
लन्डन – कीर्तिमानी टेनिस खेलाडी रोजर फेडेररले यो वर्षका बाँकी सबै प्रतियोगिता खेल्न नसक्ने भएका छन्। घुँडाको शल्यक्रिया गरेपछि फेडेररले आराम गर्नुपर्ने भएको हो। उनको दायाँ घुँडामा देखिएको समस्याको शल्यक्रिया गरिएको हो।
सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने पुरुष खेलाडीका कीर्तिमानी फेडेररले गत फेब्रुअरीमा पनि अप्रेसन गरेका थिए। तर पुनर्स्थापनका क्रममा समस्या देखिएपछि पुन शल्यक्रिया गरिएको हो। कोरोना भाइरसको महामारीका कारण गत मार्चयता व्यावशायीक टेनिस प्रतियोगिता सन्चालन हुन सकेको छैन।
‘सन् २०२१ देखि सबै खेलाडीहरु कोर्ट फर्कने विश्वास लिएको छु’, ३८ वर्षीय फेडेरर भन्छन्।
वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित भएयता फेडेरर खेलेका छैनन्। घुँडाको चोटका कारण सन् २०१६ का प्राय सबै ग्रान्डस्लाम खेल्न नसकेका फेडेररले अर्को वर्ष शानदार पुनरागमन गर्दै अस्ट्रेलियन ओपन र विम्बल्डन जितेका थिए।
यूएस ओपन अगष्ट ३१ र फ्रेन्च ओपन २० सेप्टेम्बरमा सुरु हुने तालिका छ। फेडेररले सन् २०१८ को अस्ट्रेलियन ओपनयता ग्रान्डस्लाम उपाधि जित्न सकेका छैनन्। गत वर्ष उनि फ्रेन्च ओपनमा फाइनल पुगेपनि उपाधि जित्न सकेका थिएनन्। फेडेररले हालसम्म अस्ट्रेलियन ओपन ६ पटक, विम्बल्डन ८ पटक, फ्रेन्च ओपन एकपटक र यूएस ओपन पाँच पटक जितेका छन्।
ग्रान्डस्लाम सर्वाधिक जित्ने पुरुष खेलाडीको सूचीमा राफेल नाडाल १९ उपाधिसहित दोस्रो र नोभाक जोकोभिच १७ उपाधिसहित तेस्रो स्थानमा छन्। गत वर्ष नाडाल र जोकोभिच दुवैले दुई दुई ग्रान्डस्लाम उपाधि जितेका थिए।