
सिमकोट– पीसीआर मेसिनको स्थापना भएसँगै अब दैलेखमा पनि कोरोनाको परीक्षण हुने भएको छ।
कर्णाली प्रदेशमा यसअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतमा रहेको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ।
दैनिक एक सयभन्दा बढीको कोरोना परीक्षण गर्ने गरी दैलेखमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको प्रयोगशालामा आरटी पीसीआर मेसिन जडान गरिएको हो।
पीसीआर मेशिनको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरेका हुन्। दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि दैलेखमा पीसीआर मेसिन भित्र्याइएको हो।
नारायण नगरपालिका तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको एक करोड ६ लाख रकम कटौती गरी पीसीआर मेशिन र प्रयोगशालाका आवश्यक सामग्री जिल्ला ल्याइएका हुन्।