
सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्ला भित्रका बिक्री केन्द्र, डिपो र शाखाबाट दश प्रतिशत छुटमा खाद्यान्न बिक्री गरेको छ ।
बन्दाबन्दीका बेला सरकार घोषणा गरेका छुटको व्यवस्थालाई कार्यान्वयन गर्दै लिमिटेडले २०७७ सालको बैशाख १३ गतेदेखि जेठ ३० गतेसम्म खाद्यान्न बिक्री गरेको हो ।
यो अवधिमा जिल्ला भित्रका सबै डिपो, बिक्री केन्द्र र शाखाबाट जम्मा चार हजार २८८ क्वीन्टल ६० केजी खाद्यान्न दश प्रतिशत छुटमा बिक्री गरेको लिमिटेडका हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले बताए ।
प्रति केजी ५७ रुपियाँ देखि ७० रुपियाँसम्म पर्ने खाद्यान्न दश प्रतिशत छुटमा बिक्री गर्दा २६ लाख ४० हजार ९१९ रुपैयाँ मूल्य सर्वसाधारण, व्यापारी तथा कर्मचारी सबैले सहुलियत पाएका हुन् ।
उक्त छुट रकम सरकारले व्यहोर्ने छ । छुटमा खाद्यान्न पाउने सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दा रहेका छन् भने अन्य चारवटा सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका बासिन्दाहरुले डिपो र बिक्री केन्द्रबाट छुटको खाद्यान्न बिक्री गरिएको हो ।
खाद्यान्न भने परिवार संख्याका आधारमा पाउने गरिन्छ ।