ। र देशलाई आर्थिक संकट पनि हुन्छ।’
लकडाउनले सिर्जना गर्ने आर्थिक संकटलाई मध्यनजर गर्दै मदिरा उत्पादन संघको संस्था नेपाल पेय पदार्थ संघले सुरक्षाका उपाय अपनाइ र सामाजिक दूरी काय गरी निश्चित समयका लागि मदिरा विक्री कक्षहरु खोल्न केहि दिनअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र बुझाएको थियो।
उनका अनुसार मदिरा विक्री गर्ने खुद्रा पसलमा समेत मदिराजन्य पदार्थ विक्री गर्न रोक लगाएको हुँदा बियर, वाइन लगायतका मदिराजन्य वस्तुहरुको निश्चित उपभोग्य मिति हुने र यी वस्तुको विक्री हुन रोक लगाउँदा ठूलो नोक्सानी बेहोर्नुपर्छ।
यस्तै यस्तो बन्दाबन्दी अवस्थामा अनौपचारिक रुपमा अस्वस्थकर मदिरा अवैध रुपमा उत्पादन भइरहेको उत्पादन संघका एक प्रतिनिधिले बताए। ‘अहिले राहतको चामल, चिनी र यूरिया प्रयोग गरी रक्सी उत्पादन गरिरहेका छन्। त्यसले स्वास्थ्यमा हानी गर्छ’, उनले भने।