लकडाउनले निम्त्याउने खतरा झन् ठूलो!

लकडाउनले निम्त्याउने खतरा झन् ठूलो!
+
-

केही दिनपहिला विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्कर्ष आउन बाँकी नै रहेको चेतावनी दिएको थियो। यसै सन्दर्भमा भारतको ‘अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्स’ (एम्स) का निर्देशक डाक्टर रणदीप गुलेरियाले भारतमा कोरोना प्रकोप जुन/जुलाई महीनामा अझ व्यापक फैलिने खबरदारी गरेका छन्।

डाक्टर गुलेरियाको चेतावनी तथ्यमा आधारित छ। भारतमा अहिलेसम्म कोरोना संक्रमित संख्या ७० हज़ार नाघेको छ। भारतमा पछिल्ला केही दिनमा संक्रमित हुनेको संख्यामा तीव्र वृद्धि भइरहेको छ। गएको केही दिनदेखि त्यहाँ दिनहुँ ३ हजारभन्दा बढी संक्रमित देखा परिरहेका छन् विगत तीन दिनमै यो संख्या दस हज़ार भन्दा बढी छ।

भारत सरकारले दुई चरणको ‘लकडाउन’मा कडीकडाउ गरेकै हो। १ सय ३५ अर्ब जनसंख्यालाई करले वा ‘कर जोडेर’ घरमै थुनिन बाध्य गरेको सर्वविदित नै छ। तर तेस्रो चरणको ‘लकडाउन’मा समस्त देशलाई बन्धकी बनाई राख्न उचित थिएन, व्यावहारिक पनि थिएन र सम्भव पनि थिएन।

बिहार सरकारका मुख्यमन्त्री नितीश कुमारका अनुसार ३०-३५ लाख बिहारी श्रमिक ‘लकडाउन’का कारण अन्य राज्यमा फसेका छन्। महाराष्ट्र सरकारका एकजना मन्त्रीका अनुसार उत्तर प्रदेश राज्यका झण्डै ३० लाख श्रमिक मुम्बईमा मात्रै छन्, सम्पूर्ण महाराष्ट्रमा यिनको संख्या थप १५-२० लाख हुनसक्छ। सम्पूर्ण भारतमा आफ्नो गृहराज्य छाडी अर्को राज्यमा गई आजीविका कमाउने श्रमिक वर्गको संख्या ३ करोड ‘प्लस’ रहेको अनुमान छ। यसैगरी भारतबाट कमाइ गर्न विदेश गएकाहरुको संख्या झण्डै १ करोड २० लाखको हाराहारीमा रहेको छ । यसमध्ये झण्डै ६०- ७० प्रतिशतले स्वदेश फर्किने गुहार लगाइरहेका छन्।#

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक ‘लकडाउन’ घोषणा गरे पनि यसपटक भने देशभित्र धेरै किसिमका गतिविधि गर्न सकिने छुट दिएको थियो। ‘जान है तो जहान है’ भन्ने लोकोक्तिलाई परिमार्जित गरी ‘जान भी जरुरी जहान भी जरुरी’ बनाउनुको कुनै विकल्प थिएन प्रम मोदीसँग।

तेस्रो चरणको ‘लकडाउन’ मा मोदीको केन्द्रीय सरकारले राज्य सरकारलाई अन्य राज्यमा फसेका आफ्ना नागरिक ल्याउने छुट दिएको छ। यसका लागि स्पेशल रेल सेवा सञ्चालनमा ल्याइएको छ। केन्द्र सरकारले श्रमिक वर्गसँग भाडा नलिने निर्देश दिँदै ८५% केन्द्र सरकारले र बाँकीको १५ % राज्य सरकारले ब्योहर्ने मापदण्ड तय गरिएको छ।

यो लेख लेख्दासम्म विभिन्न राज्यबाट ४ सय ५० भन्दा बढी रेल मार्फत ५ लाखभन्दा बढी प्रवासी श्रमिक आफ्नो गृहराज्य फर्किसकेका छन्, अन्य लाखौँ फर्किने पर्खाइमा छन्। ८ मईदेखि यता भारतका विभिन्न एयरपोर्टमा विदेशबाट दैनिक रूपमा दसौँ हज़ार मानिस ओर्लिरहेका छन्। भारत सरकारले विदेशबाट आफ्ना नागरिक फिर्ता ल्याउने काममा पानी जहाज पनि सञ्चालनमा ल्याएको छ। अबको डेढदुई महिनाभित्र भारतमा लाखौँलाखको संख्यामा ‘इन्टरस्टेट’ आवागमन एवं ‘इन्टरनेशनल’ आगमन हुनेछ।

‘बाँच्नु नै सबथोक होइन, बाँच्नलाई पनि सबथोक चाहिन्छ’, यस यथार्थसँग कसको नै विमति होला। अन्ततः डेढ महिना लामो विश्रामपछि १२ मईदेखि भारतीय रेल सेवा पुनः सञ्चालनमा ल्याइएको छ। यसअन्तर्गत जो कोही सर्व साधारणले पनि रेल यात्रा गर्न सक्छन्। वर्तमान परिस्थितिमा दैनिक १५ वटा रेल सञ्चालनमा ल्याइएका छन्। आशय स्पष्ट छ- १२ मईदेखि भारतमा नागरिकहरुलाई एक स्थानबाट अर्को स्थान जाने अनुमति प्रदान गरिएको छ।

अब एकपटक ‘एम्स’का डाक्टर गुलेरियाको चेतावनी स्मरण गरौँ। उनले कुनै भविष्यवाणी गरेका होइनन्, उनी ज्योतिषी होइनन्। सम्पूर्ण रूपमै मुलुक ‘लकडाउन’ हुँदा कोरोना संक्रमितको संख्या केही सयबाट ७० हजार नाघेको छ भने देशभित्र सुचारु गरिएको आवागमनले संक्रमणको विस्फोटक स्थिति हुने आँकलन गर्नु जटिल कार्य होइन। सहज अनुमान गर्न सकिन्छ- प्राकृतिक रूपमै भाइरस आफैँ कमजोर वा समाप्त नभए जून/जुलाईसम्म भारतले संक्रमण फैलिने मामलामा अमेरिकालाई उछिन्ने छ।

प्रश्न गर्न सकिन्छ- भारत सरकारले थाहा हुँदाहुदै ‘लकडाउन’मा व्यापारिक गतिविधि गर्ने अथवा आवागमन खुकुलो बनाउने अनुमति किन दिएको होला?

विभिन्न एजेन्सीहरुले गरेको अनुमान एवं सर्वेक्षण अनुसार कोरोना प्रकोप शुरू भए यता विश्वका झण्डै १ अर्ब ६० करोड जनाले रोजगार गुमाइसकेका छन्। अबको २-३ वर्षसम्म धेरै किसिमका उद्योग र व्यवसायलाई ‘सरभाइभ’ गर्न गाह्रो हुन्छ।

यी उद्योग-व्यवसायसँग सम्बधित अथवा आश्रित जनशक्ति बेरोजगार हुन्छ। भारतमा मात्रै ‘लकडाउन’ र कोरोना कहरले झण्डै १५ कोड रोजगारी गुमिसकेको अवस्था छ र यो क्रम अझ बढ्ने सम्भावना रहेको छ। यस्तो अवस्थामा सरकारले ‘लकडाउन’भित्र विभिन्न आर्थिक गतिविधि गर्न दिनु बाहेक अरु के नै विकल्प हुनसक्छ?

एक तथ्यांक हेरौँ- अहिलेसम्म (यो लेख लेखिरहँदासम्म) विश्वमा कोरोना संक्रमितको संख्या ४२ ,९८,८७१ पुगेको छ। विश्वभरि संक्रमणबाट मर्नेहरुको संख्या २,८९ ,२४८ रहेको छ। संक्रमित हुने मध्येबाट मृत्यु हुनेहरुको विश्वव्यापी प्रतिशत ६ दशमलब ७३ रहेको छ। भनाइको अर्थ १०० जना संक्रमित मध्ये ६ दशमलब ७३ जनाको विश्वव्यापी रुपमा मृत्य भएको छ। यो सम्पूर्ण विश्वकै तथ्यांक हो। भन्न सकिन्छ कोरोना भाइरसको विश्व्यापी ‘मोर्टेलिटी’ रेट ६ दशमलब ७३ रहेको छ। कोरोना भाइरसको ‘मोर्टेलिटी’ रेट बढ्नुमा ( ६ दशमलब ७३ पुग्नुमा) यूरोपियन देशहरुको ‘मोर्टेलिटी’ रेट बढी भएकाले हो। मृतक संख्या बढी भए पनि अमेरिकाको ‘मोर्टेलिटी’ रेट बढी होइन।

तथ्यांकले देखाउँछ – अमेरिकाका कुल संक्रमित (लेख तयार पारिरहँदा) १३,८५ ,८३४ मध्ये ८१,७९५ को मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसको ‘मोर्टेलिटी’ रेट ५ दशमलब ९ रहेको छ। तर यूरोपमा कोरोनाको ‘मोर्टेलिटी’ रेट अन्य महादेशको तुलनामा अधिक रहेको छ। बेल्जियममा ‘मोर्टेलिटी’ रेट १६ दशमलब २ % (५३,४४९ संक्रमित र मृतक ८,७०७ ), फ़्रांसमा १५ दशमलब ०१ % (१,७७,४२३ संक्रमित र मृतक २६,६४३), इंग्लैंडमा १४ दशमलब ३७ %(२,२३,०६० /३२,०६५ ), इटालीमा १३ दशमलब ९८ % (२,१९,८१४/ ३०,७३९), निदरलैन्डमा १२ दशमलब ७५% (४२,७८८ /५,४५६ ) , स्पेनमा ९ दशमलब ९७ %(२,६८,१४३ /२६,७४४ ) रहेको छ।

यूरोप बाहेक कोरोना भाइरसको ‘मोर्टेलिटी’ रेट ३% को हाराहारीमा रहेको छ। जर्मनीमा कोरोनाको ‘मोर्टेलिटी’ रेट ४ दशमलब ४३% (१,७२,५७६ /७,६६१), उत्पत्ति स्थल चीनमा ५ दशमलब ५८ % (८२,९१९ /४,६३३) ,भारतमा ३ दशमलब २३ % (७०,८२७ /२,२९४ ), टर्कीमा २ दशमलब ७४% (१,३९,७७१ /३,८४१ ), रूसमा ० दशमलब ९१ %(२,३२,२४३ /२,११६ ) छ।

वैज्ञानिक अनुसन्धानबाट प्रष्ट भइसकेको छ कोरोना भाइरसबाट संक्रमित हुने मध्ये ५ % व्यक्तिमा मात्रै संक्रमण गम्भीर रूपसम्म पुग्छ। यिनैलाई सघन चिकित्साको आवश्यकता पर्छ, बाँकीका ९५ % व्यक्ति चिकित्सा बिनै स्वस्थ हुन्छन्। जति जति समय बित्दै जान्छ, कोरोना लागेर गम्भीर अवस्थासम्म पुग्ने र मृत्युवरण गर्नेको प्रतिशतमा ह्रास आउँदै जान्छ। मानिस मानसिक रूपमा यस भाइरसप्रति ‘यूज्ड टू’ हुँदै जान्छन्।

कोरोना संक्रमण जारी छ। यो अझै उत्कर्षमा पुग्छ ,यसमा कुनै विवाद छैन। विश्वव्यापी ‘मोर्टेलिटी’ रेट ६ दशमलब ७ % रहेकोमा संक्रमण लागेर स्वास्थ्य लाभ गर्नेको (रिकभर हुने ) संख्या झण्डै ३६ प्रतिशत रहेको छ । र, ‘रिकभर’ हुनेको प्रतिशत दिन प्रतिदिन बढ्दै गइरहेको छ। दुबै परिस्थितिको विश्लेषण गर्दा (‘लकडाउन’ र कोरोना कहर) ‘लकडाउन’ ले निम्त्याउने खतराको ग्राफ ‘कोरोनाखतरा’ भन्दा निकै माथि छ। विश्व्यापी रूपमा ५० प्रतिशतले रोजगारी गुमाउने संकेत स्पष्ट रूपमै देखिसकिएको छ। यसले गर्दा बेरोजगारी, भोकमरी, सामाजिक अपराध, लूटपाटको जुन महामारी फैलिने संकेत देखापरेका छन्, यो कोरोनाको महामारीभन्दा धेरै, धेरै नै हानिकारक सिद्ध हुनेछ।

वैज्ञानिक अनुसन्धानबाट प्रष्ट भइसकेको छ कोरोना भाइरसबाट संक्रमित हुने मध्ये ५ % व्यक्तिमा मात्रै संक्रमण गम्भीर रूपसम्म पुग्छ। यिनैलाई सघन चिकित्साको आवश्यकता पर्छ, बाँकीका ९५ % व्यक्ति चिकित्सा बिनै स्वस्थ हुन्छन्। जति जति समय बित्दै जान्छ, कोरोना लागेर गम्भीर अवस्थासम्म पुग्ने र मृत्युवरण गर्नेको प्रतिशतमा ह्रास आउँदै जान्छ। मानिस मानसिक रूपमा यस भाइरसप्रति ‘यूज्ड टू’ हुँदै जान्छन्।

वास्तवमा मोदी सरकारले कोरोनाको आपत्‌ स्वीकार गरिसक्यो। यससँग लुक्ने, भाग्ने उपायको सट्टा जुध्ने नीति अख्तियार गरेको भन्न सकिन्छ। जति बढी मानिस कोरोना संक्रमित हुन्छन्, त्यति नै बढी मानिस संक्रमण लागेर त्यसबाट पार पाउँछन्। संक्रमण लागेर जति बढी मात्रामा स्वास्थ्य लाभ गर्नेको संख्या थपिँदै जान्छ, सामान्यजनमा कोरोना संक्रमणप्रति त्यति नै बढी मात्रामा आत्मविश्वास बढोत्तरी हुन्छ। कुनै पनि भाइरस कहिले पनि निमिट्यान्न हुँदैन। वातावरणमा जुनसुकै भाइरसको अस्तित्व रहेकै हुन्छ। हो, विस्तारै मानिस जाति त्यसप्रति ‘इम्यून’ हुँदै जान्छ। यो पनि यथार्थ हो- यस क्रममा धेरैले मृत्युवरण पनि गर्छन्। यो विकासवादकै प्रक्रिया हो-‘सर्भाइभल अफ द फिटेस्ट।’ भाइरससँग लडेर विजित हुने बाँच्छन् र उनको जिजीविषाले अन्य धेरैका लागि ‘क्याटेलिक एजेन्ट’को काम गर्छ।

नेपालका सन्दर्भमा वास्तवमा देशव्यापी ‘लकडाउन’को कुनै अर्थ र उपयोगिता थिएन। पटकपटक गरी थपिएको ‘लकडाउन’ सरकारको निकम्मापनको नमूना मात्रै हो। महिनौँको ‘लकडाउन’ पछि पर्सा जिल्लामा (६४ ) ,उदयपुरमा (३२), कपिलवस्तुमा (२९), बाँकेमा (३०) रुपन्देहीमा (१६) संक्रमित देखिनुमा भारतकै सम्बन्ध प्रमुख कारण हो। ‘लकडउन’को अवधिमा भारतबाट भित्रिने व्यक्तिले नै कोरोना बोकेर आएका हुन्। महीनौँदेखि ‘लकडाउन’को अवान्छित कैद भोगिरहेको आम नेपालीले  सरकारसँग प्रश्न गर्न मिल्दैन र, हामी थुनिने र सरकारले बोर्डरको आवागमन पनि रोक्न नसक्ने? सरकारमा बसेका महोदयहरु, अब भारतमा यातायात सुचारु भइसक्यो। अब नेपालमा संक्रमित व्यक्तिको प्रवेश झन तीव्र हुन्छ। अहिलेसम्म नेपालमा जम्मा १९ वटा जिल्लाका २१९ जनामा देखिएको संक्रमण भोलिका दिनमा अझै विस्तार होला, ४०-५०-६० जिल्लामा पुग्ला! संख्या पनि हजारौँ पुग्ला। तथ्यांकले चिच्च्याई -चिच्च्याई हामी सबैलाई भनिरहेको छ, नेपालमा विदेशबाट कोरोना भित्रिनेमा काठमान्डूका ५ जना ,बाङलुङका  २ जना थिए। यिनीबाट अन्यमा संक्रमण सरेन। यी ५ जना नै स्वास्थ्य लाभ गरी घर पुगिसकेका छन्। बाङलुङका २ जना पनि निको भइसकेका छन्। अन्य सबै कोरोना संक्रमित व्यक्ति नेपालले ‘लकडाउन’ गरेपछि भारतबाट नेपाल आएका हुन् र यिनै व्यक्तिबाट अन्य व्यक्ति संक्रमित भएका हुन्। आखिर ‘लकडाउन’को उपयोगिता के रह्यो? सरकार एकपछि अर्को ‘लकडाउन’ थप्दै गइरहेको छ। बैशाख ३० गते ५७ जना नयाँ संक्रमित देखिए, सरकारले अझै ‘लकडाउन’ थप्ने निहुँ पायो। यस्तो लाग्छ- नेपाल सरकार ‘लकडाउन’ थपेर रमाउन /मौज गर्न चाहन्छ। नेपाल सरकारलाई कुनै परामर्श दिनु अथवा सरकारसँग कुनै किसिमको संवाद गर्ने पहल गर्नुभन्दा भित्तोसँग मुखातिब भएर प्रलाप गर्नु धेरै श्रेयस्कर छ।

म आम नेपाली जनसमुदायसँग आग्रह गर्छु- तपाईँहरुले कोरोनासँग कुनै किसिमको भय मान्नु पर्दैन। सरकारले फेरि पनि ‘लकडाउन’ थप्यो भने तपाईँहरु उल्लंघन गर्नुस्। अहिलेसम्म नेपालमा देखिएका १ सय ९१ जना संक्रमितमध्ये ३३ जना निको भइसकेका छन्। अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन। नेपालमा कोरोना भाइरसको ‘मोर्टेलिटी’ आजसम्म जिरो छ। हामी कहाँ वर्षेनी हजारौँ मानिस सर्पले टोकेर, लामखुट्टेले टोकेर, झाड़ापखाला लागेर मर्ने गर्छन्। कोरोना रुघा खोकी लगाउने एउटा भाइरस हो ,कसैकसैमा यसको संक्रमण गंभीर हुनसक्छ। गम्भीर हुनुको अर्थ उनीहरुलाई चिकित्सा र चिकित्सकको आवश्यकता पर्नसक्छ।

नेपालमा अहिलेसम्म कति जनाको नै संक्रमण परीक्षण भएको छ ? मंगलवार बैशाख ३० गते बेलुकासम्मको तथ्यांक अनुसार नेपालमा जम्मा १७,८२१ जनामा कोरोना संक्रमणको परीक्षण गरिएको छ। यसमध्ये २१७ जनाको रिपोर्ट ‘पोजिटिभ’ आएको छ। यतिका लागि मुलुकलाई पुरै ‘लकडउन’ गरेर मुलुकको वर्तमान र भविष्य दुबैलाई बर्बाद पार्नु कुनै हिसाबले न्यायोचित हुन सक्दैन। नेपाल सरकारले केही गर्दैन। यसलाई आफ्नै दलभित्रको दलदल एवं खिँचातानमै रमाउन दिउँ। हामी नागरिक आफैँ नै कोरोनासँग र आफ्नो आजीविकासँगको युद्धका लागि स्वयं नै तत्पर बनौँ।

आउने केही दिनभित्र नेपालमा संक्रमित हुनेको संख्या अझ बढ़न सक्छ। यसबाट कसैले ‘प्यानिक’ हुने आवश्यक छैन। म गगन थापा लगायत परीक्षण तीव्र गर्नु पर्ने मांग गर्ने महानुभावको आलोचना गर्छु। बिचराहरुलाइ राजनीति गर्नु /विरोध गर्नु बाहेक केही अरु आउँदैन। रुघा खोकीबाट अशक्त भएका मानिस, कोरोना संक्रमित पुष्टि भएको व्यक्तिको संपर्कमा आएका मानिस बाहेक कसैको परीक्षण गर्नु आवश्यक छैन । काठमाण्डूको सनसिटीमा देखिएका संक्रमित व्यक्ति र बूढ़ानीलकण्ठमा देखिएकी संक्रमित महिलाको केसले १४ दिने ‘क्वरेन्टीन’को पनि कुनै अर्थ छैन। यी दुबै केसमा २८-३० दिन पछि संक्रमणको लक्षण देखा परेको थियो।

मेरा पाठकले यो तथ्यांक हेरेर पनि आफ्नो आत्मविश्वास मजबूत गर्न सक्छन्। गत २४ घंटामा विश्व भरी कोरोना संक्रमणका ६६,९७४ नयाँ केस पुष्टि भएका छन्। यसै अवधिमा मृतक संख्या ३,७६८ रहेको छ । र, यसै अवधिमा ३०,२९८ जना संक्रमणबाट ‘रिकभर’ भएका छन । नयाँ संक्रमित संख्याको झण्डै ४५ प्रतिशत ‘रिकभरी’ भएको छ । हाइड्रोक्सोक्लोरोकविन, रेमेडेसियर, प्लाज्मा थेरापीलगायत कुनै पनि औषधि अथवा चिकित्सा पद्धति (हालै विकसित भएको ‘मोनोक्लोनल एंटीबडी’) संक्रमण विरुद्ध ‘नहुनुमा कानो मामा’ मात्रै हुन्। अहिलेसम्म संक्रमण लागेर निको भएका १५,४७,२७४ जना औषधिले होइन, आफ्नै प्रतिरोधक क्षमताले निको भएका हुन्। बाग्लुंगकी ६५ वर्षीया हज़ूर आमा कुनै औषधि सेवन नगरी नै स्वस्थ हुनु भएको ( अन्य ३० जना पनि ) प्रमाण हाम्रो सामु छ।

मैले यो सबै वृतांत लेख्नुको एकमात्र आशय यति नै हो – प्रकृतिमा कोरोनाको उतपत्ति भइसकेको छ ,यसको विनाश संभव छैन। पृथ्वी वासीले अब कोरोनासँग लडेर/जुधेर नै बाँच्नुपर्ने हुन्छ। अहिले विश्वमा देखिएको यसको ‘मोर्टेलिटी’ रेट (६ दशमलब ७ ) विस्तारै घट्दै जान्छ। यस विरुद्धको सफल भ्याक्सिन नबनेसम्म र संसारका सबैजनाको पहुँचमा नपुगेसम्म कोरोना भाइरससँग हातेमालो गरेर बाँच्नुको कुनै विकल्प छैन। विस्तारै यसको ‘मोर्टेलिटी’ रेट १-२ % मा सीमित हुन्छ। तपाईँलाई अझ गूढ़ रहस्य भनौँ- प्रकृतिको विकासक्रमको यात्रामा जन्मिएका परजीवीहरुको मारक क्षमता (प्रारम्भमा बढी भए पनि) सीमित हुन्छ, यो बढी हुन सक्दैन। यो नै प्रकृतिको ती परजीवीलाई बचाइराख्ने ‘म्याट्रिक्स’ हो। कारण परजीवीले आफ्ना आश्रय दाताको निर्मम संहार गरेको खण्डमा परजीवीको आफ्नै अस्तित्व सखाप हुन्छ। २ वर्षभित्र नै कोरोना भाइरस रुघा मर्कीका अन्य भाइरस झै सामान्य बनेर ( मानिसको यस विरुद्ध विकसित भएको ‘इम्युनिटी’का कारण ) पृथ्वीको वातावरणमा आफ्नो ‘बायोमास’ राखी राख्नमा संकुचित हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?