
काठमाडौँ– नेपालमा सलह किरा भित्रिएपछि चौतर्फी त्रासको वातावरण सिर्जना भएको छ। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भारत हुँदै पाँच ठाउँबाट ७०/८० लाखको संख्यामा सलह किरा नेपाल भित्रिएको बताए।
उनले आफूहरुसँग संख्याका रुपमा किराको गणना गर्ने उपकरण नभएको र अनुमानका आधारमा उक्त तथ्यांक निकालेको बताए।
उनले भने, ‘हामीसँग संख्याका हिसाबले गणना गर्ने साधन छैन। तर पनि हामीले सलह किरा ७०/८० लाखको संख्यामा आएको मोटामोटी अनुमान गरेका हौँ।’
उनका अनुसार सलह किरा असार १३ गते सर्लाही, बारा–पर्सा र रुपन्देहीबाट नेपाल भित्रिएको हो भने असार १४ गते कपिलवस्तु र पुनः १५ गते रुपेन्देहीबाट अर्को झुण्ड आएको हो।
उनले उक्त किराका झुण्डहरु नै तितरवितर भएर विभिन्न जिल्लामा गएको बताए। ‘७०/८० लाखमा भित्रिए पनि अहिले झुण्डहरु तितरवितर भइरहेका छन्’, सुवेदीले भने।
उनले सलह किराले ठूलो क्षति नपुर्याएको बताए। ‘धेरै क्षति भएको नदेखिए पनि मकवानपुर, दाङ र प्यूठानमा क्षति भएको देखिएको छ’, उनले भने।
उनले धेरै क्षति नहुनुमा मौसमले पनि महत्वपूर्ण भूमिका खेलेको बताए। ‘हामीले किराको संख्या देख्दा धेरै क्षति हुने डर थियो’, उनले भने, ‘सायद मौसमले हामीलाई साथ दिएको छ। सधैं घाम लागेको भए किराहरुको मुभमेन्ट धेरै हुन्थ्यो होला। तर पानी परिरहने र बादल लाग्ने कारणले सलहलाई चहलपलह गर्न गाह्रो भएको छ।’
अहिले नै विषादी छर्न सम्भव नदेखिएको उनले बताए। ‘सलह किराहरु सधैं एउटै ठाउँमा बसेको छैन’, उनले भने, ‘धेरैजसो जंगलमा बसेका छन्। आएपनि एकछिन दिउँसो पुन: जंगलतर्फ नै जान्छ। त्यसले गर्दा विषादीको प्रयोगले व्यवस्थापन गर्न भने जस्तो सम्भव छैन।’
किसानहरुले सलह किराबाट आफ्नो बाली बचाउन विभिन्न आवाज निकाल्ने, धूवाँको प्रयोग लगायतका कार्यहरु गर्न सक्ने र किसानहरुले यी कार्य गरिरहेको पनि उनको भनाइ छ।
यसैगरी प्लान्ट क्वारेन्टिन एवं विषादी केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले अहिले किराहरु विभिन्न जिल्लामा देखिएको जानकारी दिए। ‘पूर्वबाट र दक्षिण पूर्वबाट हावाको बहाब उत्तर–पश्चिमतिर आइरहेको अवस्था छ’, उनले भने, ‘अब करिब तीन दिनसम्मका लागि हावाले त्यो डाइरेक्सन लिएको छ।’
हावाको बहाबसँगै किराहरुको ‘मुभमेन्ट’हुने भएकाले मुस्ताङमा समेत सहल किरा देखिएको उनले बताए। ‘धेरै चिसो ठाउँमा सलह किरा बाँच्दैन। मौसम चलायमान भएकाले मुस्ताङमा समेत किरा भेटियो। हाम्रा कर्मचारी साथीहरुले फोटो पठाएका थिए’, उनले भने।
उनका अनुसार वयस्क अवस्थामा भएका किराहरुको समय अवधि चार हप्ताको हुन्छ। उनले भने, ‘पिंक कलरको देखिने हुर्किन लागेको सलह हो। उक्त सहल किरा केही समय बाँच्न सक्छ। तर अन्य अण्डा पार्ने उपयुक्त ठाउँ नपाउँदा किराहरुले वंश वृद्धि गर्न नपाई सिद्धिन्छन्।’
किराले सूर्य अस्ताउन एक घण्टा अघिदेखि नै आफ्नो बासस्थानको खोजी गर्ने आचार्यले बताए। ‘सलह किराको बासस्थान ठूला घर तथा घरको छानो हो’, उनले भने, ‘राती जहाँ बसेका छन्, त्यहाँको बाली खान्छ तर अर्को ठाउँमा बसाइ सरेर नजाने स्वभावको हुन्छ। बिहान घाम लागेको एक डेढ घण्टापछि घाम तापेर अनि यात्रा गर्छ।’
उक्त किराहरुले आफ्नै तौल बराबरको खाना खाने उनले बताए। उक्त किराको तौल दुईदेखि साढे दुई ग्रामको हुने उनले जानकारी दिए।
आचार्यले किराहरुको नियन्त्रण तथा व्यवस्थापनका लागि विषादीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनुका साथै स्वास्थ्यमा गम्भीर समस्या गर्ने बताए। ‘विषादीको प्रयोग किसानले गर्न मिल्दैन’, उनले भने, ‘किसानहरुसँग त्यस्ता उपकरण पनि छैनन्। त्यसका लागि विज्ञ मान्छे चाहिने र निकै सुरक्षित तरिकाले विषादीको प्रयोग गर्नुपर्छ।’
किसानहरुले सलहको झुण्ड कतैबाट आउँदैछ भन्ने जानकारी पाउने वित्तिकै हल्ला गर्ने, बाजा बजाउने, म्युजिक बजाउने, टायर बाल्ने, भाँडा बजाउने, आगो बाल्ने लगायतका कार्य गर्न उनले सुझाव दिए।