काठमाडौँ – लकडाउका कारण देश लगभग ठप्प छ । मानिस घरमै सीमित छन् । काठमाडौँ उपत्यकामा भिडभाड हुने ठाउँहरु सुनसान छन्। मानिसहरुको चहलपहल नहुँदा त्यस्ता ठाउँहरु शान्त छन् ।
लकडाउनका कारण मानिसको चहलपहल नहुँदा प्राणीको एउटा समूह समस्यामा परेको छ जो पूर्ण रुपमा मानिसहरुमा आश्रीत छ ।
पशुपति, स्वयम्भू जस्ता स्थानमा रहेका बाँदरहरु पूर्ण रुपमा त्यहाँ आउने मानिसहरुमा आश्रीत छन् । घुम्न आउने पर्यटकले दिएको खानेकुरा खाएर उनीहरु बाँचेका छन् ।
स्वयम्भूलाई ‘मङ्की टेम्पल’ पनि भन्ने गरिन्छ, जहाँ बाँदरको संख्या धेरै छ । चहलपहल हुँदा घुम्न आउने पर्यटकले दिएको वा खोसेर खाइरहेका देखिन्थे । यतिबेला बाँदरहरु रुखको पात तथा फूल खाइरहेका देखिन्छन् । शितलमा बसेर एक अर्काको जुम्रा मारिरहेका हुन्छन् ।
विभिन्न संस्था तथा व्यत्तिहरुले ल्याएको थाहा पाए भने उनीहरु कुद्दै आउँछन् र वरिपरी झुम्मिन्छन् । व्यक्तिगत तर्फबाट र विभिन्न संस्थाहरुले हरेक दिन जसो बाँदरसँगै कुकुरहरुलाई पनि खाना दिने गरेका छन् ।