
सिमकोट-जिल्लाका सात वटै गाउँपालिकाका ७९ वटा विद्यालयहरुमा क्वारेन्टिन स्थापना गरिएका छन्।
जिल्ला बाहिरबाट आउने संभाबित कोरोना संक्रमितलाई राख्नका लागि अन्यत्र स्थान अभावको कारण विद्यालयहरुमा क्यारेन्टिन स्थापना गरिएको हो।
रानी वनको होटेलमा पहिलो क्वारेन्टिन स्थापना गरिएको भएपनि त्यसपछि भने सिधै विद्यालयहरुमा क्यारेन्टिन बनाउन सुरु गरिएको जिल्ला उद्धार ब्यबस्थापन समितिका सदस्य एवं सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए।
विद्यालय बाहेक अन्यत्र सार्वजनिक संरचनाहरु क्वारेन्टिन बनाउन योग्य नभएकै कारण विद्यालयहरुको अन्य बिकल्प नभएको हो।
जिल्ला बिपद ब्यबस्थापन समितिबाट प्राप्त बिबरण अनुसार नाम्खा गाउँपालिकाले १० वटा विद्यालयमा क्वारेन्टिन स्थापना गरेको छ भने सिमकोट गाउँपालिकाले १७ वटा, खार्पुनाथले १३ वटा, सर्केगार्डले १४, चंखेलीले १२, अदानचुलीले १० वटा र ताँजाकोट गाउँपालिकाले ३ वटा विद्यालयमा क्वारेन्टिन स्थापना गरेको छ।
क्वारेन्टिन स्थापना गरिएका विद्यालयका कम्तीमा तीन देखि पाँच वटासम्म कोठाहरु क्वारेन्टिनका लागि प्रयोग हुदै आएका छन्। त्यहाँ दुई हजार भन्दा बढी जिल्ला बाहिरबाट आएका ब्यक्ति बस्दै आउनु भएको थियो।
यी क्नारेन्टिन स्थापना भएका विद्यालयहरुमा पनि अब्यबस्थित वार्डहरु स्थापना गरिएको गुनासो यस अघि नै आएको थियो । ठाँउ अनुसार सम्बन्धित ब्यक्तिले घरबाटै कपडा ल्याएर बस्नु परेको छ भने खाना पनि घरबाटै ल्याउने गरेका छन्।
जिल्लाका यतिधैरै विद्यालयहरुमा क्वारेन्टिन स्थापना गरिएपछि स्थानीय प्रशासनले असार १ गतेबाट प्रशासनीक कार्य गर्न बिद्यालय खुलाउने निर्देशन समेत पालन हुन सकेको छैन।