
काठमाडौँ– कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ।
चीनको होङ्जुबाट १० कन्टेनर स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै स्थलमार्गबाट शनिबार काठमाडौँ आइपुगेकाे हाे।
सरकारले ओम्नी समूहसँग गरेको स्वास्थ्य सामग्री खरिद सम्झौता विवादमा परेपछि उक्त सम्झौता रद्द गर्दै सरकारले जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो। सरकारले उक्त स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।
सोही प्रक्रिया अन्तर्गत चीनसँग खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार चीनसँगको खरिद सम्झौता अन्तर्गत ३ सय ४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइने छ।
प्रवक्ता पाण्डेका अनुसार केही सामग्रीहरु हवाई मार्गबाट पनि ल्याउने तयारी भएको छ। त्यसका लागि नेपाल वायुसेवा निगमको विमान सोमबार चीनको ग्वान्जाओ जानेछ।