
काठमाडौँ– आर्थिक गतिविधि र लगानीलाई कोरोना महामारीले ठप्प पारेका बेला परिस्थितिमा अनुकूलता ल्याउन निजी क्षेत्रका बैंकहरु ब्याजदर एकल अंकमा झार्न सकारात्मक देखिएका छन्।
अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकिङ ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने बताएसँगै बैंकहरुले ब्याजदर घटाउन सकिने संकेत गरेका हुन्।
तर ब्याजदर एकल अंकमा झार्ने विषयमा अर्थमन्त्री या मन्त्रालयसँग कुनै छलफल नभएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए।
अध्यक्ष दाहालले भने, ‘अर्थमन्त्री या अर्थमन्त्रालयसँगको परामर्शमा होइन। हामीले अहिले उत्पन्न परिस्थितिमा लगानीकर्ताहरुमा विश्वास जगाउन ब्याजदरलाई कम गर्ने सोच बनाएका हौँ। यसलाई अर्को वर्षको असार मसान्तसम्म मुर्त रुप दिने प्रयासमा छौँ।’
अध्यक्ष दाहालले यसमा लगानीकर्ता अथवा ऋणहरुको आवश्यकता र बैंकको क्षमतामा धेरै कुरा निर्भर हुने भएकाले ब्याजदर अहिले नै तोक्न गाह्रो भएको बताए। ‘यो सम्भव नभएको कुरा होइन’, अध्यक्ष दाहालले भने, ‘हामी ब्याजदर एकल अंकमा ल्याउने प्रयास गरिरहेका छौँ। तर अहिले ठ्याक्कै कति अंकमा आउँछ भनेर भन्न सकिन्न।’
अध्यक्ष दाहालले ब्याजदर कम हुने वित्तिकै कर्जाको माग बढ्ला भन्ने आफूहरुको आशा गरेकाे बताए। ब्याजदर कम हुँदा अर्थतन्त्रका लागि राम्रो हुने भएपनि उच्च ब्याजदर भएका बेला पनि आर्थिक वृद्धिदर राम्रो भएको उनले बताए।
‘गत तीन वर्षमा ब्याजदर उच्च थियो’, अध्यक्ष दाहालले भने, ‘ती वर्षमा आर्थिक वृद्धिदर एकदमै राम्रो थियो। त्यो बेला ब्याजदर पनि उच्च नै थियो। ब्याजदर कम भएकै राम्रो। उच्च ब्याजदर भएको बेलामा आर्थिक वृद्धिदर कम हुन्छ भन्ने होइन रहेछ।’
ब्याजदर एकल अंकमा ल्याउने कुराले बैंकिङ क्षेत्रमा कुनै नकरात्मक असर नपर्ने उनको भनाइ छ। दाहालका अनुसार निक्षेपकर्ताको ब्याजको कुरालाई मध्यनजर गरेर सात प्रतिशतभन्दा तल नजाँदा राम्रो हुन्छ।
खराब कर्जाले बैंकलाई प्रतिकूल रुपमा असर पर्नाले ऋण असुलीलाई सहज बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने दाहालको भनाइ छ।
अर्थमन्त्री डा.खतिवडाले निक्षेपकर्तालाई बचतमा ब्याज कति प्रतिशत दिने भन्ने परिस्थिति आएको भन्दै बैंकहरुलाई निक्षेप र कर्जाका अधारमा ब्याज कम गरेर लैजान आग्रह गरेका थिए।
सोमबार नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभामा अर्थमन्त्री डा.खतिवडाले राष्ट्र बैंकको मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्ने बताएका थिए।
सरकारले ब्याजदर एकल अंकमा ल्याउने भनिरहेका बेला वाणिज्य बैंकहरुमा लकडाउन अवधिभरमा निक्षेप १ खर्ब १३ अर्ब रुपैयाँले बढेको र बैंकहरुको कर्जा लगानी भने ३६ अर्ब रुपैयाँले घटेको संघले जनाएको छ।