
काठमाडौँ-नेपालमा करिब ७० प्रतिशत मानिसहरू आश्रित रहेको कृषि पेशा प्रविधिको प्रयोग, माग र आवश्यकता अनुसार प्रविधिमैत्री हुँदै जानुपर्नेमा आयोजित डिजिटल संवादमा जोड दिइएको छ।
उक्त संवादमा कृषि क्षेत्रका विज्ञहरुले कृषि डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरू के के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल सम्पन्न गरेका छन्।
उक्त छलफलले ब्लकचेन, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै डिजिटलाइजेसन गर्नुपर्ने आवश्यकता, यसको सम्भावना र चुनौतीको बारेमा पनि जोड दिएको छ।
पूर्वमन्त्री गणेश शाहले अब कृषिलाई उच्च प्राथमिकता दिएर युवालाई यसतर्फ आकर्षित गर्दै नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए।कृषिबाट उच्च फाइदा लिन आइसिटी महत्वपूर्ण टुल्सको रूपमा प्रयोग हुने शाहको भनाइ छ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिमप्रसाद श्रेष्ठले अरू देशहरू कृषि ४.० को अवधारणामा गइसकेको हुँदा हामीले पनि प्रविधि प्रयोगलाई अत्यावश्यक बनाउनुपर्ने बताए।
कृषकका समस्याहरूको समाधान, निर्णय गर्नसक्ने वातावरण र उत्पादनको बजारीकरणको लागि आइसिटीको प्रयोग महत्वपूर्ण हुने उनको भनाइ छ ।
यस्तै कृषि मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनालले सरकारको योजना र कार्यान्वयनसँग किसानको आवश्यकता तालमेल नहुँदा उपलब्धि हासिल हुन नसकेको बताए।उनले कृषि मन्त्रालयले विभिन्न निकाय, निजी क्षेत्र र कृषकसँग समन्वय गर्दै प्रविधिमैत्री कृषि बनाउन काम गर्नुपर्ने सुझाव दिए।
यसैगरी कृषि सूचना तथा तालिम केन्द्रका प्रमुख डा.राम घिमिरेले कृषकको आवश्यकता र समयको माग अनुसार काम गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अब प्रादेशिक संरचनामा पनि तालिम केन्द्रहरू विकास भइरहेको हुँदा स्थानीय कृषकका समस्या समाधान र मागलाई सम्बोधन गर्न केन्द्रले मन्त्रालयसँग समन्वय गर्दै काम गर्नेछ।’
कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटीले सरकार ‘डिजिटलाइजेसन’ को ‘प्रोसेस’ मा सँगै रहेको र केही कामहरू अघि बढिसकेको बताइन् ।
उनले स्वयल म्यापिङ, रासायनियक मलको ट्र्याकिङ, डिजिटल इन्फरमेशन सिस्टमको विकास, रोगकिराको बारेमा अलर्ट गराउने जस्ता कामहरू सुरु भएको जानकारी दिइन्।
‘विभिन्न निजी क्षेत्रबाट पनि कामहरू पनि भइरहेको छ’ उनले भनिन् ‘सेवाहरू एकीकृत गरेर वास्तविक कृषकलार्ई प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता हो।’
यसैगरी आर एण्ड डी इन्नोभेसनका सिइओ डम्बर खनालले बैंक, प्राविधिक, इन्सुरेन्स सेवाहरू कृषकसमक्ष पुग्न नसकेको र यसलाई सरलीकरण गर्न पनि डिजिटलाइजेसन आवश्यक रहेको बताए। प्रोसेस र मेकानिजम कम्प्लिकेटेड भएको कारण पनि कृषकलाई लक्षित सेवा दिन नसकेको उनले बताए। ‘एप सर्भिसहरूलाई एकीकृत गर्दै प्रभावकारी बनाउनु पर्छ’ उनले भने।
डिबिटुम्यापका राजनमान वज्राचार्यले कृषकको लागि योजना, निर्णय समर्थन, सल्लाह, विस्तार सेवा, र भर्चुअल मार्केटप्लेसको रूपमा डिजिटल प्रविधिले समाधान दिने बताए।ब्लकचेन, एआई, किसान कार्ड जस्ता प्रविधिको प्रयोग गर्दै एउटा उपयोगी प्लाटफर्म बनाएर काम गर्न सके प्रभावकारी हुन सक्ने वज्राचार्यको भनाइ छ।
कृषकलाई प्रविधिसँग जोड्न स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै फेदिखोला गाउँपालिकाका मेयर घनश्याम सुवेदीले प्रविधिलाई सरलीकरण गरेर हलो जोत्ने किसानसम्म सेवा पुग्नुपर्ने बताए ।
आफ्नो पालिकामा केही उदाहरणीय काम गरेको भन्दै सुवेदीले डिजिटल इन्फ्रास्ट्रक्चर र प्रविधिमैत्री कृषि साक्षरताको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए।
डिजिटल नेपाल फ्रेमवर्क २०१९ मा समेत कृषि क्षेत्रका पहलहरूमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरू रहेका छन्।