
सिमकोट– विगत केही महिनादेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा बिरामीको उपचारमा खटिरहेका डा. गोविन्द केसी हुम्ला पुगेका छन्।
बाजुराको मार्तडीबाट पैदल हिँडेर हुम्ला पुगेका डा. केसी हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट स्वास्थ्य चौकीमा बिरामीको उपचारमा खटिएका छन्।
शुक्रबारदेखि डा. केसीले दुई दिनसम्मका लागि हुम्लाको ताँजाकोट र अदानचुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

ताँजाकोट स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्दै डा. केसी। तस्बिरः राजन रावत/देश सञ्चार।
स्वास्थ्य शिविरमा डा. केसीले पहिलो दिन शुक्रबार हड्डी तथा हाडजोर्नी सम्बन्धी सेवा प्रदान गरिरहेको नेपाल विद्यार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जैशीले जानकारी दिए। उनले शनिबार पनि बिरामीको जाँच गर्नेछन्।
स्वास्थ्य उपचार सेवाबाट बञ्चित दुर्गमका जनतालाई सेवा प्रदान गर्न डा. केसी औषधि बोकेर आफै विभिन्न ठाउँ पुगिरहेका छन्।
शनिबारसम्म बिरामीको उपचार गरेर डा. केसी फेरि बाजुरा फर्कने छन्। डा. केसीलाई बिरामीको उपचारका लागि सहजिकरण गरिरहेको गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ।