
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक मंगलबार दिउँसो चार बजे बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुटारमा बैठक बस्ने गरी बोलाएका हुन् ।
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर विवाद चुलिएका बेला सो विवाद टुंग्याउने प्रयास स्वरुप सचिवालय बैठक ओलीले बोलाएका हुन् ।
नेकपाका असन्तुष्ट शीर्ष नेताहरुले ओलीले पार्टी बैठकबाट एमसीसीका सम्बन्धमा ठोष निर्णय लिने सहमति भए पनि त्यसविपरित सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमसीसी समावेश गरेको र त्यो आफूहरुलाई मान्य नहुने अडान लिएपछि अर्थमन्त्री युवराज खतिवडाले हालै एमसीसी अनुमोदन नभएसम्म त्यसको कार्यान्वयन प्रक्रिया अघि नबढाउने जानकारी संसदबाट गराएका थिए।
पार्टी उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली छिटोभन्दा छिटो एमसीसी संसदबाट अनुमोदन गराउने रणनीतिमा हुनुहुन्छ। तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न नदिने अडान नेताहरुले दोर्होयाएपछि ओली बैठकबाटै त्यो समाधान होस् भन्ने पक्षमा उभिनु भएको हो।’
तर असन्तुष्ट शीर्ष नेताहरुले एमसीसीका मामिलामा निर्णय लिन सचिवालय बैठक मात्रै पर्याप्त नहुने भएकाले स्थायी कमिटीको बैठक पनि तुरुन्त डाक्न ओलीलाई दबाब दिएको बुझिएको छ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले एमसीसीलगायत अन्य समसामयिक विषयमा छलफल गर्न सचिवालय मात्रै नभई स्थायी कमिटी बैठकको पनि माग निरन्तर उठाइरहेको बताए।
उनकै संयोजकत्वमा पार्टीद्धारा गठित अध्ययन कार्यादलका सदस्य भीम रावल पनि विद्यमान स्थितिमै एमसीसी संसदबाट अनुमोदन गर्न नहुने पक्षमा उभिएका छन् । तर कार्यदलका अर्का सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमसीसी हालकै अवस्थामा अनुमोदन हुँदा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रियहितमा आँच नआउने अडानमा छन् ।