इन्फोमेडिकको आतंक- डर के आगे जित है

इन्फोमेडिकको आतंक- डर के आगे जित है
+
-

साहित्यप्रेमी पाठकलाई मभन्दा पनि स्पष्ट तवरले थाहा होला, शेक्सपियरले कुनै कृति लेख्दा शीर्षकबारे चित्त बुझ्दो ढंगले केही निर्णय गर्न नसक्दा त्यस कृतिको नाम ‘एज यू लाइक इट’ राखी दिएका थिए। ठिकै गरे उनले, आखिर कुनै पनि कुरा लेख्दा त्यसबारेका सबै फैसला गर्ने अधिकार लेखकको हातमा नभएर पाठककै विवेकमा निर्भर गर्छ।

अति त्रासदपूर्ण वर्तमान भोगिरहेको हाम्रो पुस्ता सामु शेक्सपियरको ‘एज यू लाइक इट’ तीक्त यथार्थका रुपमा यत्रतत्र सर्वत्र छरिएको छ । ‘एज यू लाइक इट’ सबैजना अ आफ्नो प्रकारले यसलाई ग्रहण गर्न स्वतन्त्र छन्।

पृथ्वी गोलो भएको हजारौँ प्रकारले प्रमाणित भइसकेको छ तर यसै पृथ्वीमा ‘पृथ्वी गोलो होइन चेप्टो छ’ भन्ने विश्वास गर्ने विद्वतजन पनि छन्। उनीहरु दाबी गर्छन्- पृथ्वी गोलो हो भन्ने सबै तथ्य-प्रमाण-सिद्धान्त ‘हक्स’ हुन्, ‘कन्स्पिरेसी’ हुन्। यथार्थमा पृथ्वी गोलो नभएर चेप्टो छ। यस्ता विद्वतजनसँग पनि आफ्नो भनाइको पुष्टयाइँका लागि अनेकौँ तर्क र प्रमाण हुन्छन्। तपाईँहामी जस्ता सामान्य बुद्धि भएका वर्गलाई बुझिनसक्नु हुन्छ- यी दुबैमध्ये कुन यथार्थ हो, कुन ‘कन्स्पिरेन्सी’।

५० वर्ष नाघी सक्यो मानिस चन्द्रमामा ओर्लेको । चन्द्रविजयका लागि विभिन्न देशले सञ्चालित गरेका तमाम अभियान अन्तर्गत अपोलो अभियान मार्फत ६ पटकमा १२ जना अमेरिकीले चन्द्रविहार गरे। मानिसले चन्द्रमामा पाइला टेक्नुअघि र पछि गरेर अनेकौँ मानवरहित मिशनका यानले चन्द्र धरातलमा ‘सफ्ट’ अथवा ‘हार्ड’ अवतरण गरेको तथ्य चन्द्र धरातलमा छरप्रष्टिएर रहेका पृथ्वीको तौल अनुसार झण्डै २ लाख किलोग्राम कचरा-कबाड़ले प्रमाणित गर्छ, यसलाई पृथ्वीबाटै हेर्न पनि सकिन्छ। तर चन्द्र धरातलको अवतरण वा चन्द्र विजयलाइ ‘हक्स’ अथवा ‘कन्स्पिरेन्सी’ भन्ने थुप्रै विद्वान हाम्रै छेउछाउ हुन सक्छन्।

सामान्य मानिसको संकट भने सधैँ यथावत – के ‘कन्स्पिरेन्सी’ हो, कसले ‘कन्स्पिरेन्सी’ गरिरहेको छ, सामान्य मानिसले कहिल्यै पनि स्पष्टसाथ बुझ्ने अवसर पाउँदैन। उसका लागि जसको तर्क सुन्यो उही नै साँचो प्रतीत हुन्छ।

प्रारम्भमा उल्लेख गरिएको त्रासदपूर्ण वर्तमान र शेक्सपियरको ‘एज यू लाइक इट’ को अन्तर्सम्बन्धबारे पाठकहरुले गन्ध पाइसक्नु भएको होला। हो, कुरा कोरोनाकै हो। ५-७ महिनामा विश्वभरि ७० लाखभन्दा बढी व्यक्ति संक्रमित भएको र ४ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएको भाइरसलाइ एक थरिका विद्वानले ‘कन्स्पिरेन्सी’ भन्न थालेका छन्- कोरोना केही होइन, यो शक्तिशाली राष्ट्रहरुको षड्यन्त्र मात्रै हो भन्ने आशयका अनेकौँ ‘न्यूज क्लिप’ तपाईँ समक्ष पनि आइपुगे होलान्।

कोरोनालाई लिएर अनेकौँ अफवाह फिँजिएका छन्। हुँदाहुँदै यो भाइरस नै होइन, ब्याक्टेरिया हो भन्ने भनाइ पनि देखा परेका छन्। एकातिर कोरोनाको विश्वव्यापी आतंकले जनसमुदाय त्रस्त छ भने अर्कोतिर अनेकथरिका तत्व आतंक दोहन गरेर समाजमा झनै विभ्रम र आतंकमाथि आतंकको परिस्थिति सिर्जना गरिरहेका छन्।

इलेक्ट्रानिक माइक्रोस्कोपको दर्शन नपाएका व्यक्ति / समूह कोरोना भ्याक्सिन बनाउने कार्यमा जुटेका छन्। नेपाली समुदाय पनि यस दौडमा सरिक रहेको थाहा पाउदा किन्चित हर्ष, किन्चित विस्मात र घोर वितृष्णाले घेर्‍यो, मनमस्तिष्कलाई। यूट्यूबर र ब्लगरहरुलाई कोरोना सुनको अन्डा नै बनेको छ। ‘न्यूज एजेन्सी’ र समाचारपत्रको धन्धा नै समाचारलाई ओल्टाइपल्टाई- बंग्याई ‘सेन्सेसनल’ बनाएर आफ्नो ‘टीआरपी’ बढाउनु हो, क्रिकेटको कमेन्ट्री झैँ क्षण क्षणमा कोरोना अपडेट प्रकाशित गरेर ‘पेन्डेमिक’लाई ‘इन्फोडेमिक’ बनाउने कार्यमा यिनले शत प्रतिशत सफलता पाए।

कोरोना भाइरस चीनले ल्याबमा बनाएको हो वा चमेरोबाट संकलित गरी राखिएको वुहानको ल्याबबाट यो भाइरस जानाजान अथवा अनजानमा ‘लिक’ भएको हो अथवा उद्विकासका क्रममा कोरोना भाइरसले चमेरोबाट अन्य प्राणी हुँदै मानवसम्म आफ्नो पहुँच बनाएको हो ,यसबारे प्रामाणिक रूपमा सत्य तथ्य छर्लङ्ग हुनु सम्भव छैन। यसको पृष्ठभूमिमा जुनसुकै कारण रहे पनि विश्व सामु यति त छर्लङ्ग भइसकेको छ कोरोनाको पहुंच मानव कोशिकासम्म पुगेपश्चात् चीन र विश्व स्वास्थ्य संगठनले अनेकौँ शंकास्पद गतिविधि गरे र यी गतिविधि अझै जारी छन्। चीनका समर्थकहरुलाई पचे पनि नपचे पनि एउटा प्रश्नको जबाब ढिलो चाँडो जे भए पनि चीनले दिनै पर्छ- वुहानबाट उत्पत्ति भएको भाइरस संसारका २ सयभन्दा बढी देशमा पुग्यो तर चीनको २-३ ठाउँबाहेक अन्यत्र कहीँ पुगेन, यसको रहस्य के हो? कोरोना चीनका लागि वरदान साबित हुन्छ कि अभिशाप- त्यो आउने निकट भविष्यमै थाहा हुन्छ।

लामो ‘लकडाउन’ उपरान्त नेपाल सरकार यसलाई खुकुलो पार्दै लैजाने मनस्थितिमा पुगेको थाहा पाएर पाठक एवं सरकारका लागि यस विषयक केही जानकारी साझा गर्न गइरहेको छु, आशा छ सम्बन्धित वर्गले यसबाट लाभ पाउने छन्।

सर्वप्रथम कोरोना एउटा सामान्य भाइरस हो, भाइरस नयाँ भएकाले ( मानिसको ‘इम्यून सिस्टम’ यससँग अपरिचित भएका कारण) प्रारम्भमा यसको ‘मोर्टेलिटी’ २-३ प्रतिशत हुनसक्छ। तर विस्तारै ‘इम्यून सिस्टम’ले यससँग जुध्ने ‘एन्टीबडी’ निर्माणको दक्षता हासिल गरेर यसको ‘मोर्टेलिटी’ यसभन्दा पनि ओरालो लाग्छ। भाइरसको घातकतामाथि दृष्टिपात गर्दा जो कोहीलाई पनि अचम्म लाग्ला किन विश्वभरि ‘लकडाउन’को खुराफात मच्चाइयो? यसभित्र लुकेको षडयन्त्र एक वर्षकै अवधिमा छर्लङ्ग हुन्छ- अनेकौँ साना राष्ट्रको ‘इकोनमी’ ध्वस्त भएर धान्नै नसक्ने अवस्था सिर्जना हुन्छ, नेपालमा पनि यस किसिमको खतरा नभएको होइन। वर्तमान सरकारले स्वीकार गरे पनि नगरे पनि आउँदो एक वर्षभित्र (२-३ वर्षसम्म) नेपालले अत्यंत ठूलो संकटको सामना गर्नुपर्ने निश्चित भइसकेको छ।

कोरोना शंकास्पद अथवा संक्रमित व्यक्तिलाई ‘क्वरेन्टिन’ अथवा ‘आइसोलेसन’मा राख्नुको सट्टा मिडियालाई एक महिना ‘क्वरेन्टिन’मा राख्ने हो भने कोरोना स्वतः कन्ट्रोल हुन्छ।

विश्वव्यापी तथ्यांक हेर्दा ८० प्रतिशत मानिसमा कोरोना संक्रमण सामान्य अवस्थामै रहन्छ, १५ प्रतिशतमा संक्रमण अलिक प्रभावी, भनौँ मध्यम स्तरसम्म पुग्छ। सामान्य र मध्यम स्तरका संक्रमित व्यक्तिलाई कुनै पनि चिकित्सकीय सहायताको आवश्यकता पर्दैन। हो, कोरोना संक्रमण भएका ५ प्रतिशत मानिसमा संक्रमण गंभीर (क्रिटिकल) अवस्थामा पुग्छ। यिनलाई नै सघन चिकित्सकीय सहायता (भ्यानटिलेटर) को आवश्यकता, भनौँ अस्पताल भर्ना हुने अवस्था आउँछ। कोरोना संक्रमित ९५ प्रतिशत मानिसलाई अस्पताल भर्ना हुन पर्दैन। रुघा-खोकी -सामान्य ज्वरो आउँदा हामी कति जना अस्पताल भर्ना हुन पुग्छौँ? ९५ प्रतिशत मानिसलाइ कोरोना संक्रमणले गर्ने यति नै हो।

अहिले विश्वमा कोरोनाको ‘मोर्टेलिटी’ ५ दशमलब ७३११ प्रतिशत (७०,८६,००८ संक्रमित , ४,०६,१०७ मृतक ) रहेको छ। यो ‘मोर्टेलिटी’ उच्च हुनुमा मिडियाले फिँजाएको ‘इन्फोडेमिक’ कोरोनाभन्दा बढी जिम्मेदार छ। भय, त्रास र आतंक कुनै पनि भाइरसभन्दा धेरै खतरनाक एवं हानिकारक हुन्छ। मिडियाको ‘इन्फोडेमिक’ प्रसार नभएको भए कोरोनाको ‘मोर्टेलिटी’ एक प्रतिशतभन्दा तल आइसक्ने थियो।

कोरोना शंकास्पद अथवा संक्रमित व्यक्तिलाई ‘क्वरेन्टिन’ अथवा ‘आइसोलेसन’मा राख्नुको सट्टा मिडियालाई एक महिना ‘क्वरेन्टिन’मा राख्ने हो भने कोरोना स्वतः कन्ट्रोल हुन्छ। ध्यान दिनु होला मैले कन्ट्रोल भनेको छु ,निमिट्टयान्न भनेको होइन।

तपाईँहरुले बूढापाकाहरुले भन्ने गरेको एउटा उखान सुन्नु भएको होला – कुनै पनि जिनिसको बिउ कहिल्यै मासिन्न, कहिँ न कतै त्यो बिउ अस्तित्वमा रहिरहन्छ। हजूर, भाइरस पनि त्यही नै हो। कोरोना कहिले पनि सखाप हुँदैन। हो,विस्तारै यसको प्रसार दर, घातकता आदि काम हुँदै जान्छ। अहिले यसको विश्वव्यापी ‘मोर्टेलिटी’ ५ प्रतिशतभन्दा केही माथि छ भने विस्तारै यसको ग्राफ खस्किँदै जान्छ। यहाँ पनि तपाईँहरुले ध्यान दिनु आवश्यक छ भाइरसको क्षमता कमजोर हुने होइन, बरु हामी मानिसको यस विरुद्ध लड्ने क्षमता वृद्धि हुँदै जान्छ।

अर्को तथ्यांक हेरौँ- विश्वका कुल संक्रमित मध्ये ४८ दशमलब ८२ प्रतिशत ( ७०,८६,००८ संक्रमित , ३४,५९,९७२ निको भएका) मानिस संक्रमणमुक्त भएका छन्। मिडिया र सरकारले असली तथ्यांक देखाउँदैन- यो लेख्दासम्म कुल संक्रमित ७०,८६,००८ मध्ये ४,०६,१०७ जनाको मृत्यु भइसक्यो, बाँकी संक्रमित संख्या कति रह्यो? यो हुन आउँछ ६६,७९,९०१। र, लेख्दासम्म ३४,५९,९७२ जना स्वास्थ्य लाभ गरी चंगा भएका छन्, अब हिसाब गर्नुस् कुल ‘एक्टिभ’ संक्रमित संख्या कति रह्यो ? यो संख्या हुन आउछ ३२,१९,९२९। अहिले विश्वमा ३२,१९,९२९ जना ‘एक्टिभ’ संक्रमित छन्। यसमध्ये पनि ९५ प्रतिशत खतरामुक्त छन्।

ए मेरा देशका धृतराष्ट्र ,दुर्योधन र शकुनिहरु विदेशबाट आउने नेपालीलाई अनाहकमा दुःख नदिउँ।’ फर्मल थर्मल स्क्रिनिङ’ गरेर शंकास्पद बाहेक सबैलाई घर जान दिनुस्।

अहिले विश्वमा प्रतिदिन नयाँ संक्रमित देखिने संख्या ७० हजारको हाराहारीमा रहेको छ। प्रतिदिन झण्डै ३ हजारले मृत्युग्राफ पनि बढ्दै छ। स्वास्थ्य लाभ गर्नेको संख्या नयाँ थपिनेको अनुपातमा ४० प्रतिशत छ । आउने तीन महीनासम्म कोरोना संक्रमित हुनेको संख्यामा झनै वृद्धि हुन्छ। यसको मुख्य कारण सबै सरकारले अ -आफ्नो देशमा परीक्षण संख्या बढाउँदै गइरहेका छन्।

यसबाट कसैले त्रसित हुनु पर्दैन। जति बढी संख्यामा संक्रमित देखा पर्छन्, निको हुनेको प्रतिशत उति नै सुधार हुँदै जान्छ र मृत्यु दर कम हुँदै जान्छ। ‘डर के आगे जित है’ भन्ने ‘स्लोगन’ स्प्राइट पिउनेहरुका लागि महज मनोरञ्जन भए पनि कोरोना कहरका लागि यो नै अचूक एवं प्रभावी उपाय हो। कोरोनालाई फगत एउटा रुघाखोकी लाउने भाइरस सम्झेर यसबाट न जोगिनु आवश्यक छ, न यसबाट त्रसित हुनु आवश्यक छ। हो , निश्चय पनि यस लडाइँमा थप केही लाख व्यक्तिले मृत्युवरण गर्नुपर्ने अवस्था हाम्रा आँखा सामु आउन सक्छ। तर यससँग जोगिएर बस्नु ,अनेक किसिमले यसबाट लुकेर रमाउनु कुनै पनि प्रकारले बुद्धिमानी हुन सक्दैन।

कोरोनाबाट जोगिन गरिने आदि यावतका उपाय मास्क- स्यानिटाइजर -सोसल डिस्टेन्सिङ-क्वरेन्टिन-आइसोलेसन कुनैको पनि केही काम छैन। सीमित संख्या र सीमित स्थानमा मात्रै भाइरसको प्रकोप हुँदा यी उपाय काम लाग्न सक्छन्। दिनहुँ कोरोना संक्रमितको संख्या सुरसाका मुख माफिक विस्तारित हुँदै गइरहेको छ। नेपालको हकमा दिनहुँ ३ सयभन्दा बढी र भारतमा दिनहुँ १० हजारभन्दा बढी संक्रमित फेला पर्दै गइरहेका छन् भने यस्तो अवस्थामा यी सबै उपाय केवल  ‘दिल बहलाने को ग़ालिब ख्याल अच्छा है’ भन्दा कुनै अन्य भूमिका राख्दैनन्।

सरकारले अविलम्ब सबै किसिमका ‘लकडाउन’ हटाउनुपर्छ। सबैलाई सहज रूपमा जीवनयापन गर्ने छूट दिनुपर्छ। मलाई हाँस उठ्छ, तपाईँ मलाई हाँसेकोमा पागल भन्न सक्नुहुन्छ, तर मलाई एउटा प्रश्नको जबाब दिएर मात्रै पागल भन्नु होला। नेपालका कैयन केसमा कोरोना संक्रमित व्यक्तिमा २८ दिनपछि संक्रमणका लक्षण देखिएको सम्पूर्ण देशलाइ नै अवगत छ। अब भन्नुस्- यस्तो थाहा हुँदा हुँदै विदेशबाट नेपाल आउने नागरिकलाई सरकारले अनिवार्य १४ दिन ‘क्वरेन्टिन’मा बस्नु पर्ने बाध्यता किन गरेको? यदि उनीहरु संक्रमित छन् भने उनीहरुमा यसको लक्षण २८ दिनपछि पनि देखा पर्न सक्छ। र,के विदेशबाट आउने सबैजना आफ्नो ब्यागमा कोरोना हालेर आउँदै छन्! अरे बाबा, उनीहरु संक्रमित भएको भए उनीहरु बसेकै ठाउँमा ‘क्वरेन्टिन’ अथवा ‘आइसोलेसन’मा पठाइने थिए।

ए मेरा देशका धृतराष्ट्र ,दुर्योधन र शकुनिहरु विदेशबाट आउने नेपालीलाई अनाहकमा दुःख नदिउँ।’ फर्मल थर्मल स्क्रिनिङ’ गरेर शंकास्पद बाहेक सबैलाई घर जान दिनुस्।

म यतिखेर सरकार प्रमुख भएको भए खोजी खोजी कोरोना परीक्षण गर्न तुरुन्त रोक लगाउने थिएँ। अनन्तकालका लागि कोरोना परीक्षण र गम्भीर रूपमा संक्रमित (चिकित्सकीय  सहायता चाहिनेलाई) व्यक्तिको उपचार सरकारले जिम्मा लिने घोषणा गर्ने थिएँ। संक्रमणबाट गम्भीर रूपमा नपुगेका संक्रमितलाई आफनै घरमा बसी ‘ रेस्ट’ गर्ने नियम बनाउने थिएँ।

अस्पताल पुग्ने जो कोहीको पनि कोरोना परीक्षण (सरकारी खर्चमा ) अनिवार्य गर्ने थिएँ। कुनै अन्य रोगले च्यापेर अस्पताल नपुगेका रुघा- खोकी-ज्वरो आदि यावत लक्षण धारकहरुको कोरोना परीक्षणमा प्रतिबन्ध लाउने थिएँ। ‘क्वरेन्टिन’, ‘आइसोलेसन’ तत्काल प्रभावले समाप्त पार्ने थिएँ।

कोरोना संक्रमित र कोरोनाबाट मृत्युवरण गर्नेको तथ्यांक सार्वजनिक गर्न प्रतिबन्ध (स्वास्थ्य मन्त्रालयले मात्रै राख्ने) लगाउने थिएँ। कोरोनालाई लिएर आतंक- त्रास -भय सिर्जना हुने खाले समाचार प्रकाशनमा पूर्ण प्रतिबन्ध लाउने थिएँ। देशवासीको नाममा सम्बोधन गर्दै- कुनै पनि नागरिकले कोरोनासँग भयभीत हुनु पर्दैन,कोही संक्रमित भएको खन्डमा आवश्यक पर्ने सबै उपचार सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्ने थिएँ। सम्बोधनमा सबै देशवासीलाइ निष्फिक्री भएर आआफ्नो काममा दत्तचित्त भएर लाग्ने आह्वान गर्ने थिएँ।

कोरोना भाइरस करोडौँ अन्य भाइरस तथा करोडौँ अन्य प्राणी सरह पृथ्वीको नयाँ सदस्य भइसक्यो। यसको विरुद्ध सफल भ्याक्सिन नबनेसम्म हामीले योसँगै बाँच्नुपर्ने बाध्यात्मक परिस्थिति छ। र, रह्यो भ्याक्सिनको कुरा -विभिन्न राष्ट्रमा विकसित भइरहेका १५० भन्दा बढी भ्याक्सिन अहिलेसम्म टेस्टिङकै चरणमा छन्। अक्सफोर्ड र जेनर इन्स्टिट्यूटले बनाएको भ्याक्सिन लगायत अन्य ४-५ वटा भ्याक्सिन दोस्रो चरणको टेस्टिङका क्रममा छन्। दोस्रो चरणको टेस्टिङको अन्तिम नतिजा आउन अझै ६ महिना लाग्छ र आशावादी भएर नै सोचौँ- भ्याक्सिन संक्रमण विरुद्ध सफल रह्यो भने पनि विश्वका झण्डै ७ अर्ब ८० करोड़ मानिसलाइ भ्याक्सिन निर्माण हुन अर्को ४-५ वर्ष लाग्छ। तबसम्म उपाय के?

कोरोना ‘हक्स’ होइन, ‘कन्स्पिरेन्सी’ होइन। रुघा खोकीको भाइरसझैँ एउटा नयाँ (मानिसका लागि) भाइरस हो। विश्वका ३४,५९,९७२ मानिस यस संक्रमणको चपेटामा आएर निको भइसकेका छन्। नेपालमै ३,४४८ जना संक्रमित हुँदा ४,६७ जना निको भएका छन्। दीर्घरोगी, बूढाबूढी, सुत्केरी, रोग प्रतिरोधक क्षमता कम भएका मानिस बाहेक कसैले योसँग डराउनु पर्दैन। मेरै घरमा विगत १५ दिनभित्र ४ जनालाई रुघा, खोकी, ज्वरो आयो। हामी किञ्चित पनि आत्तिएनौँ, घरमै प्राथमिक उपचार गरियो, कोरोना परीक्षणपट्टि लागिएन। एक साताभित्रै सबैजना स्वस्थ भए। मलाई थाहा छैन र थाहा पाउनु पनि छैन, यो कोरोना संक्रमण थियो अथवा सामान्य संक्रमण!

स्वस्थ खानपान गरौँ, यसले शरीरको ‘इम्युनिटी’ बढाउँछ। स्वस्थ खानपानका लागि काम गर्नु आवश्यक छ। घरमै थुनिएर आय आर्जन हुनसक्दैन। हो, जसलाई घरमा बसिबसी खान पुग्छ, जसले सात पुस्तालाई पुग्ने धन थुपारेका छन्, उनीहरुलाई ‘क्वरेन्टिन’, ‘लकडाउन’मा बस्नु अनिवार्य छ । कथं कदाचित कोरोना लागेर हंस उड्यो भने सुनका दाना कसले टिप्छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?