
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ।
यसबारे विस्तृत जानकारी बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित हुने पत्रकार सम्मेलनमार्फत दिइने एक मन्त्रीले देशसञ्चारलाई जानकारी दिए।
‘लकडाउन खुकुलो पार्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ, विस्तृत विवरण भोलिको पत्रकार सम्मेलनमा,’ अबेर राति सकिएको मन्त्रिपरिषद् बैठकपछि ती मन्त्रीले भने।
सरकारले लकडाउन चरणबद्ध रुपमा खुकुलो पार्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बुझिएको छ। सवारी साधन सञ्चालन खुकुलो पार्नेसम्बन्धी केही निर्णय भएको हुनसक्ने एक जानकार स्रोतले बताएको छ।
‘भोलिदेखि नै लागू हुने गरी लकडाउन खुकुलो पारिएको छ,’ स्रोतले देशसञ्चारसँग भन्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद बैठकमा बुधबार लकडाउन खुकुलो पार्नेसम्बन्धी विशेष निर्णय बुधबार साँझको मन्त्रिपरिषद्ले गर्ने जानकारी दिएका थिए।