
सिमकोट– सिमकोट गाउँपालिकाका विभिन्न ठाउँमा क्वारेनटिनमा बसेका नागरिकहरुको शनिबारदेखि स्वाब संकलनको काम शुरु भएको छ।
भिटिएम किट आफै खरिद गरेको सिमकोट गाउँपालिकाले शनिबारबाट विभिन्न वडामा स्थापना गरिएका क्वारेन्टिनमा रहँदै आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरेको हो।
पछिल्लो समय पैदल तथा हवाईमार्गबाट जिल्ला भित्रिएका नागरिकहरु क्वारेन्टिनमा राखिएको थियो।
गाउँपालिकाका आठ वटै वडामा भएका क्वारेन्टिनमा कोभिड – १९ परिक्षणको लागि स्वाब संकलन थालिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए। सिमकोट गाउँपालिकामा जम्मा १३ वटा क्वारेन्टिन रहेका छन्।
सिमकोट गाउँपालिकामा ५ सय ७२ जना हवाई मार्ग र १ सय ५८ जना पैदल मार्गबाट उद्धार गरी ल्याइएका नागरिकहरु छन्।
सुर्खेतमा सबै जिल्लाको स्वाब परिक्षण कार्य गर्नुपर्ने भएको कारण समय लाग्ने देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पालिकाभरिबाट संकलन भएका स्वाबहरु पठाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए।