
सिमकोट – देशलाई सरकारले तुइन मुक्त घोषणा गरेको भए पनि हुम्ला जिल्लाका बासिन्दाहरु कर्णाली नदी वारपार गर्न तुइन चढ्न बाध्य छन्। जोखिम देख्दा देख्दै पनि अन्य विकल्प नभएपछि बाध्य भएर तुइन चढ्नु परेको हो ।
नदीमा झोलुङ्गे पुल नभए पछि काम विशेषले तुइन चढ्नु बाध्यता रहेको बताउँदै खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ का स्थानीय प्रेम बुढाले आङ नै सिरिङ्ग हुने गरेको बताए ।
बर्खा सुरु भएसँगै कर्णाली नदीमा पानीको बहाब निक्कै बढेको अवस्थामा पनि तुइन चढ्नै पर्ने अवस्था रहेको छ । तुइन चढ्दा शरीरले पानी छुने गरेको बताउँदै बुढाले अरु विकल्प नभएको तर काम पनि गर्नै पर्ने भएपछि बाध्यताले तुइन चढ्नु परिरहेको बताए । यता खार्पुनाथ गाउँपालिका केन्द्र जाने बाटोमा पनि तुइन चढ्नुपर्छ ।
गाउँपालिकामा काम पर्ने सर्वसाधारणले तुइन तरेरै जानु पर्छ । तल नदीमा पानीको बहाब बढेको देख्दा शरीर थरथरी कामेर आउने गरेको भए पनि आँखामा पट्टी बाँधेर तुइन तर्ने गरेको अर्की स्थानीय रुप्सि जेठाराले बताइन् ।
कर्णाली नदीमा अहिले पनि आधा दर्जन स्थानमा तुइन तर्नु पर्ने अवस्था रहेको छ । तुइन विस्थापित गर्ने सरकारको घोषणाले हुम्लामा सार्थक रुप नपाएको बताउँदै जेठाराले बजेटको व्यवस्था भएको पुल पनि हालसम्म नबनेको बताइन् ।
बटुवाहरु अधिकांशलाई तइन तर्न जहिले पनि डर लाग्ने गरेको भए पनि यतिबेला झन नदीमा पानीको बहाब निक्कै बढ्दा झन झर्को लाग्ने गरेको छ ।
यसैबिच खार्पुनाथ गाउँपालिकाले पालिका केन्द्र याङ्चु बजारमा काम विशेषले तुइन चढेर नआउन सर्वसाधारणका लागि सूचना जारी गरेको छ।