
सिमकोट-हिमाली जिल्ला हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। दुई दिन लगाएर संकलन गरिएको स्वाबहरु हवाई मार्गबाट सिधा जुम्ला टेकअफ गर्ने गरि पठाइएका हुन।
सिमकोट गाउँपालिकाका आठ वटै वडामा जिल्ला बाहिरबाट भित्रिएर क्वारेन्टिनमा बस्दै आउनु भएको ब्यक्तिहरुको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा सिता एयरमा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दान बहादुर बोहराले बताए।
प्रतिष्ठानले जुम्ला, हुम्ला र डोल्पा जिल्लाका संभाबित कोरोना आशंकाका स्वाबहरुको पीसीआर परीक्षण गर्ने जिम्मेवारी पाएको छ। भिटिएम किट बोकेर पाँच देखि छ घण्टा पैदल क्वारेन्टिनमा रहेका ब्यक्तिको स्वाब संकलन गरि जिल्लाबाट सगै परिक्षणका लागि जुम्ला पठाउनु परेको हो।
स्वाब संकलन गरिएका ब्यक्तिहरुको क्वारेन्टिन अबधि भने पुरा भएको छैन । प्रतिष्ठानमा कोरोना संक्रमणको पिसिआर परिक्षण गर्न समय लाग्ने भएको कारण क्वारेन्टिन अबधि अगाडी नै स्वाब संकलन गरि पठाइएको हो।
गाउँपालिकाका आठ वटा वडामा १३ वटा क्वारेन्टिनहरु स्थापना भएका छन् । उनीहरु सबै काठमाडौं, नेपालगंज र सुर्खेतबाट हवाई तथा पैदल मार्गबाट उद्धार गरिएका हुन। संकलित स्वाबहरु बालबालिका, युवा र बृद्धबृद्धाहरुको रहेका छन्।
यसअघि सिमकोट गाउँपालिकाले आफै दुई हजार भिटिएम किट खरिद गरेको थियो। यसअघि पनि ताँजाकोट गाउँपालिकाले क्वारेन्टिनमा रहेका ३०९ जनाको स्वाब संकलन गरि जुम्ला पठाएको थियो । ती स्वाब मध्य २५० वटाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकीको आज पिसिआर परिक्षण हुने भएको छ।