
विश्वभर कोरोनाको आतंक फैलिरहेका बेला कोरोना भाइरस (कोभिड १९)विरुद्ध बेलायतका वैज्ञानिकहरुले मानिसको ज्यान बचाउने नयाँ औषधि पत्ता लगाएका छन्।
वैज्ञानिकहरुले ‘डेक्सामिथासोन’ नामक औषधिको प्रयोगबाट कोरोना भाइरसबाट ग्रसित बिरामी निको हुने पत्ता लगाएको बीबीसीले उल्लेख गरेको छ।
निक्कै सस्तो र सर्वसुलभ रुपमा उपलब्ध हुने उक्त औषधिले कोभिड १९ बाट संक्रमित विरामीलाई समेत बचाउने सक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। योसँगै कोरोनाविरुद्धको लडाइँमा बेलायतका वैज्ञानिकहरुले ठूलो सफलता हात पारेको बताइएको छ।
वैज्ञानिकहरुका अनुसार उक्त औषधिको सेवनले कोरोना संक्रमित विरामी भेन्टिलेटरमा रहँदा एक तिहाइले मृत्युको जोखिम घटाउनेछ भने अक्सिजन दिनुपर्ने अवस्थाका विरामीहरुमा समेत प्रभावकारी रुपमा काम गर्नेछ। वैज्ञानिकहरुले पाँचजनामध्ये चारजना उक्त अवस्थाको विरामीलाई निको पारेको दाबी गरेका अध्ययनमा उल्लेख गरेका छन्।
यस्तै अनुसन्धानकर्ताहरुले बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५ हजार मानिसको ज्यान बचाउन यही औषधिको प्रयोग गरेको दाबी गरेका छन्। त्यतिमात्रै होइन उनीहरुले यो औषधि सस्तो भएकाले यसले गरीब देशहरुका लागि निक्कै फाइदा पुग्ने बताएका छन्।
यता, बेलायत सरकारले आफूसँग २ लाख डेक्सामेथासोन रहेको र विरामीलाई उपलब्ध गराउने बताएको छ।
कोरोना भाइरस संक्रमित २० मध्ये १९ बिरामी अस्पतालमा भर्ना नै नभइकन ठीक हुने गरेका छन्। तीमध्ये पनि जो अस्पतालमा भर्ना हुन्छन्, उनीमध्ये अधिकांश ठिक भएका छन्। तर, केहीलाई भने अक्सिजन वा मेकानिकल भेन्टिलेसनको आवश्यकता पर्छ। र ती उच्च जोखिममा रहेका बिरामीलाई डेस्कामेथासोन औषधि प्रभावकारी हुने वैज्ञानिकहरुले बताएका छन्।
यो औषधि पहिलेदेखि नै शरीर सुन्निएको कम गर्नको लागि प्रयोग गर्ने गरिएको थियो। तर अब भने यसले कोरोनाका कारण हुने मानवीय क्षतिमा पनि अतुलनीय योगदान दिने विज्ञहरुले जिकिर गरेका छन्। उनीहरुले भनेका छन्, ‘जब-जब शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) ओभरड्राइभमा जान्छ, तब यो औषधिले कोरोना भाइरसँग लड्न मद्दछ गर्छ।’
WATCH: Delighted to announce the first successful clinical trial for a life-saving #coronavirus treatment- reducing mortality by up to a third & further protecting our NHS
This global first exemplifies the power of science- huge thanks to the team, @oxforduni & Jonathan Van-Tam pic.twitter.com/654oPIsT8t
— Matt Hancock (@MattHancock) June 16, 2020
यो औषधिको परीक्षण अक्सफोर्ड युनिभसिर्टीको टिमले करीब दुई हजार अस्पतालमा पुगेर गरेको थियो।
कोरोनाले ग्रसित अनि भेन्टिलेटरमा राखिएको ती बिरामीमा यो औषधिको प्रयोगले मृत्युको जोखिम २८ देखि ४० प्रतिशतसम्म कम गरेको थियो। त्यतिमात्रै नभएर अक्सिजनको मात्रा आवश्यकता पर्ने बिरामीको जोखिम भने २० देखि २५ प्रतिशतसम्म कम गरेको देखिएको थियो।
यो औषधिको अनुसन्धानमा संलग्न रहेका प्रमुख नेतृत्वकर्ता प्रोफेसर पिटर हार्बीले भनेका छन्, ‘यो अहिलेसम्मको एउटा मात्रै औषधि हो, जसले मृत्युदर कम गर्न सक्षम भएको छ। यसले विरामीलाई रामवाण झै काम गरेको छ, यो विश्वमा एक ठूलो सफलता हो।’
यस्तै अर्का अनुसन्धानकर्ता प्रोफेसर मार्टिन ल्यान्ड्रले भनेका छन्, ‘भेन्टिलेटरमा उपचाररत कोरोनाका हरेक आठ बिरामीमा एकजनाको जीवन बचाउन सकिन्छ। अक्सिजन दिएर उपचार गरिएका बिरामीका लागि यो औषधिको प्रयोग गरेर उपचार गर्दा २५ जनामा एक जनाको ज्यान बचाउन सकिन्छ।’
यस्तै ल्याण्ड्रेले यो औषधि विश्वव्यापी रुपमा उपलब्ध भएकाले अस्पतालका विरामीहरुले ढिलो नगरी पाउनु पर्ने तर्क गर्छन्। उनि भन्छन्, ‘यो औषधि विश्वव्यापी रुपमा सर्वसुलभ भएकाले अस्पतालका विरामीहरुले ढिला नगरी पाउनुपर्छ। यसले ३५ प्रतिशतको जीवन जोगाउँछ।’