
हजारौँ–हजार वर्षको यायावरीय जीवनको गाथा भनेको हामीले आर्जेको ज्ञान, सीप, साहित्य, शिल्प विद्या कला ,लिपी क्षत्रीयत्व वंश परम्परा प्राप्त भएको सौर्यता नै हो । हिमवत्क्षेत्र नेपाल तीसौं हजार वर्षदेखि वंशपरम्परा र हाम्रा पुर्खाको मूल थलो हो । तपोभूमि, सिद्धभूमि, साधना भूमि, हिमाल, पाखा, कुना, कन्दरा, गुफा, ओडार, दुर्गम पहाडी, मध्य तराई, समतल भेग, अपार हिमनदीले वेस्ठित भूगोल नेपाल हो,। यहा“ विश्वामित्र, वामदेव, मुद्गल, अत्रि, वशिष्ठ, काश्यप, भारद्वाज, गौतम, कौशिक, उपमन्यू, व्याससहित हजारौं ऋषिहरूको साधनाभूमि तपोभूमि र मन्त्रद्रष्टा ऋषिहरूको श्रुति परम्पराअन्तर्गत प्राप्त भएका मन्त्रहरू साक्षात्कार गरेको भूमि नै नेपाल हो ।
तपस्वी ऋषिहरूको तपस्थली हिमालका ओडार, वृक्ष आदिको सान्निध्यता हो । आफ्नो मौलिक संस्कृति भाषा, शिल्प, विद्या, कला, पौरख, ज्ञान, ताना–वाना, रहन–सहन सबै हजारौं–हजार वर्षदेखि निरन्तर रूपमा अनुशरण र अनुशीलन गर्दै आइरहेका छौं । यसमा शक्ति उपासना, दशैंको महत्त्व विशिष्ट छ । जसबाट हामी शक्ति आर्जन गरी संसारलाई नयाँ मार्गदर्शन दिन सक्छौं । हाम्रो दर्शन परम्परा अपार शान्तिप्रिय जीवनपद्धति हो ।
विश्वको सबैभन्दा प्राचीन लिपीगत रूपमा प्राप्त शास्त्र ‘ऋग्वेद’ नै हो भनेर विश्वभरका वैज्ञानिकहरूले सिद्ध गरेका छन् । मानवले प्राप्त गरेको सर्वप्राचीन ग्रन्थ भनेकै ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद क्रमशः उपवेद, आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद, स्थापत्यवेद, व्याकरण, ज्योतिष, साहित्य, मिमांसा, निरुक्त, कल्प, शिक्षा, उपनिषद्, ब्राह्मण ग्रन्थ आदि सर्वप्राचीन ग्रन्थ हुन् ।
मरुत् इन्द्रले भाइहरूको रूपमा स्वीकार गरेका मरुत् उनान्पचास छन् । मरुत्लाई वैदिक संहितामा वर्षा र बादलका देवताको रूप पुजिन्छ । मरुत्का सहचारी वायु, वृष्टिका देवता हुन् । मरुत् पूजकले देवतालाई विराट र विस्तारित रूपमा स्मरण गर्दछन् । वायुलाई नै देवता मान्दछन् ।
ऋग्वेदको पहिलो मन्त्रका देवता अग्नि हुन्, जुन मन्त्रमा पहिलो शब्द नै अग्नि उल्लेख गरिएको छ –
ॐ अग्निमीडे… । आगोका आविष्कारक मन्त्रद्रष्टा ऋषि अग्नि हुन् । शक्ति र ऊर्जाको स्रोत पनि महाशक्ति भगवती हुन् । ऋग्वेद मै वायुसम्बन्धी सूक्तहरू प्रसस्त पाइन्छन् । आर्यजातिका सयौं शाखाहरूमध्ये कोही सूर्य, अग्नि, मरुत्(वायु)लाई इष्ट मान्दछन् । खसहरुको घरघरमा बाज र बाघ अंकित झण्डा राख्ने प्रमुख दायित्व हुन्छ ।।
तपस्वी ऋषिहरूको तपस्थली हिमालका ओडार, वृक्ष आदिको सान्निध्यता हो । आफ्नो मौलिक संस्कृति भाषा, शिल्प, विद्या, कला, पौरख, ज्ञान, ताना–वाना, रहन–सहन सबै हजारौं–हजार वर्षदेखि निरन्तर रूपमा अनुशरण र अनुशीलन गर्दै आइरहेका छौं । यसमा शक्ति उपासना, दशैंको महत्त्व विशिष्ट छ । जसबाट हामी शक्ति आर्जन गरी संसारलाई नयाँ मार्गदर्शन दिन सक्छौं । हाम्रो दर्शन परम्परा अपार शान्तिप्रिय जीवनपद्धति हो ।
प्रसङ्ग एक
वेदमा १ सय भाइ मरुतहरूको वर्णन र स्तुति गरिएको छ । ती मरुतहरूलाई मस्तकका देवता भनिन्छ । मानिसको प्राण नासिकाबाट श्वासनली हुँदै फोक्सोसम्मको यात्रा गरी पुनः शरीरबाट बाहिरिने क्रम निरन्तर चलिरहन्छ । मरुत्हरूको कृपाबाट नै जीव जीवित छ, चराचर जगत् गतिशील छ । बाँच्नका लागि शुद्ध हावा (मरुत्, अक्सिजन) को आवश्यक पर्दछ । एक सय भाइहरू विभिन्न जीवहरूमा प्राण प्रदान गर्न क्रियाशील छन् । मस्तक (ललाट) नै मस्ट र मस्त हो भन्ने उल्लेख पाइन्छ । सम्पूर्ण ज्ञानको एकीकृत रुप वेद हो । विश्वका इतिहासकारहरूले मस्ट, मस्त, मस्तक र त्रिशूलधारी भगवान् शिवको मस्तकबाट उत्पन्न भएको वीरभद्र नै हुन् भनेका छन् । तिनै मस्ट देवतालाई खस जातिले गोत्र अनुसार भिन्नभिन्न रुपमा सम्झन्छन् । आफ्ना पुर्खा – आदिमस्ट, बराह मस्ट, खप्परमस्ट, दुधेमस्ट, विद्युतमस्ट आदि हुन् भनेर उल्लेख गरिएको छ ।
विश्वभरिका विभिन्न स्थानमा अष्ट्रियन, मंगोलआदि परिवारले पुर्खा, पितृका रुपमा स्मरण गर्दछन् ।
त्रिशूल र वज्रको परिभाषा पनि समकालीन नै हो । मरुत्सँग सम्बन्धित वज्र हो भने त्रिनेत्रधारी भगवान् शिवको त्रिशूल हो । अस्त्र, शस्त्र र प्रयोग भएकै हो । अस्त्र र शस्त्रको उत्पत्ति र प्रयोगको इतिहास लामै छ । जाति जनजातिको मुन्धुम, कायाकैरन, उपजाति सबैको साझा साधनाको स्वरुप अग्नि, वायु र पितापुर्खा (कुलपरम्परा) लाई सम्झिने क्रम नै हो । सबैको साझा चिन्तन भनेकै पृथ्वी, जल, तेज, वायु, आकाश हो । कुनै पनि पदार्थ आफ्नो स्वभावबाट निरपेक्ष हुन सक्दैन । चाहे त्यो जातजाति, जनजातिको संस्कृति र परम्परा नै किन नहोस् । कसैले आफ्नो परम्परा मेटाउन चाहन्छ भने मेटाउन चाहनेलाई कसले के भन्न सक्छ र ! तर संरक्षण सबैको संस्कृतिको हुनुपर्दछ ।
प्रसङ्ग दुई
गणतन्त्रमा गण जातिको स्थान महत्त्वपूर्ण हुन्छ । गणजाति किटान गनरी गणतन्त्र संस्थागत हुनै सक्दैन । गणतन्त्रमा गणपति या गणप्रमुख हुन्छ, न कि राष्ट्रपति । एशिया माइनरमा हिती नामको जाति ईलावृत (ईरान)मा गणजातिको रुपमा शासक थिए । साँढेमाथि चढेका, हातमा त्रिशूल र परशु धारण गरेका, शिरमा चन्द्रमा धारण गरेको अवस्थाका मूर्तिहरू इस्लाममतको उदयकाल (१४ सय वर्ष पहिले)मा भग्नावशेष भएको स्थान मक्का मदिना (मक्केश्वर महारुद्र) भएको स्थान अध्यावधि रहेको अन्वेषकलाई प्राप्त भएकाछन् । रात्रीका देवता चन्द्रमालाई आफ्नो झण्डमा राखी एक ईश्वरवादको चिन्तन इस्लाममत र रोजा बस्दा चन्द्रदर्शन गरेर खाने परम्परा छँदैछ । शिवको आकारमा निर्मित मूर्तिलाई तुफानका देवता तेजस (तेसब) हो भन्ने सिरीयाका इतिहासकारले वर्णन गरेका छन् । हिती जातिको छिमेकी एउटा आर्य जातिको शाखा मितन्नीहरू पनि ‘तेसब’को उपासना गर्दथे । तेज भनेको नै वायू हुन् । वायुलाई निरपेक्ष गर्न सकिन्न । धर्मनिरपेक्ष भन्नेले म सासै फेर्दिन भन्नुपर्यो। वायुको धर्म भनेको प्राणीक ऊर्जा र जीवनदायिनी शक्ति प्रदान गर्नु हो ।
प्रसङ्ग तीन
वैदिक परम्पराका ११ सय ७२ शाखाअन्तर्गत धेरै शाखाका अनुयायीहरु अध्यावधि मूर्तिपूजा गर्दैनन् । उनीहरू मूर्तिपूजाभन्दा पनि भावना र अग्निको उपासना गर्दछन् । जीवनका लागि अग्नि, वायु र सूर्यको उपासना वैदिक परम्परा छँदै छ ।
बेबिलोन र युनानमा मूर्तिको निर्माण गर्ने र देवताको रुपमा स्थापना र उपासना गर्ने चलन रहेको छ ।
तराईमा बसोबास गर्ने आर्यहरु गौचारक नै हुन् । नृप जातिको परम्परा आगोको पूजा गर्ने नै हो । कुलदेवता १, महारुद्र २, काण्डाब्रह्म ३, ऐरादेवता (सिकारका देवता) ४, गैडु ५, गोसाइँ ६ गैया र मष्ट थपेर सात पुर्याइ पूजा गर्दछन् । कुलदेवी (काली, तारा, चण्डी, दुर्गा, विन्ध्यवासिनी) को पूजा शक्तिको रुपमा निरन्तर चलिरहेको छ । परम्परा हजारौं हजार वर्षदेखि आएको छ । तराईतिर गोसाइँ, ब्रह्मबाबा आदि सम्झी गुराउहरूले पूजा गर्दछन् नै । किराँतहरूले मुन्धुममा त्रिशूलधारी भगवान् शिवको लामाहरूले फुर्बा (वज्र) का देवता मरुत्लाई सम्झिन्छन् नै । नेवारहरुले छ्वासः (क्षेत्रपाल) को पूजा गर्छन् नै । मगरहरुले मृतआत्माबाट छुट्कारा पाउन डैसीबाङअन्तर्गत वज्रवृक्ष दूधिलो चोप आउने बिरुवामा शिर झुकाउँछन् नै । तामाङहरुले नवजात शिशुको साल बाँसको ढुंग्रामा हाली दूध आउने सिउँडीको रुखमा झुण्ड्याउँछन् नै ।
हाम्रो देश गुरु देश हो प्राचीनकालदेखि नै यो गुरुहरूको देश हो । जगत्गुरु किराँतेश्वर भगवान् शिवको महिमा अनादिकालदेखि यही देवभूमिसँग गाँसिएको छ । यहाँका जनजातिलगायत सबै वर्ण र जातिले उमा–महेश्वरलाई आफ्ना इष्टदेवदेवीका रूपमा पुज्दछन् । वामदेव, वशिष्ठ, विश्वामित्र ऋषि तथा सरयू, नारायणी, कौशिकी नदी भगवान् शिवसँग अन्तर सम्बन्धित छन् । ती नदीहरूमध्ये सरयू (कर्णाली), नारायणी र कौशिकीको विशेष महत्व विभिन्न शास्त्रहरूमा वर्णित छ । कर्णाली नदीको सम्बन्ध ऋषि वामदेवसँग जोडिएको छ ।
नारायणी नदीको सम्बन्ध वशिष्ठ ऋषिसँग जोडिएको छ । यस्तै कोशी नदीको सम्बन्ध ऋषि कौशिक (विश्वामित्र) सँग जोडिएको छ । किराँत धर्मका ईष्ट भगवान् किराँतेश्वर शिवजी ओँकारका द्रष्टा हुन् । ऋषि वामदेव व्याहृतिका द्रष्टा, ऋषि वशिष्ठ सावित्रीका द्रष्टा र ऋषि विश्वामित्र गायत्रीका द्रष्टा हुन् । यसैगरी वाल्मीकि, बृहस्पति, यज्ञवल्क्य, बुद्ध, गोरक्षनाथ, जैन धर्मका आदि ऋषभदेवको तपस्थली नेपाल हो । महावीर, जनकजस्ता विश्वलाई अनुप्राणित गर्ने सक्ने हजारौं हजार गुरुहरू तथा सीता, भृकुटी जस्ता देवीहरूले यस धर्तीमा आफ्नो साधना सिद्ध गरेका छन् । यस तथ्यलाई हाम्रो इतिहासले प्रमाणित गरेको छ भने शास्त्र र परम्परा यसका वाहक बनिरहेका छन् । त्यसैले अहिंसा, प्रेम, सहअस्तित्व, शान्ति, सदाचार, सहिष्णु र अध्यात्म आदि यावत् ज्ञानको केन्द्रस्थल हाम्रो राष्ट्र बनेको हो । शान्तिका अग्रदूत भगवान् बुद्धले पनि यसै पुण्यभूमिमा जन्म लिई शान्तिको सन्देशलाई फैल्याउनुभएको हो । यो वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूका लागि मात्र होइन, आम नेपालीका नाताले पनि यो गर्वको विषय पनि हो ।
हजारौँ हजार वर्ष पहिला भनिएको………
एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः ।
स्वं स्वं चरितं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।।
(सृष्ट्यां सर्वजन्तवः) ।
यस देशमा जन्मिएका अग्रजहरूबाट पृथ्वीभरका सम्पूर्ण मावनहरूले आ–आफ्नो सभ्यता र चरित्रको शिक्षा लिन सक्छन् वा लिऊन् ।
उल्लिखित प्रसङ्गलाई यत्र विश्वं भवत्येकनीडम् (यजुर्वेद ३१) अर्थात् जहाँ विश्व एक गुँड बन्नेछ तथा सा प्रथमा संस्कृतिर्विश्व वारा (यजुर्वेद ७) अर्थात् ‘यो पहिलो संस्कृति हो जसमा विश्व आश्रित छ’ ले प्रमाणित गरिरहेका छन् । यसर्थ सनातन हिन्दू संस्कृति विश्वकै प्राचीनतम सम्पन्न संस्कृति हो भन्ने तथ्य जगजाहेर छ । अधिष्ठान, अधिगति र अधिगन्तव्यको स्वरूप नै ॐकार हो । ॐकारको अर्को स्वरूप ब्रह्म हो । ब्रह्मका पुत्र प्रजापति हुन् भने प्रजापतिका पुत्र मरीचि हुन् । मरीचि ऋषिका दुई पुत्र कश्यप र कश्यिप हुन् । कश्यिप ऋषिकै अर्को नाम नेमुनि हो । यी ऋषिलाई अरिष्टनेमि पनि भनिन्छ । कश्यपका पुत्र बाह्र सूर्य हुन् । बाह्र सूर्यको जन्मपश्चात् सृष्टि सुरु भयो । सृष्टिपछि समाज स्थापना भयो । समाजले रीतिस्थिति बनायो । रीतिस्थितिले संस्कारित समाज बनायो । यसरी संस्कारित भएर ऐक्यवद्धताका साथ काम गर्दा संस्कारयुक्त राष्ट्र बन्यो । असंस्कारित भएर काम गर्दा राष्ट्र त बन्यो तर त्यो संस्कार र सभ्यताहीन हुन गुग्यो । यसपछि ऋतं च सत्यं च स्थापित भयो । ऋत भनेको व्यावहारिक रीति हो भने सत्य भनेको पारमार्थिक रीति हो । उक्त दुवै रीति मान्ने राष्ट्र हो । राष्ट्रका अवयव शिल्पीवृन्दहरू हुन् जसलाई ज्ञाति भनिन्छ । ज्ञाति भनेको माटो र पानी हो । यस प्रसङ्गमा सृष्टिक्रम बुझ्न जरुरी हुन्छ । पूर्ववैदिककालसम्म सङ्कल्प सृष्टि थियो । पूर्व वैदिककालमा आकाशप्रधान प्रकाशको शरीर थियो । यसर्थ गोत्रपुरुषहरूको प्रकाश शरीर छन् । यसर्थ ‘यत्पिण्डे तत् ब्रह्माण्ड’ को नियमानुसार गोत्र भनेको हामीभित्र रहेका आकाश र प्रकाश तत्व पनि हुन् । वायु र अग्नि यसका यौगिक तत्व हुन् । पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चमहाभूत हुन् । यिनैका आधारमा हाम्रो पाञ्चभौतिक शरीर निर्माण भएको छ ।
ज्ञातिबाट ज्ञान उत्पन्न भयो । ज्ञानबाट सीप, कला, कौशल विकसित भए । त्यसका आधारमा वर्णाश्रम व्यवस्था लागू भयो । वर्णाश्रमकै आधारमा सीपको विन्यास तथा विकास एवम् सेवा सामञ्जस्यताको एकात्मकता अहिले पनि हेर्न सकिन्छ । यसको जीवन्त उदाहरणका रूपमा यज्ञोपवित संस्कारका अधिष्ठाता देवता पशुपतिनाथको पूर्णाभिषेक महापूजालाई लिन सकिन्छ । यस महापूजामा प्रत्येक शिल्पका अधिष्ठाता परम्परागत सम्पदा एवं जनसङ्ख्या सहितका देवताको पूजा हुन्छ । सर्वप्रथम चाण्डाल पुरोहितबाट प्रेतपूजापूर्वक यो महापूजारम्भ हुन्छ । त्यसपछि भूतपूजा हुन्छ । त्यसपछि यथाक्रम पूजा चल्छ । यस कार्यमा जातीय शिल्पको ससम्मान उपस्थिति रहन्छ । यो समावेशी समन्वय चरित्रको सर्वोत्कृष्ट नमूना हो ।
विश्वदेवस्व गोत्र, ज्ञाति, सीप र सम्पदा भनेको नै जातीय पहिचान हो । जातीय पहिचानभित्र नै अनादिकालदेखि शिल्पकलाको प्रयोग हुँदैआएको छ । अर्को शब्दमा भन्ने हो भने वस्तु र उत्पादनको स्रोत एवम् व्यावसायिक लाभको स्वामित्वको सुनिश्चितता जातीय पहिचानमा निर्भर गर्छ । यही व्यवस्था नै हिन्दूत्व हो । अर्थात्, वेद (अध्यात्म), शान्ति, समृद्धि, समानता, समता, अहिंसा, प्रेम, सदाचार, सहसंस्कृति, सीपको सम्मान, सहअस्तित्व तथा सहिष्णुताको समष्टिसार नै हिन्दूत्व हो ।
अन्त्यमा
हजारौं वर्षदेखि आएको परम्परा कसरी निरपेक्ष हुन सक्छ ? केही विदेशी दाताहरुको उक्साइमा लागेर धर्मनिरपेक्षताको पक्षमा उचालिनेहरुले आफ्नै खुट्टामा बन्चरो हान्दैछन् । त्यो नियतिले निर्धारण गर्नेछ ।