
अफ्रिकी देश सोमालियामा मारिएका बिद्रोही समूह अल–शबाबका एक कमाण्डर नेपालबाट गएको दाबी त्यहाँको रेडियोले गरेपनि नेपाल प्रहरीले ती व्यक्तिबारे अनविज्ञ रहेको जनाएको छ।
नेपाल प्रहरीको प्रति आतङ्कवाद हेर्ने विशेष ब्युरोका एक अधिकारीले अशरफ अज्मी अबु हाम्दान नाम गरेका व्यक्ति ब्युरोको नजरमा नरहेको बताए। ‘समाचार सुनेपछि हामीले पनि त्यो नामबारे सोधीखोजि गर्यौँ तर कतै केही भेटिएन’, विषेश ब्युरोका एक उच्च अधिकारीले भने।
सोमालियाको स्थानीय रेडियोलाई उदृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको समाचारमा हाम्दान इस्लामिक समूह अल–शबाबका शीर्ष प्रशिक्षक रहेको र सैन्य अपरेशनको क्रममा उनी मारिएको उल्लेख गरेको छ। ती व्यक्ति नेपालबाट गएकोबाहेक समाचारमा अन्य विवरण केही पनि लेखिएको छैन।
सोमालियाको दक्षिणी तर्फको जुबा क्षेत्रको मध्य भागमा भएको सैन्य कारवाहीको क्रममा उनको मृत्यु भएको त्यहाँको सरकारी रेडियोले जनाएको छ । सैन्य कारवाहीको क्रममा कमाण्डर हाम्दानसहित अरु तीन लडाकु पनि मारिएका थिए ।
इस्लामिक सरिया कानूनसहितको आफ्नो शासन स्थापित गर्न भन्दै अल–शबाब सन् २००८ देखि सोमालियामा सशस्त्र गतिविधिमा संलग्न छ ।