
काठमाडौं-लकडाउन भएको दुई महिना बितिसक्दा बजारमा इन्टरनेट उपकरणको चरम अभाव हुन थालेको छ। इन्टरनेट सेवा सेवाप्रदायकहरुले स्टक गरेको उपकरण सहिएपछि इन्टरनेट सेवाको मर्मतसम्भारमै कठिनाइ देखिन थालेको हो ।
इन्टरनेट सेवाप्रदायक भायनेटका प्रमुख विनय बोहोराले दुई महिना भन्दा बढी लकडाउनले इन्टरनेटसँग सम्बन्धित उपकरण आयात नहुँदा आफूहरुसँग रहेको स्टकसमेत सबै सकिएको बताए। उनले देश सञ्चारसँग कुरा गर्दै भने, ‘ हामी पनि लकडाउनकै कारण राउटर, सेटटप बक्स, डिस्ट्रिब्युसन केबल, लगायतका उपकरण स्टक समेत कसियो। अब भने अभाव हुन थालेको छ। कसरी चलाउने हामीलाई नै थाहा छैन।,’ उनले भने ।
यस्तै ठूलो लकडाउन सुरु भएयता उपकरण आउन नपाएपछि आफूहरु पनि उपभोक्ताको गाली खान बाध्य भइरहेको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका सीईओ केशव नेपालको भनाइ छ।
उनी भन्छन्, ‘हामीसँग पनि अब एक महिना जतिको स्टक मात्र बाँकी छ। त्यसपछि त हाम्रो पनि हालत उही हो। प्रयोगमा नरहेका इन्टरनेट लाइन र उपकरणलाई पुनः प्रयोग गरेर भए पनि समस्यालाई टार्ने प्रयास गरिरहेका छौं।’ उनले इन्टरनेटको उपकरण सामग्री एयरलिफ्ट मार्फत ल्याउने प्रयास समेत जारी रहेको बताए।
यता, इन्टरनेटको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले लकडाउनले इन्टरनेट र टेलिोफन लगायतमा औपचारिक तथा अनौपचारिक गुनासो आउने क्रम दिनप्रदनि बढ्दै गएको बताए।
उनले भने, ‘उपभोक्ताबाट लाइन काटिएको, इन्टरनेट स्लो भएको र समयमा मर्मत सम्भार नभएको जस्ता गुनासो आउन थालेका छन्। हामी पनि यसबारे कसरी समस्या सधाधान गर्न सकिन्छ भनेर छलफल गरिहरेका छौ।’
यस्तै इन्टरनेट सेवा प्रदायकहरुले चीन तथा हङकङमै रोकिएको सेवाप्रदायकहरुको गुनासो गरेका छन्। तर नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने सेवाप्रदायकको तर्फबाट त्यस किसिमको कुनै अनुरोध नै नआएको बताए।
उनले भने, ‘मेडिकल सामग्री र औषधी सबै चार्टर विमानबाटै आइरहेका छन्। सेवाप्रदायकहरुले पनि त्यसैगरी विमान चार्टर गरेर आवश्यक उपकरण ल्याउन सक्छन्। त्यसका लागि उहाँहरुबाट कुनै किसिमको अनुरोध आएको खण्डमा सहजीकरणका लागि हामी तयार नै छौं ।’
अध्यक्ष खनालले एकल कम्पनीको रुपमा विमान चार्टर गर्न मुस्किल भएको खण्डमा इन्टरनेट सेवाप्रदायक नेपाल (आइस्पान) मार्फत संयुक्त रुपमा आउन सुझाव समेत दिए ।
यस्तै आइएसपानका अध्यक्ष भोजराज भट्टले भने इन्टरनेट सामग्रीमा भन्सार छुटमा सरकारले सहयोग गर्नु पर्ने बताएका छन्। उनले भने, ‘ हामीले यो लकडाउनमा आर्थिक मारमा परेका छौ। इन्टरनेट उपकरणमा पनि सरकारले भन्सार छुट दिए उपयुक्त हुनेथियो।’