
सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ मा पर्ने भीम दुलामा पर्यटकीय भ्यू टावर बनाउने निर्माण कार्य सम्पन्न भएपनि भुक्तानी रोकिएको छ ।
टावर बनाउने क्षेत्र खार्पुनाथ परेपनि सर्केगार्ड गाउँपालिकाले बिना जानकारी टावर बनाउने कार्य अगाडि बढाएको भन्दै खार्पुनाथ पाँचका बासिन्दाले निर्माण कार्य रोकेका हुन् ।
खार्पुनाथ गाउँपालिका वडा नं ५ लाई कुनै जानकारी नै नदिएर सर्केगाड गाउँपालिका वडा नं ८ ले भ्यू टाउर निर्माण कार्य सम्पन्न गरि भुक्तानी लिने प्रकृया सुरु गरेपछि सो भुक्तानी रोक्न डिभिजन वन कार्यालयमा गाउँपालिकाले पत्राचार गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।
यस अघि सर्केगार्ड वडा नम्बर ८ का बासिन्दा र डिभिजन वन कार्यालयबीच काम अगाडि बढाउन सम्झौता भएर काम सम्पन्न हुँदासम्म कुनै जानकारी नभएको र एक्कासी भुक्तानी लिन आउने खबर आएपछि सो रोक्का राख्न पत्र काटिएको उनले बताए ।
डिभिजन वन कार्यालयले २ वटा गाउँ पालिकाको सहमती अनुसार मात्र उक्त निर्माण कार्य अगाडि वढाउन निर्देशन दिएकोमा सर्केगाड गाउँपालिकाले एकलौटी रुपमा खार्पुनाथ गाउँपालिकाको क्षेत्रभित्र पर्ने जग्गामा उक्त टावर निर्माण कार्य सुरु गरेकाले सोको खार्पुनाथ गाउँ पालिका वडा नं ५ ले विरोध जनाएको छ ।
भीम दुलाको चार किल्ला भित्रको राया मेला, सुनसुने, दुदेदह, मारुकोर र झारसाँधी खार्पुनाथ गाउँपालिकामा पर्छ ।