
काठमाडौँ- नेपाली सेनाले चीनबाट खरिद गरेका कोभिड-१९ नियन्त्रण, रोकथाम तथा उपचारका अत्यावश्यक स्वास्थ्य सामग्रीको स्तरीयता र मूल्यमा कुनै अनियमितता नगरेको स्पष्ट पारेको छ।
केही सञ्चारमाध्यमले सेनाद्धारा खरिद स्वास्थ्य सामग्रीको मूल्य यसअघि स्वास्थ्य सेवा विभागले निजी कम्पनीबाट खरिद गरेका सामग्रीको भन्दा बढी भएको भन्दै समाचार सम्प्रेषण गरेपछि सेनाको बुधबार स्पष्टीकरण आएको हो।
उसले आफ्नो खरिद मूल्य सार्वजनिक समेत गरेर सामग्री खरिदका सम्बन्धमा आफूलाई विवादमा ल्याउने प्रयास भएको भन्दै केही सञ्चारमाध्यममा आएका समाचारहरु तथ्यहीन भएको विज्ञप्तीमार्फत समेत स्पष्ट पारेको हो।
बिना तथ्य र प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्तै गम्भीर विषय भएको सेनाको भनाई छ।
स्वास्थ्य सेवा विभाग आफूले अघि बढाएको सामग्री खरिद प्रक्रिया भ्रष्टाचार र अनियमिततामा मुछिएपछि मन्त्रीपरिषद् बैठकले गत चैत्र १६ गते कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार-सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो।
तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको विषम् परिस्थितिमा समेत पारदर्शीताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन नेपाली सेनाले सरकार-सरकार (जिटुजी) विधिबाट स्वास्थ्य सामग्री खरिद गरेको बताएको छ।
पारदर्शीता सुनिश्चित गर्न अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गरेकाे, सार्वजनिक खरिद ऐन २०३३ को परिच्छेद २ को नियम १६ लाई आधार मान्दै सबै सरोकारवालाहरु सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरि खरिद कार्य सम्पन्न गरेको सेनाको भनाई छ।
सेनाका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा गुणस्तर प्रमाणित गर्न नसकिने विभिन्न सामग्रीहरु फरक-फरक मूल्यमा उपलब्ध भइरहेको अवस्थामा नेपाली सेनाले फिल्डमा खट्टिने सुरक्षासामग्री, स्वास्थ्यकर्मीलगायत अन्य व्यक्तिहरुको सुरक्षालाई समेत सर्वोपरी राखी गुणस्तर सामग्री खरिद गरेको जनाएको छ।
त्यसका लागि आफूले चीन सरकारबाट २०७७ चैत्र २८ गते लागू गरिएको ‘नेशनल मेडिकल प्रडक्ट एडमिनिस्ट्रेसन’ बमोजिमको मान्यता प्राप्त सामग्री मात्रै आयत गरेकाे सेनाको भनाई छ।
विषम् परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषयहरु तुलना गर्न नसकिने सेनाकाे भनाई छ।
पारदर्शीतताका लागि चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी चाइना सिनोफार्म इन्टरनेशनल करर्पोरेशनबाट प्राप्त मूल्य सूचीलाई रक्षा, परराष्ट्र, स्वास्थ्यमन्त्रालयलगायत सरकारका सबै निकायहरुसँग समन्वय र सहमति लिई सरकारको स्वीकृती प्राप्त भएपछि मात्रै सामग्री खरिद गरेको सेनाले बताएको छ।
सेनाले खरिद गरेका अत्यावश्यक सामग्री हाल आवश्यकता अनुसार विभिन्न प्रदेशमा वितरण समेत भइरहेको छ।
महामारीको यस घडिमा नेपाली सेनाले सदा झैँ सरकारबाट प्राप्त जिम्मेवारीलाई पूर्ण पारदर्शीताको सिद्धान्त अबलम्बन गर्दै विद्यमान आर्थिक ऐन, नियम र अन्तर्राष्ट्रिय अभ्यासहरुको समेत पूर्णतया पालना गरेर काम गरिरहेको उसको भनाई छ।
यस्तो छ सेनाले खरीद गरेको सामग्री मूल्य
सेनाले गत वैशाख ७ गते चीनसँग सामाग्री खरिदका लागि सम्झौता सम्पन्न गरेको थियो। उसले १ करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलरको ६८ प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो।
कुल तीन हजार क्युबिक मिटर सामग्री मध्ये सेनाले हवाई र स्थलमार्ग हुँदै २ हजार क्युबिक मिटर सामग्री ल्याइसकेको छ। बाँकी १ हजार क्युबिक सामग्री पनि एक साताभित्र आउने उसको भनाई छ।
सेनाले ल्याएका तीन प्रकारका सामग्रीको मूल्य यसअघि स्वास्थ्य सेवा विभागले खरीद गरेका सामग्रीको मूल्य मन्दा मंहगो पर्न गएको छ भने सात प्रकारका सामग्रीको मुल्य सस्तो पर्न गएको छ।
अन्तर्राष्ट्रिय बजारका कारण र गुणस्तरीयतामा सम्झौता नगरेका कारण ती तीन प्रकारका सामग्रीको मूल्य बढी पर्न गएको सेनाले स्पष्ट पारिसकेको छ।
महंगो पर्न गएका सामग्री
सेनाले खरिद गरेका सामग्रीहरुकाे सूची केलाउँदा ‘सर्जिकल मास्क’ लाई सेनाले ५४ रुपैँयामा खरिद गरेकाे देखिन्छ। तर स्वास्थ्य सेवा विभागले त्यसलाई ३९ रुपैयाँ हालको छ।
यस्तै सेनाले खरिद गरेको ‘डिस्पोजेवल प्रोटेक्टिभ क्लोथिङ’ लाई २ हजार ५ सय १ रुपैँया परेको देखिन्छ। तर स्वास्थ्य सेवा विभागले त्यसलाई १ हजार ९ सय ५२ रुपैयाँ हालेको छ।
‘प्रोटेक्टिभ सु–कभर’ लाई सेनाले ३ सय ८ रुपैयाँ हालेकोमा स्वस्थ्य सेवा विभागले २ सय ४४ रुपैयाँ हालेको देखिन्छ।
सस्तोमा पर्न गएका सामग्री
तर सेनाले खरिद गरेको ‘डिस्पोजेबल भिनिल ग्लोब्स्’का लागि ढुवानीसहित ८ रुपैयाँ ९ पैसा तिरेकोमा विभागले १४६ रपैयाँ ४० पैसा तिरेको पाइएको छ।
यस्तै ‘इन्फ्रोरेड गन’लाई सेनाले ५ हजार ३ सय ४४ हालेकोमा विभागले ७ हजार ९ सय ३० रुपैयाँ हालेको छ।
‘प्रोटेक्टिभ फेस मास्क’लाई सेनाले ३ सय ७२ रुपैयाँ हालेकोमा विभागले ८ सय ५४ रुपैयाँ हालेको छ।
यस्तै ‘पीसीआर किट’लाई सेनाले २ हजार ३ सय ३० रुपैयाँमा खरिद गरेकोमा विभागले ६ हजार ३ सय ६८ रुपैयाँ हालेको छ।
‘फेस सिल्ड’लाई सेनाले १ सय ८९ रुपैयाँ हालेकोमा विभागले ३ सय ५ रुपैयाँ हालेको छ। चस्मालाई सेनाले ३ सय ३ रुपैयाँ हालेकोमा विभागले २ हजार ९ सय ९६ रुपैयाँ हालेको छ।
पञ्जालाई सेनाले २० रुपैयाँ हालेकोमा विभागले २४ रुपैयाँमा खरिद गरेको छ। भीनवेल पञ्जालाई सेनाले ८० रुपैयाँमा खरिद गरेकोमा विभागले १ सय ४६ रुपैँयामा खरिद गरेको छ।