
सिमकोट – देशका सातवटै प्रदेश मध्ये सबै भन्दा पछि कोरोना संक्रमित फेला परेको कर्णाली प्रदेशमा हाल एक हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ पाँच गते कर्णालीको दैलेख जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसयता कर्णालीमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गइरहेको छ । कर्णालीका दुई स्थानमा कोरोना परीक्षण हुँदै आएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट परीक्षण हुँदै आएको हाे।
मंगलबारसम्म कर्णाली प्रदेशमा सबै भन्दा बढी कोरोना संक्रमितको संख्या दैलेख जिल्लामा पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
त्यसैगरि दैलेखमा हालसम्म ६३४ जना संक्रमित रहेका छन् । त्यसैगरि सर्खुेतमा २३५ जना, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई जना संक्रमित रहेका छन् ।
त्यसै गरि डोल्पामा एकजना र हुम्ला ठेगाना भएका एकजनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमित मध्ये दैलेख, सुर्खेत र डोल्पाका तीनजनाको मृत्यु भएको छ ।
उनीहरु तीनैजनाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । त्यसै गरि कुल संक्रमित मध्ये ३४२ जना कोरोनालाई जितेर घर फर्केका छन् । हाल ७४१ जना विभिन्न जिल्लाका आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । बाँकी कोरोना संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको महाशाखाले जनाएको छ ।