
काठमाडौँ- प्राध्यापक डा. जगदीश अग्रवालले उमेर हदका कारण अवकाश पाए पछि रिक्त भएको महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदमा अन्ततः प्राध्यापक डा. दिव्या सिंह शाह नियुक्त गरिएको छ ।
बुधबार त्रिवि कार्यकारी परिषद्को बैठकले सर्च कमिटीद्वारा सिफारिश तीनजना डा. प्रदीप बैद्य, डा. शाह र डा. उत्तम श्रेष्ठमध्येबाट डा. शाहलाई आईओएमको डिनमा नियुक्त गरेको हो ।
डिन सिफारिशका लागि प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गत जेठ २३ गते गठित उक्त सर्च कमिटीमा प्रा.डा. सुवासराज आचार्य र प्रा. डा. जीवन शेरचन सदस्य थिए। त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभागकी प्रमुख रहेकी डा. शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत हुन् ।
तीन महिना अघि डा. शाहकै समन्वयमा प्रधानमन्त्री ओलीको सोही अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यो सँगै आईओएमले इतिहासमै पहिलो पटक महिला डिन पाएको छ।
डा. शाहलाई डिन नियुक्त गरेसँगै आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने यसअघिको अभ्यासको उल्लघंन भएको भन्दै आईओएमका केही प्राध्यापकहरुले असन्तुष्टि जनाएका छन्।
तर, डा. शाहले देशसञ्चारसँग कुरा गर्दै योग्यता, क्षमता र अनुभव सबै हिसाबले डिनका लागि योग्य भएकाले आफूलाई छनौट गरिएको दावी गरिन्।
यस्तै उनले लामो समयदेखि खस्किएको आईओएमको छबि उकास्न सामूहिक कार्य गर्ने, राजनीति बन्द गर्ने, त्रिविद्धारा खोसिएको स्वायत्तता फिर्ता लिने, गरीब तथा जेहन्दार विद्यार्थीलाई प्राथमिकता दिने र संस्थालाई प्रणालीगत हिसाबले बढाउने लगायतको मार्गचित्र तय गरेको बताइन् ।
उनीसँग देशसञ्चारले लिएको अन्तर्वार्ताको सम्पादित अंश
आफ्नो नियुक्तिलाई कसरी लिनु भएको छ ?
कसै न कसैले यो संस्थालाई अगाडि बढाउनु पर्ने नै थियो । नेतृत्व चाहिएको थियो । खास त संस्थाका सबै साथीहरुले तपाईं म्याडम योग्य हुनुहुन्छ अवसर पाएको खण्डमा तपाईं पछि नहट्नुस् भनेर सुझाव दिँदै आउनुभएको थियो ।
यो सबैका लागि मलाई अस्पतालका डाक्टरहरुले पनि प्रेरित गरेको हो । मेरो इच्छाभन्दा पनि अरुहरुको चाहना थियो कि मैले संस्थाको कमाण्ड गरोस् । शुरुमा त मलाई रुचि थिएन । तर, पछि म पनि सुझावसँग कन्भिन्स भएँ। अब अवसर पाएको छु ।
चारवर्ष पुरै संस्थाको सुधारका लागि दत्तचित्त भएर काम गर्छु । त्यसका लागि मेरो जोड टिमवर्कमा हुनेछ । मेरो ध्यान आईओएमलाई नयाँ चरणमा प्रवेश गराउन संस्थाको पुरै परिवारलाई एकै ठाउँमा ल्याउनेमा हुनेछ ।
चिकित्सा शिक्षामा चरम बेथिति छ । आईओएम पनि त्यसबाट अछुतो छैन । यसलाई कसरी नियन्त्रण गर्नुहुुन्छ ?
बेथितिलाई नियन्त्रण गर्न मैले प्राथमिकता दिने भनेकै प्रणाली विकास गर्ने र टिम वर्कलाई हो । यो दुई कुरा भयो जस्तो सुकै समस्या र बेथितिबाट पार पाउन सकिन्छ ।
साथीहरुको सुझाव पनि त्यही नै छ । अहिलेसम्म जेजस्तो कमजोरी भयो त्यसलाई सच्याउने मौका पनि हो यो । आईओएमबाट शिक्षा मात्र नभएर सेवा पनि प्रदान भइरहेको छ ।
यी दुवै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिन जरुरी छ । यो नै मेरो ठूलो प्रोजेक्ट हो । सबैले साथ दिए भने यो सम्भव पनि छ ।
यसअघि आईओएममा वरिष्ठ्ताका आधारमा डिन नियुक्त हुँदै आएको थियो । तपाईं जुनियरलाई नियुक्त गरेपछि संस्थाभित्र असन्तुष्टि देखिएको छ नि ?
म जुनियर होइन । मैले २०५३ सालमा यो क्षेत्रमा प्रवेश गरेको हो । दुईचार महिना मात्र सेवा अवधि बाँकी भएकाले डिन नियुक्त गर्दा त्यसको उपलब्धी केकति हुन्छन् त्यो हामीहरुले देखेकै हो । त्यसले योजना र कार्यान्वयनमा असर पारेको देखिन्छ ।
एउटा आउन पाएको हुँदैन अर्को आउने बेला हुन्छ । काम गर्ने सोच नै विकास हुँदैन । त्यही भएर कम्तीमा तीनतीन वर्ष सेवा अवधि बाँकी भएकालाई नेतृत्वमा लैजानु नै राम्रो हुन्छ । यो माग संस्थाभित्र धेरै पहिलेदेखि उठ्दै आएको थियो । यही मागलाई सम्बोधन गर्न खोज्दा म छनौटमा परेको हुँ।
डा. बैद्य र डा. उत्तम दुवै जना २०५३ सालमा आईओम प्रवेश गर्नु भएको हो । म त २०५३ सालमै कन्सल्टेन्ट भएर प्रवेश गरेको हुँ। बढुवाका आआफ्नै कारकहरु हुन्छन् । हामीजस्तो अस्पतालमा खटिने बढुवाका पछि लाग्दैनौं ।
कसैको दश र एघार वर्षमै बढुवा हुन्छ भने कसैको पच्चीस वर्षमा पनि हुँदैन । मसँगै भएका साथीहरुको भन्दा मेरो ढिलो बढुवा भएको छ । यी कारणले मलाई जुनियर भनिएको होला । म क्षमता र योग्यताका हिसाबले कोहीभन्दा कम छैन । महिला भन्दैमा सधै जुनियर हुन्छ भन्ने हुँदैन । मैले त महिला भएका कारण काम गर्न सक्दैन भन्ने भ्रम पनि तोडेको छु ।
प्रधानमन्त्रीको निजी चिकित्सा भएका कारणले पनि यो अवसर पाउनु भएको भनिन्छ नि ?
म मिर्गौला रोग विशेषज्ञ भएका कारण प्रधानमन्त्री मसग जँचाउनु आएको हो । यो जँचाउने काम उहा प्रधानमन्त्री भएर मात्र होइन, पहिलेदेखि नै हुँदै आएको थियो ।
उहाँ प्रधानमन्त्री भएर म डाक्टर भएको होइन नि । म उहाँको चिकित्सक पहिलेदेखि नै हुँ । उहाँलाई गाह्रो हुँदा सँधै हेरिरहेको हो । मसँग जँचाउन आएपछि उहाँको मप्रतिको विश्वास बढ्दै गयो । त्यसपछि मात्र म उहाँको निजी चिकित्सक भएको हुँ।
उहाँ प्रधानमन्त्री भए पनि नभए पनि चिकित्सकका रुपमा म योग्य नै थिएँ । मैले मेहनत गरेँ। अरु कुनै कारणले डिन भएको होइन । अहिले डिनका लागि सिफारिश गरिएका सबै योग्य नै थिए । डा. उत्तमभन्दा म सिनियर हो ।
डा. उत्तमले मभन्दा जुनियर भएर पनि मनमोहन अस्पतालको नेतृत्व गरिरहनु भएको छ । त्यही भएर म जुनियर होइन । म चौबिस वर्षको अनुभवले खारिएको छु । यतिका लामो अवधि कसैले एउटै संस्थामा निरन्तर बिताउछ भने त्यो नेतृत्वका लागि स्वतः हकदार बन्छ ।
त्रिविले आईओएमको स्वायत्तता खोस्नेलगायतका काम गरेर हस्तक्षेप गर्दै आएको छ । यसबाट आईओएमलाई कसरी जोगाउनुहुन्छ ?
मेरा लागि यो पनि ठूलो जिम्मेवारीअन्तर्गत पर्छ । जुन स्वायत्तता हाम्रो गुमेको छु त्यो फर्काउछु । त्यसका लागि गृहकार्य राम्रो गर्नेछु । यसअघि पनि केही तयारीहरु भएका छन् ।
डा. अग्रवालसग पनि मेरो पटकपटक छलफल भएको छ । कोरोना भाइरसको महामारीको समयमा पनि संस्थाका बारेमा हामीले छलफल थियौं ।
अहिलेको राम्रो पक्ष भनेको उपकुलपति पनि हाम्रै संस्थाबाट जानु भएको हो । यो सकारात्मक पाटो हो । स्वायत्तताको विषयमा उहाँ पनि जानकार हुनुहुन्छ ।
र, त्यसैले मलाई उहाँलाई बुझाउन पनि सहज हुनेछ । हस्तक्षेप बिल्कुलै बन्द गर्नुपर्नेछ । बरु थप स्वायत्तता लिने कोशिश गरिनेछ ।
यसअघि पनि राजनीतिक नियुक्ति हुने गरेको थियो । तपाईं पनि प्रधानमन्त्रीको निजी चिकित्सक बनेसगै नेकपाको मान्छे भन्ने ट्याग लागेको छ ? अनि तपाईंले राजनीतिबाट आईओएमलाई कसरी अलग राख्नुहुन्छ ?
जो विरामी भए पनि मेरो गैरजिम्मेवार बन्न बन्दैन । चिकित्सकले जात, धर्म, वर्ण, पद हेर्दैन । मेरो कुनै पनि राजनीतिक पृष्ठभूमि छैन ।
मेरो धर्म भनेको विरामीको उपचार गर्ने मात्र हो । विरामीको उपचार र शिक्षा कसरी राम्रो बनाउने भन्नमै केन्द्रित हुनेछु । तर, संस्थाभित्र हुने राजनीति अन्त्य गर्न चुनौती छ।
तर, मैले यसअघि नै प्राध्यापक र विद्यार्थीहरुस“ग मिलेर काम गरेको हुदा उहाहरुको मन जित्छु भन्नेमा म विश्वस्त छु ।
चिकित्सा शिक्षाको क्षेत्रमा गुणस्तर, शुल्कलगायत थुप्रै विषय विवादित छन् । यसलाई कसरी सुल्झाउनुहुन्छ ?
यसमा पनि मेरो ध्यान रहनेछ । आईओएमको हकमा छात्रवृत्तिको संख्या राम्रै छ । तर, हामीले देशकै लागि पनि सोच्नुपर्छ ।
त्यसका लागि नियमनको काम प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ । र, कानुन विपरीत काम गर्नेलाई छानबीनको दायरामा ल्याएर कारवाही गर्नुपर्छ । पहिले भन्दा समस्या घटेका छन् । मेरो प्रयास यी समस्यालाई घटाउने नै रहनेछ ।