
सिमकोट– कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ।
कोरोनाबाट संक्रमित हुनेमध्ये अधिकांश भारतबाट फर्केकाहरु छन्।
कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेख सबैभन्दा बढी प्रभावित बनेको छ। हालसम्म दैलेखमा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै सुर्खेतमा २ सय ७७, सल्यानमा १ सय ३७, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा नौ, मुगुमा दुई, डोल्पा र हुम्लामा एक–एक जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।
हुम्लाका संक्रमित पुरुष लामो समयदेखि जुम्लामा बसोवास गरिरहेका व्यक्ति हुन्। यस्तै कर्णालीमा बसोबास गर्दै आएका तर स्थायी ठेगाना अन्यत्र भएका १६ जनामा पनि कोरोना पुष्टि भएको छ।
कर्णालीमा हालसम्म चार जनाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ। कर्णाली प्रदेशमा हालसम्म ५ सय ८ जना डिस्चार्ज भएका छन्।