
सिमकोट – हुम्लामा ६ दिन अगाडि रहस्यमय रुपमा मृत्यु भएकी शान्ती थापाको हत्या भएको र त्यसमा श्रीमानकै संलग्नता रहेको अभियोगसहित किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयमा किटानी दर्ता भएपछि शवको पोष्ट मार्टम गरिएको छ ।
यसअघि थापाको मृत्युमा श्रीमानको संलग्नता रहेको कुनै प्रमाण नदेखिएको भन्दै किटानी जाहेरी गर्न नमानेको प्रहरीले माइती पक्षका महिलाको आन्दोलनपछि मंगलबार बेलुका श्रीमान जुनबहादुर थापाको नाममा किटानी जाहेरी लिएको हो । त्यसपछि शवको पास्ट मार्टम भएको मृतकका मामा नन्द रावतले बताए ।
सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ दुल्लीकी २४ वर्षकी थापाको वैशाख २५ गते रहस्यमय तरिकाले मृत्यू भएको थियो । २७ गते घटना स्थलबाट शव सदरमुकाम सिमकोट ल्याइएको थियो । घटनास्थल सदरुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्छ ।
मृतकका घरपरिवारका सदस्यले कहिले देउता लागेको, कहिले प्यारालाईसिस त कहिले स्तनमा देखिएको समस्याले मृत्यु भएको बहाना गर्न थालेपछि आशंका बढेको माइती पक्षको आरोप छ । किटानी जाहेरीपछि प्रहरीले जुनबहादुर थापालाई पक्राउ गरेको छ ।